दाङ : प्रत्येक वर्षझैँ यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दशैँका लागि शुक्रवार खसीबोका खरिद गर्न थालेको छ।
कार्यालयले यसवर्ष दाङबाट ४ सय खसीबोका खरिद गरेर काठमाडौँ पठाउने भएको हो। कार्यालयले खरिद गर्न थालेपछि व्यावसायिक बाख्रापालन गरेका किसानहरू विहानैदेखि कार्यालयमा खसीबोका लिएर आएका छन्।
गाउँघर र बजार मूल्यभन्दा बढी र नगद पाइने भएकाले कार्यालयमा खसीबोका ल्याएर किसानहरूले बिक्री गर्ने गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका-३ अविधाराका रामबहादुर खत्रीले ५ वटा खसी बिक्री गर्न ल्याएका थिए। उनले पहिलो पटक बिक्री गर्न ल्याएको भन्दै गाउँघरमा भन्दा राम्रो मूल्य पाइने भएपछि पहिलो पटक खसी लिएर आएको बताए।
उनले भने, ‘अहिलेसम्म गाउँघरमा प्रतिकिलो ८ सय काटेर बिक्री गर्ने गरेको थिए तर समयमा पैसा नउठ्दा समस्या हुने गरेको थियो। तर यस पटक भने यहाँ बिक्री गर्न ल्याएको छु। यहाँ जिउँदो प्रतिकिलो ५६० रुपैयाँमा खसी खरिद हुन्छ।’
उनले आफूसँग अहिले घरमा २५ गोटा खसीबाख्राहरू रहेको भन्दै व्यावसायिक रुपमा पालन गर्दा समस्या हुने गरेको बताए। उनका अनुसार घाँस प्रशस्त भए पनि बेला बेलामा रोग लागेर खसीबाख्रा मर्ने गरेका छन्।
गाउँमा पशु अस्पताल नहुँदा आफूजस्ता धेरै किसानलाई समस्या हुने गरेको बताए।
उनले भने, ‘पशु अस्पताल पनि नजिकमा छैन भने ठूला खसीबोका पनि समयमा बिक्री हुँदैनन्। गाउँघरमा उधारोमात्र जान्छ, समयमा पैसा आउँदैन।’
यो खरिद कार्यक्रम वर्षमा एक पटकमात्र हुने हुँदा त्यति सहज नहुने समेत उनले बताए।
विहान ११ बजेदेखि कार्यालयले खसीबोका खरिद गर्ने समय तोकेको थियो तर किसानहरू भने विहानै खसीबोका लिएर कार्यालयमा आइपुगेका थिए। खसीबोका बिक्री गर्न किसानहरूले पहिले नै नाम टिपाएका थिए।
गाउँघरको मूल्यभन्दा बढी र एकैपटक नगद पाइने भएकाले संस्थामा पहिलो पटक खसीबोका बिक्री गर्ने तुलसीपुर-३ गोटिखोलाकी मेनका खड्काले बताइन्। यस पटक ४ वटा बोका र २ वटा खसी ल्याएर आएको उनले बताइन्। बजार मूल्यभन्दा केही थोरै बढी भएको हुँदा ल्याएको उनको भनाइ छ।
‘गाउँघरमा साढे ५ सय प्रतिकिलो चलेको छ भने यहाँ ५६० प्रतिकिलो खसीको मूल्य पाइन्छ‚’ उनले भनिन्। उनले योभन्दा अझ केही बढी मूल्य पाए किसानहरूलाई अझै राहत हुने बताइन्।
लामो समयदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका तुलसीपुर-३ नाउलाका जङ्ग बहादुर वलीले यस पटक १० वटा खसी बिक्री गर्न ल्याएको बताए।
उनले कार्यालयले खरिद गर्न लागेको समयदेखि नै कार्यालयमा यसरी नै बिक्री गर्दै आएको बताए तर गत वर्षभन्दा यस पटक मूल्य कम भए पनि एकमुष्ट पैसा पाइने हुँदा कार्यालयलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।
उनले भने, ‘गाउँघरमा पनि बिक्री त हुन्छ तर यहाँको जस्तो एकमुष्ट पैसा पाइँदैन। गत वर्षभन्दा यस पटक मूल्य कम छ तर पनि यहाँ बिक्री गर्न मलाई धेरै सहज हुन्छ।’
उनले लामो समयदेखि सरकारले खसीबोकाको मूल्य एउटै गराउने गरेको भन्दै थोरै बढाउनुपर्ने बताए।
उनले भने, ‘हरेक वर्ष हरेकको मूल्य बढेको हुन्छ तर हाम्रा खसीबोकाको मूल्य विगतदेखि नै उस्तै रहेको छ। यस पटक बढ्ला भनेको अझ केही घटेको छ।’
कम्पनीले पहिलो दिन २ सय वटा खसीबोका खरिद गरेर काठमाडौँ पठाउने भएको छ भने बाँकी २ सय वटा शनिवार खरिद गरेर पठाउने जनाएको छ।
गत वर्ष जिउँदो खसीको प्रतिकिलो मूल्य ५६२ रुपैयाँ थियो भने यस पटक ५६० रुपैयाँ रहेको छ। बोकाको मूल्य ५४२ रुपैयाँ रहेकोमा यस पटक ५४० रुपैयाँ तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए।
उनका अनुसार कार्यालयमा आएर यसरी खसीबोका बिक्री गर्ने किसानहरुको वर्षेनि उत्साह बढ्दै गइरहेको छ।
किसानहरुले एक वर्षदेखि आफूहरुलाई खसीबोका बिक्री गर्ने भनेर कुरेर बस्ने गरेको भन्दै उनले गत वर्षभन्दा यस पटक मूल्य अलिकति कम रहेको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।