दुई दिनको अविरल वर्षाले राजधानीलगायत देशभरमा ठूलो क्षति पुर्याएको छ। अनियन्त्रित वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबानका कारण मुलुकमा ठूलो मानवीय क्षति पुगेको छ। बाढीपहिरो र डुबानबाट मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् लगायतका संरचनामा ठूलो क्षति पुगेको छ।
आँखैअगाडि मृत्युको मुखमा पुग्दा देखिएको कारुणिक अवस्थामा समेत निरुपाय भई लाचार बन्नुपर्ने अवस्थाले हामी सबैलाई निशब्द तुल्याएको छ।
प्रकृतिको विनाशबाट जोगिन प्राणको भिख मागेका आम नागरिकको जीवनलाई जोगाउन कसैले भरोसासम्म दिन सकेनन्। कतै पहिरोले किचिएर, कतै बाढीमा हेलिएर त कतै डुबेर ठूलो संख्यामा जनधनको क्षति हुँदा पनि राज्यका सहयोगी हातहरूले तत्कालीन अवस्थामा कुनै भरोसा दिन नसक्नु हामी सबैको लागि सबैभन्दा दुखद विषय बन्न पुगेको छ।
मनसुन सुरु भएसँगै पहाडमा बाढीपहिरो र तराईमा डुबानको समस्या हुन्छ भन्ने राज्यलाई थाहा भएकै विषय हो। तर त्यहाँ भएका समस्याहरूको समाधानमा भने कुनै उपाय नै नअपनाउने परिपाटी आज पनि आम नागरिकको लागि ठूलो बाधक तत्व बनेको छ। विकासको नाममा भूमाफिया र जलमाफियाको रजगजले खोला नाला घरभित्र पसेको नभई ठूला घर र भवनहरु नदी, नाला र खोलाले ओगटेको जमिनमा बनेको कारण कारण अहिलेको अवस्था आएको हो। खोला, नालाले आफ्नो बाटो आफैँ बनाउँदा विनासको रूप लिएको देखिन्छ। यस्तो अवस्थाको विजारोपाण गर्ने कार्यमा राजनीतिक नेतृत्वकै बढी संरक्षण रहेको आभास सबैले गरेका छन्।
यी सबै धन आर्जनको लागि गरिएको कार्य हो। धनलाई जीवनको साधनको रुपमा लिइने गरिन्छ। धन आर्जनमा अहिले सबै केन्द्रित रहने गरेका छन्। वास्तवमा धन भनेको साधन हो साध्य होइन। धन मानिसका लागि हो। मानिस धनका लागि होइन। धनका लागि मानिस क्रूर बनेका छन्। धनको प्रलोभनमा मानिस जे पनि गर्न तयार हुने गर्छन्।
धनकै लागि राज्य संयन्त्र पनि सुशासन र अनुशासनमा चुकेको छ। धन आर्जनको लागि सार्वजनिक संयन्त्रहरूमा बेरुजुको चाङ बढेको देखिन्छ। सोही कारण भ्रष्टाचारका घटनाहरु दिनहुँ सार्वजनिक हुने गरेका छन्।
मति बिग्रेपछि गति पनि ठीक हुन्न भन्ने उक्ति हाम्रोमा रहेको छ। राजनीतिमा बस्नेदेखि कर्मचारी संयन्त्रमा रहेको हरेक जसो व्यक्ति पैसाका लागि जस्तोसुकै काम गर्न तयार हुने परिपाटीको कारण अहिलेको अवस्था आइपुगेको हो। धन केही होइन भन्ने होइन। धन केही हो। धेरै साध्यका लागि आवश्यक साधनको रुपमा धन रहन्छ। सभ्यताको वृद्धि र विकासको मार्ग निर्माणकको रूपमा धनलाई लिइने गरिन्छ। उचित ढंगले उचित मात्रामा पिए धन अमृत हुन्छ। अन्यथा यो विषमा पनि रुपान्तरण हुन सक्छ?
