काठमाडौँ : दुई दिनको निरन्तर वर्षाका कारण देशभरि नै आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिब साढे ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आइतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रालयले यस्तो जानकारी दिएको हो।
मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड, सिँचाइतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिब १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिब ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
मन्त्रालयले यो क्षति अनुमानमात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ। पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण ११ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए।
उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए। उनले सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गरे।
मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटाभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताए। ऊर्जामन्त्री खड्काले २ दिनसम्म लगातार परेको वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका २ जना कर्मचारी र सुरक्षामा खटिएका नेपाली सेनाका २ जना गरी ४ जना बेपत्ता भएको बताए।
उनले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत, ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिए। उनले मौसम विभागले गरेको पूर्वानुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको बताए।
उनले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ र ठूलो जनधनको पनि क्षति भएको बताए। मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पुनःनिर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
सरकारले विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १ अर्ब १६ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ।
प्रशारण लाइनतर्फ काबेली करिडोरअन्तर्गतको दमक-गोदक १३२ केभी प्रसारण लाइन, खिम्ती-लामोसाँघु १३२ केभी, र सोलु करिडोरमा क्षति पुगेको छ।
सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ।
रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ। कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ।
सुनसरी-मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदा ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।