भाेलिदेखि खरिद सुरु हुने
भाेलिदेखि खरिद सुरु हुने
काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलि (बिहीबार) अर्थात् घटस्थापनाबाट दशैँका लागि खसीबोका खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि हेटौँडा लगायतका ठाउँबाट खसीबोका,च्यांग्रा खरिद गरेर काठमाडौँ उपत्यकामा भित्र्याउन लागिएको जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले यसका लागि सबै तयारी भइसकेको जानकारी दिइन्। उनले भनिन्, ‘भोलिदेखि खसीबोका खरिद गरेर काठमाडौं ल्याउँदै छौँ,च्यांग्रा पनि ल्याउँछौँ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँतिहारका लागि हरेक वर्षको दशैँमा खाद्य सामग्री तथा खसीबोका सहुलियतमा बेच्दै आइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी न्यौपानेका अनुसार यो वर्षको दशैँका लागि १५ सय खसीबोका काठमाडौं उपत्यकामा ल्याइँदै छ।
कम्पनीले गत दशैँमा करिब दुई हजार खसीबोका ल्याएको थियो तर अपेक्षित बिक्री हुन सकेन। त्यसपछि यस वर्ष कम्पनीले १५ सय मात्रै खसीबोका ल्याउन लागेको हो। त्यसैगरी कम्पनीले यस वर्ष ३ सयवटा मात्रै च्याङ्ग्रा ल्याउँदै छ। गत दशैँमा खाद्यले ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो।
तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएका च्यांग्रा छठसम्म ४७ वटा नबिक्दा कुकुरले मारेपछि यो वर्ष ३ सयमात्रै च्यांग्रा ल्याउने निर्णय गरेको हो। कम्पनीले जिउँदो खसीबोका र च्यांग्रा खरिदका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
खोर मर्मत गरिँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीले खसी, बोका र च्यांग्रा राख्ने खोर मर्मतको काम थालेको छ। कम्पनी लिमिटेडले गत वर्ष दशैँका लागि भनेर ल्याएका च्यांगथ्रा कुकुरले मारेपछि चौतर्फी आलोचनासँगै सुरक्षामै प्रश्न उठेको थियो।
कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको च्यांग्रा छठसम्म ४७ वटा बिकेनन्। त्यहीँ राखेर दानापानी दिइँदै आएकोमा २०८० पुस १९ गते २० वटा च्यांग्रा मरेको अवस्थामा भेटिए।
लिमिटेडले १८ गते मध्यरातमा कुकुर छिरेर टोकेर मारेको बतायो। सिसिटिभी फुटेजमा पनि कुकुर छिरेर टोकेको देखिन्छ। कुकुरकै टोकाइबाट मरेको हो वा होइन भनी मरेकामध्ये २ वटा च्यांग्राको परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। उक्त रेबिज रिपोर्ट नेगेटिभ आयो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाले रेबिज रिपोर्ट नेगेटिभ आए पनि कुकुरकै टोकाइबाट च्यांग्रा मरेको बताएकी थिइन्। त्यसपछि खाद्यले यतिखेर खोरको मर्मत गर्दै आएको छ। गत वर्ष च्यांग्रा राखिएको खोर बाँस, काठ र जस्ता टिनको थियो।
जसकारण खोर असुरक्षित हुँदा कुकुर छिरेर च्यांग्रा मार्यो। यो वर्ष भने खाद्यले उक्त खोर मर्मत गरिसकेको छ। फलामको गेट राखिएको छ भने वरिपरि फलामकै बार लगाइएको छ। त्यसको माथि भने जस्ता हालिएको छ तर ढाकिएको झारजंगल भने अझै उखेलिएको छैन। अहिले पनि कर्मचारीहरूले खसीबोका राख्ने खोर मर्मत गरिरहेका छन्।
खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट
खाद्य व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू असोज ३ गतेदेखि सञ्चालनमा ल्याइसकेको छ। यो वर्ष खाद्य व्यापार कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्यान्न बिक्री गरेको छ। काठमाडौँ उपत्यकामा ४ वटा बिक्री कक्ष राखिएको खाद्यले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि जिउँदो खसी बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको छ भने देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुट दिएको छ। यो सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा आउने खाद्यले जनाएको छ।
कहिलेदेखि हुन्छ खसीबोका विक्री वितरण ?
यो वर्षको दशैँ भोलिबाट शुरु हुँदै छ। भोलि(बिहीबार) घटस्थापना परेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी न्यौपाने सुवेदीले खसीबोका खरिद गरेको भोलिबाटै विक्रीवितरण थाल्ने जानकारी दिइन्। उनका अनुसार भोलि र पर्सि (शुक्रबार)सम्म खसीबोका,च्यांग्राको खरिद हुने र त्यसपछि विक्रीवितरण थाल्ने छ।
‘अहिले नै यो दिनबाट विक्री वितरण हुन्छ भन्ने चाहिँ भन्न सकिँदैन, जेहोस् भोलिदेखि खरिद शुरु हुन्छ र त्यसको ३ दिनपछि विक्री वितरण शुरु हुन्छ’, उनले भनिन्। अघिल्लो वर्ष खाद्यले असोज ३० गते अर्थात् घटस्थापनको २ दिनपछिबाट खसीबोका विक्रीवितरण थालेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।