|

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका छन्।

दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललिपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गरे।

खानेपानीको प्यासमा कोही तड्पिइरहेका छन् भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताए।

उनले भने, “विगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधिबाट केही समस्या भएको होला। त्यसैले अहिले दक्षिणकालीका नागरिक ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन्। तपाईंका समस्या के हुन्? समाधानका लागि म पहल गर्नेछु। कृपया म हात जोडेर भन्छु। ललितपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस्।”

बाढीपहिरोलगायत समस्याले अहिले देश विपद र समस्यामा परेकाले हामी सबै नेपालीले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो।

“अविरल वर्षाका कारण गएको बाढी पहिराले देशका २१ जिल्ला प्रभावित भएका छन्। हामी विपद्को घडीमा छौँ, नागरिक पानीका लागि तड्पिइरहेका छन्। तपाईंरूसँग पानी छ। अहिले नागरिकलाई पानी दिन तपाईंहरूको सहयोग आवश्यक छ,” उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.