पर्वत : जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको ‘फ्रेस हाउस’ हरुले ‘ब्रोइलर’ कुखुराको तयारी मासुको मूल्य आ–आफ्नै तरीकाले मनलाग्दी रूपमा निर्धारण गरेको पाइएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा चाडबाड लक्षित अनुगमनको क्रममा एक किलोग्राम मासुमा नजिकै रहेका फरक फरक पसलहरूमा ८० रुपैयाँसम्म तलमाथि रहेको भेटिएको छ। धनेश्वर चोकमा रहेको एउटा ‘फ्रेस हाउस’ ले ‘ब्रोइलर’ कुखुराको तयारी मासु प्रति किलो तीन सय ६० रुपैयाँका दरले बेचिरहेको छ। उक्त पसलको केही पाइला टाढा रहेको अर्को ‘फ्रेस हाउस’ ले चार सय रुपैयाँ किलोमा बेच्दा त्यहाँबाट केही टाढा रहेको बडागाउँमा प्रतिकिलो चार सय ४० रुपैयाँसम्म बिक्री भइरहेको पाइएको छ।
शनिवार ‘ब्रोइलर’ कुखुराको वध गरेर मासु तयार पार्ने ‘डिलर’ हरूमा गरिएको अनुगमनको क्रममा प्रतिकिलो तीन सय २०÷३० रुपैयाँसम्म खुद्रा पसलेहरूलाई थोक मूल्यमा दिने गरेको बताएका थिए। तर खुद्रा पसलेहरूले भने एक किलो मासुमा नै एक सय १० रुपैयाँसम्म मुनाफा राखेर बिक्री गरेको पाइएको छ। अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल हरेक पसलमा जाँदा पसल अनुसार प्रति किलो तीन सय ६०, तीन सय ८०, चार सय, चार सय २० र चार सय ४० रुपैयाँको मूल्यमा मासु बिक्री गरेको पाइएको बताए।
यसरी आफूखुसी मूल्य निर्धारण गर्दा यो विषय कालोबजारीतर्फ तानिने र पसलेहरूले सजाय स्वरूप महँगो जरिवाना अन्य सजायहरू पनि भोग्नुपर्ने स्थिति आउने बताए। खुद्रा पसलमा मासु आपूर्ति गर्ने ‘डिलर’ हरूको सङ्ख्या धेरै भएको अवस्थामा तथा माग र आपूर्तिबिच तालमेल नमिल्दा ‘डिलर’ अनुसार केही फरक हुन सक्ने भए पनि एक किलोग्राममा ८० रुपैयाँसम्म फरक हुनु नियतवश राखिएको मूल्य भएको उनको भनाइ छ।
‘यति सानो कुश्मा बजारमा मासु सप्लाई गर्ने दुई÷तीन वटा मात्रै सप्लायर्स छन्। उनीहरूले खुद्रा पसलमा लगभग समान मूल्यमा दिएको पाइयो। तर फ्रेस हाउसहरूले भने आफूखुसी मूल्य राखेर ग्राहकसँग चर्को मूल्य लिएको देखियो’, सहायक प्रजिअ पौडेलले भने, ‘यसको समाधानको लागि मङ्गलवार नै जिल्ला प्रशासन कार्यालयमा व्यापारी र ‘होलसेलर’ सहित सरोकारवालाहरूलाई छलफलका लागि बोलाएका छौँ।’
अनुगमनमा सहभागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख डा. ऋषभ गुरागाईँले पनि बजारमा देखिएको समस्या समाधानका लागि पहल सुरु भइसकेको बताए। माछा मासु सहित पशुपक्षीजन्य अन्य उपभोग्य बस्तुहरूको अनुगमको क्रममा मूल्यको समस्या बढी देखिएको उनको भनाइ छ। पसलपिच्छेका फरक फरक मूल्यलाई अब एकै मूल्य कायम गर्नुपर्ने र त्यसका लागि नियमनकारी निकायहरूले समन्वय गर्नुपर्ने गुरागाईँले बताए।
अनुगमनका क्रममा मूल्य सूचि नभएको, बिल प्रयोग नभएको, धेरै दिनदेखि राखेको मासु बिग्रिने अवस्थामा पुगेको, पसलमा बोर्ड नराखिएको, अचानो फोहोर भएको, कुखुरा पाल्ने ठाउँ र वधशाला सिधै जोडिएको, वधशालाको अनुमति नलिईकन मापदण्ड बिना नै वधशाला सञ्चालन गरेको लगायतका समस्याहरू रहेको पाइएको छ।
समस्या देखिएका ठाउँहरूमा सात दिनभित्र निर्देशन दिइएअनुसारको सुधार गर्न ताकेता गरिएको छ। चाडबाडको बेलामा हुन सक्ने कालो बजारी, मनपरी मूल्य निर्धारण, अखाद्य वस्तुको व्यापार लगायतका गैह्र कानुनी कामहरूको भएका भए नियन्त्रण गर्नका लागि अनुगमन गरिएको डा. गुरागाईँले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।