धनको कुलत र धमिरालाई एकै ठाउँमा राख्न सकिन्छ। धमिराले भित्र भित्रै काठलाई खोक्रो बनाइसकेको कसैलाई थाहै हुँदैन। धन पनि त्यस्तै धमिरा जस्तो हो। जस्ले व्यक्तिको सद्बुद्धि र आदर्शलाई खोक्रो बनाएको आफैँलाई थाहा हुँदैन। नशा बनिसकेको धनाआर्जनको लत हेरोइन, कोकिनको नशा, मदिराको लत, व्यभिचारको कुलतभन्दा पनि अधिक चर्को हुने गर्छ। धनार्जनको इच्छाका अगाडि इमान, जमान, आफन्त, इष्टमित्र, साथीभाइ सवै चिनी बिनाको चिया जस्तो फिका हुने गर्छन्।
यस्तो अवस्थामा माथि उल्लेख गरेजस्तो धन आर्जनको लागि भूमाफिया र जलमाफियासँगको सानिध्याले हुने कार्यले विनास बाहेक अरु ल्याउन सक्दैन। प्राकृतिक रूपमा नेपालको भौगर्भिक बनोट कमजोर छ। जलवायु परिवर्तन, अव्यवस्थित पूर्वाधार विकास लगायतका विविध कारणले प्राकृतिक तथा गैरप्राकृतिक विपद्को अत्यधिक जोखिममा रहेका मुलुकमध्ये नेपाल पनि एक हो। देशको अवस्था सडक र यातायातको विकासले मापन गरेको हुन्छ। तर, पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित सडकले बाढिपहिरोको जोखिमलाई प्रवद्र्धन गरेको देखिन्छ। बाटोघाटो विकासको माध्यम हुन्। बिडम्बना यी सडकहरूले विकासभन्दा विनाशलाई निम्त्याई रहेका छन्। जनताका ज्यान भलले बगाएर, माटोले पुरेर ल्याइएको विकासलाई विनाशबाहेक अरू भन्न सकिँदैन।
पानी पर्दा हिलो, घाम लाग्दा धुलो र मापदण्ड मिचेर खोलाछेउमा बनेका संरचनाको कारण सडक एम्वुस जस्तो बनेको लामो सयम भइसकेको छ। शहरलाई व्यवस्थित र सभ्य बनाउन नसक्दा दुई दिनको वर्षाले मात्रै कल्पना गरेभन्दा ठूलो क्षति पुग्यो। शहरलाई सम्भ्यताको प्रतिकको रुपमा लिइन्छ। तर अहिलेको शहरले जीवनलाई सुखभन्दा पनि दुःख र कष्ट थपेको आभास हुन थालेको छ। पानी पर्दा सडक खोलामा परिणत हुने कार्य विकासको नाममा झांगिएको कमिशनले निम्त्याएको विकृतिको नांगो रूप हो।
विकास, विनाश र विकृतिले असमानतलाई बढवा दिने गरेको छ। अघाएको पेटलाई भोक थाहा नभए जस्तै नेतृत्वले विकासमा सम्झौता गर्दा खोला नाला खुम्चिन थालेको कारण ठूलो जन धनको क्षति पुगेको हो। विकास र समृद्धिका लागि नेपालमा प्रशस्त सम्भावना र अवसरहरू छन्। अपार जलस्रोत छ। पर्यटनको सम्भावना अत्यधिक छ। अर्थतन्त्रका सरोकारवालादेखि अर्थतन्त्रसँग चासो राख्ने सबैले आर्थिक विकासको मुद्दालाई उठाउने गर्छन्। राजनीतिक दलका नेताहरूले पनि अब आर्थिक क्रान्तिको पालो भन्ने गरेका छन्। तर, आवधिक योजनाले लिएको लक्ष्य र उद्देश्य पूरा गर्न तथा हरेक वर्ष सरकारले नीति तथा कार्यक्रममार्फत सार्वजनिक गर्ने कार्यक्रम भने कार्यान्व्यन हुन सकेको छैन। लगानी गर्न सके मात्रै उत्पादकत्व बढ्ने हो। लगानीको वातावण अझै बन्न सकेको देखिँदैन।
विदेशी लगानी नभित्रिएसम्म देशको विकासले गति लिनसक्ने अवस्था आउँदैन। जबसम्म विदेशी लगानी भित्रिँदैन तबसम्म देशको विकासले अपेक्षाकृत फड्को मार्न सक्दैन। नेपालको अन्तर्राराष्ट्रिय श्रम सम्बन्ध कमजोर रहेको छ। औद्योगिक पूर्वाधारको काम कछुवा गतिमा अघि बढिरहेको छ। ऊर्जा संकट अझै हट्न सकेको छैन। औद्योगिक क्षेत्रमा अझै पनि अघोषित लोडसेडिङ भइरहेको छ।
लगानीमैत्री वातावरणको सिर्जना गरी स्वदेशी एवं विदेशी पुँजी, प्रविधि, सीप हस्तान्तरण हुन सक्ने वातावरण तय भएको छैन। अर्थतन्त्रका सूचकहरु सन्तोषजनक छैनन्। सत्ता राजनीतिमा कर्मचारीदेखि राजनीतिक दलका नेता र उनका आसेपासेले आफैँ डाडु पन्यु चलाइरहेका छन्। आफ्ना बफादारमार्फत सम्पत्ति आर्जन गर्नु उनीहरुको ध्येय रहेको छ। यही सम्पत्ति आर्जनको कारण खोला नाला अतिक्रमको चपेटामा परेका हुन्।
विकास र समृद्धि नेता एवं कर्मचारीका लागि मात्र होइन। यो त आमजनताका लागि हो। खासगरी भौतिक र आर्थिक विकासलाई समृद्धि भनिन्छ। कुनै समाज वा मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर, खुसी र सुखको स्तरलाई समृद्धिले मापन गर्ने गर्छ। राज्य संयन्त्रले वैज्ञानिक विकासको कार्यलाई अघि बढाउन नसकको कारण विकासको नाममा विनास निम्तिएको हो। आज देशमा दुई दिन वर्षा हुनासाथ ठूलो धन जनको क्षति भएको यथार्थलाई आत्साथ गर्दै भोलिका दिन योभन्दा ठूलो प्राकृतिक रौद्र रूप नआउला भन्न सकिन्न। त्यतिखेर हुन सक्ने क्षतिलाई अहिले नै राजनीतिज्ञ, राज्य सञ्चालन गरिरहेका नेतृत्व वर्ग र नीति निर्माण तहमा रहेका कर्मचारी संयन्त्रले सोच्नुपर्ने भएको छ। नत्र भोलिको दिनमा पनि विकासको नाममा हुने अवैज्ञानिक कार्यले विनाशबाहेक अरू ल्याउन सक्दैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।