काठमाडौँ : सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै शिक्षकहरूका लागि छुट्टै ‘शिक्षक अस्पताल’ बनाउने घोषणा गर्याे।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ०७८ भदौमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै घोषणा गरेका थिए, ‘शिक्षकहरूका लागि छुट्टै शिक्षक अस्पताल बनाइनेछ, त्यसका लागि अस्पताल निर्माण अगाडि बढाइनेछ।’
तर अस्पताल बनाउने सरकारको योजना अलपत्र परेको छ। शिक्षकहरूका लागि अस्पताल बनाउने योजना ३ वर्षदेखि कागजमै सीमित भएको हो।
सरकारको उक्त योजनाअनुसार शिक्षक अस्पताल निर्माणका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त पनि भयो। अस्पताल कहाँ बनाउने भन्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन भयो।
उक्त समितिले २०७८ माघ महिनामै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भरतपुर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको थियो। देशकै केन्द्रीय भूभाग चितवन रहेकाले त्यही बनाउन उपयुक्त हुने प्रतिवेदनमा देखाइएको छ।
समितिले उक्त प्रतिवेदन मन्त्रीलाई बुझाएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका-१५ भगवानपुरमा आवश्यक ८ बिघा १६ कट्ठा जग्गा उपलब्ध गराउने बताएकी थिइन्। यद्यपि त्यसयता केही देखिने खालको भौतिक निर्माण अघि बढेको देखिँदैन।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार जग्गा उपलब्ध गराउने भनिएयता केही काम भएको छैन।
‘सरकारले शिक्षक अस्पताल बनाउने भनेर घोषणा त गर्यो, पछि केही चासो राखेन, बजेट विनियोजन पनि भएन। त्यसैले अस्पताल निर्माणका लागि केही प्रगति भएको छैन,’ उनले भने।
शिक्षा मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी नारायणप्रसाद पोख्रेलका अनुसार शिक्षक अस्पतालका लागि जग्गा प्राप्तिको क्रममा रहेको र त्यसपछि केही काम अघि बढ्न सकेको छैन। ‘थप प्रकृया अघि बढेको मलाई जानकारी छैन,’ उनले भने।
छिटो अस्पताल बनाउन माग
शिक्षकहरुले छिटो शिक्षक अस्पताल बनाउन माग गरेका छन्। यसको लागि सरकारलाई बारम्बार दबाब दिइरहे पनि खास सरकारले यो अस्पताल निर्माणमा उच्च प्राथमिकता नदिएको नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले बताए।
‘हामीले छिटो अस्पताल बनाउन पर्छ भनेर माग गरिरहेका छौँ तर खै सरकारले किन हो बेवास्ता गरेको, घोषणा गरेरमात्रै हुँदैन कार्यान्वयनमा पनि ल्याउन पर्यो नि,’ उनले भने।
सरकारले अस्पताल बनाउने घोषणा गर्न अगाडिदेखि नै महासंघले निजामती र सेनाको छुट्टै अस्पताल भएको र आफूहरूका लागि पनि चाहिने माग गर्दै आएको थियो।
यस्तो थियो योजना
शिक्षा मन्त्रालयका अनुसार शुरुमा ३ सय शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने योजना थियो। पछि क्रमशः अस्पतालमा शय्या थप गर्दै लगिने थियो। तत्कालीन नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यो अस्पतालको सेवा शिक्षकमात्र नभई अन्य सर्वसाधारणले पनि पाउने बताइन्।
उनले भनिन्, ‘शिक्षक अस्पताल बनाउनुपर्ने माग हामीले धेरै वर्ष अगाडिदेखि उठाएका हौँ। निजामती र सेनाको छुट्टै अस्पताल हुने, हाम्रो किन नहुने? अरूजस्तै हामीले पनि राष्ट्रको सेवा गरिरहेका छौँ। त्यसैले शिक्षक अस्पताल आवश्यक छ, यो अस्पताल हाम्रा लागि मात्रै बनाउने भनेका छैनौँ‚ हाम्रो परिवार र सर्वसाधारणले पनि राम्रोसँग सेवा पाउँछन्।’
शिक्षक अस्पताल बनेपछि देशभरका करिब ३ लाख शिक्षक लाभान्वित हुने मन्त्रालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।