|

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका छन्। उनका आँखाले कसैलाई खोजिरहेका छन्। उनको शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन।

रिमालको शरीरको दायाँ भागमा बढी चोट लागेको देखिन्छ। इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय उनलाई आफू घाइते भएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले औधी पिरोलेको छ।   

भावविह्वल मुद्रामा उनले भने, “म त बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी पत्नी अझै पहिरोमै छिन्। उद्धारका लागि डोजर पुग्न सकेको छैन रे!” 

आफ्नो जीवनको सबै आरोह-अवरोहमा सधैँ साथ रहेकी पत्नीको सम्झना र अवस्थाले उनलाई चिन्तित नबनाउने कुरै भएन।

रिमालको दायाँपट्टीको करङ फुस्किएको छ‚ उनको त्यो भाग चलेको छैन। चिकित्सकले मंगलवार अपरेशन गर्ने भनेका  छन्। 

चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिवारको त्यो कहालीलाग्दो दिन अझै पनि दुःस्वप्न झैँ लागिरहेको छ र आँखाअगाडि झल्झली आउँछ र भक्कानो छुटेर आउँछ। 

उनलाई समय ठ्याक्कै याद छैन, सायद विहानको ११ बजेको थियो होला। उनकी पत्नी पवित्रा भान्सामा खाना पकाउँदै थिइन्। उनी घरको बार्दलीमा बसिरहेका थिए। 

बिहीवारदेखि परेको निरन्तर वर्षाले बित्यास पार्ने लक्षण देखाउँदै थियो। यसैबीच एक्कासी माथिबाट आएको पहिरोले घर पुर्‍यो‚ हेर्दाहेर्दै घरसँगै पत्नी पवित्रासमेत पहिरोमा पुरिइन्। 

पहिरोमा परेको २ घण्टासम्म रिमालले उद्धारका लागि गुहार मागे। हारगुहार गर्दागर्दै उनी बेहोस भए। ४ घण्टापछि होस खुल्दा उनले आफूलाई एकैपटक अस्पतालका बेडमा पाए।

आइतवार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै कल्पनासमेत नगरेको बताए। 

गला अवरुद्ध पार्दै उनले भने, “विसं २०४६ सालमा त्यो घर बनाएको हो। यो पालि यस्तो भयो।”

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेशाले सवारी चालक हुन्। शनिवार लगातार वर्षा भइरहेको थियो। गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उनलाई हुत्याएर पानीमा लग्यो। 

तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो। उनकी पत्नी सीताले आइतवार दिउँसो ३ बजेतिर थप उपचारको लागि उनलाई ट्रमा ल्याएको बताइन्। सुजनको हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ। उनीहरूमध्ये ६ जना उपचारपछि घर फर्किएका छन्। सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन्। 

उनले भनिन्, “चोटपटक लागेका ‘जटिल केस’ नै आएका छन्। ‘रिफरल केस’ पनि छन्। हालसम्म एकजनाको सर्जरी भएको छ भने तीनजनाको सर्जरी गर्ने तयारीमा छौँ।”

त्यसैगरी वीर अस्पतालमा हालसम्म एकजना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेश नेपालले जानकारी दिए।

पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ। 

तीनजना डुबेका घाइते र सातजना पहिरोमा परेकाको उपचार गरिएको अस्पतालका निर्देशक डा रवि शाक्यले जानकारी दिए। 

उनले भने, “सातजनाकै डिस्चार्ज भइसकेको छ। डुबेकामध्ये दुईजना डिस्चार्ज भएको र एकजना उपचाररत छन्। किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका ६ वटा केस रहेका छन्, जसमा दुईजना डिस्चार्ज भइसकेका छन्।”

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपदबाट उद्धार गरिएका घाइते विरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ। 

उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.