पर्सी आइतवार खसीबोका बिक्री शुरु

|

काठमाडौँ : काठमाडौँ उपत्यकामा यस वर्षको दशैँमा ७० देखि ८० हजार खसीबोका खपत हुने देखिएको छ। नेपाल व्यावसायिक बाख्रापालक संघले यस वर्षको दशैँमा ७० देखि ८० हजार खसीबोका उपत्यकामा खपत हुने जनाएको हो।

नेपाल व्यावसायिक बाख्रापालक संघका अध्यक्ष गोविन्द सुवेदीले यस वर्ष बाढीपहिरोले विभिन्न ठाउँको बाटो अवरूद्ध हुँदा उपत्यकामै धेरै सर्वसाधारण रहने र त्यहीअनुसार बढी खपत हुने देखिएको बताए।

‘अघिल्लो वर्षजस्तो यात्रुहरू दशैँ मनाउन गाउँ जाँदैनन् किन भने बाटो छैन, त्यसैले यस वर्ष उपत्यकामा ७० देखि ८० हजार खसीबोका खपत हुने देखिन्छ,’ उनले भने।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि उक्त संख्याअनुसार नै खसीबोका खपत हुने देखिएको जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार गत वर्ष ४० देखि ५० हजारसम्म खसीबोका खपत भएको थियो।

‘तर यस वर्ष बाढीपहिरोले गर्दा पहिला जस्तोगरि गाउँ जाँदैनन् होला, उपत्यकामै रहने भएकाले गत वर्षभन्दा बढी नै खपत हुने देखिन्छ,’ उनले भनिन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार एक तथ्यांकले प्रति व्यक्तिले एक वर्षमा सबै प्रकारको मासु गरि २० केजीसम्म उपभोग गरेकाे देखाएकाे छ। 

भारतबाट खसीबोका ल्याइँदा नेपालकाले पाएनन् बजार

नेपाल व्यावसायिक बाख्रापालक संघका अध्यक्ष सुवेदीले सरकारले बाहिरबाट खसीबोका आयात गर्दा नेपालमा उत्पादित खसीबोकाले बजार नपाएको गुनासो गर्छन्।

उनले भने, ‘दशैँमा पुग्नेभन्दा बढी खसीबोका उपलब्ध गराउन हामी सक्छौँ, अभाव हुँदैन तर सरकारले विदेशबाट आयात गर्छ, यस्तो हुँदा खसीबोका पाल्ने किसानहरू मारमा परेका छन्। उनीहरूले भाउ पाएनन्, दशैँमा पनि नेपाली खसीबाेका बिक्दैन।’

उनका अनुसार गैरकानूनी रूपमा भारतबाट खसीबोका भित्र्याएर बजारमा बिक्रीवितरण र काठमाडौँमा पठाउने गरिन्छ। तर सरकारले त्यस्तो कार्यलाई रोक्न सकेको छैन।

आइतवार खसीबोका बिक्री शुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी आइतवारदेखि खसीबोका, च्यांग्रा बिक्रीवितरण थाल्ने जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी न्यौपाने सुवेदीले भोलिसम्म खसीबोका उपत्यकामा भित्र्याउने र आइतबारबाट बिक्रीवितरण गर्ने तयारी रहेको जानकारी दिइन्।

उनले भनिन्, ‘भोलिसम्म खसीबोका भित्र्याइन्छ, त्यसपछि आइतवारबाट बिक्रीवितरण सम्भवतः हुन्छ।’  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँतिहारका लागि हरेक वर्षको दशैँमा खाद्य सामग्री तथा खसीबोका सहुलियतमा बेच्दै आइरहेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी न्यौपानेका अनुसार यो वर्षको दशैँका लागि १५ सय खसीबोका काठमाडौँ उपत्यकामा ल्याइँदै छ।

कम्पनीले गत दशैँमा करिब २ हजार खसीबोका ल्याएको थियो तर अपेक्षित बिक्री हुन सकेन। त्यसपछि यस वर्ष कम्पनीले १५ सय खसीबोका मात्रै ल्याउन लागेको हो।

त्यसैगरी कम्पनीले यस वर्ष ३ सयवटा मात्रै च्याङ्ग्रा ल्याउँदै छ। गत दशैँमा खाद्यले ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो।

तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएका च्यांग्रा छठसम्म ४७ वटा नबिक्दा कुकुरले मारेपछि यो वर्ष ३ सयमात्रै च्यांग्रा ल्याउने निर्णय गरेको हो।

कम्पनीले जिउँदो खसीबोका र च्यांग्रा खरिदका लागि ४ करोड रूपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। खाद्यले दशैँका लागि जिउँदा खसीबोका र च्यांग्रामा प्रतिकिलो १० रूपैयाँ छुट दिने निर्णय गरेको छ भने देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रूपैयाँ छुट दिएको छ।

यो सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा आउने खाद्यले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.