हेटौँडा : मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध सुनसहित एकजना भारतीयलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ।
हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ज ६९६ नं को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्दा माइक्रोमा सवार भारतीय राज्य बिहारको फूलबरिया पूर्वी चम्पारण बरेवाका सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शंका लागि सर्राफको शरीर तथा झोला खानतलासी गर्दा उनले खुट्टाको पैतालामा कालो टेपले बेरेर लुकाइ ल्याएको सुनजस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ।
प्रहरीले सर्राफको साथबाट बिस्कुटको आकारको चार टुक्रा, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ।
सर्राफको साथबाट बरामद गरिएको बिलबिजक नभएको सुन मंगलवारको बजार भाउअनुसार ६७ लाख ३४ हजार ५४४ रुपैयाँबराबर रहेको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।