काठमाडौं : ऐतिहासिक धरहरा भूकम्पले ढालेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाए। सरकारले असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरेको थियो। अहिले नयाँ धरहरामा चढ्नेको घुइँचो छ।
युवा मात्र नभई ज्येष्ठ नागरिकसमेत नयाँ धरहरा चढ्न पाएकोमा खुशी व्यक्त गर्छन्। ‘लिफ्ट’को व्यवस्था रहेकाले आफूहरूलाई सहज भएको उनीहरू बताउँछन्। ‘लिफ्टबाट सररर चढ्न र झर्न पायौँ। सहज भयो’, धरहरा चढेर ओर्लेपछि ७५ वर्षीय गान्बा नेपालीले भने, ‘धरहरा चढ्ने सपना पूरा भयो। धेरै खुशी लागेको छ।’
निर्माण हुन धेरै समय लागे पनि धरहरा बने पनि अहिले चढ्न पाउँदा खुशी लागेको सुनिता श्रेष्ठले बताइन्। ‘लामो समयसम्म धरहरा सरकारले बनाउन सकेन। त्यो अवस्था देखेर मलाई अझै बन्न त समय लाग्ला भन्ने सोचेको थिए। तर बन्यो। चढ्न पाउँदा खुशी लागेको छ। टुप्पोबाट राजधानी शहर हेर्न पाइयो।’
उनले अहिले बनेको धरहरामा वृद्धवृद्धा पनि सहजै चढ्न सक्ने बताइन्। ‘धरहरामा लिफ्ट छ। त्यसैले धरहरामा चढ्न मन हुने सबै बुढाबुढी पनि सहजै चढ्न सक्छन्। लिफ्ट नभएको भए माथि जानै सक्ने थिएन,’ उनले भनिन्।
२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण शुरू हुन सकेन। धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए।
तर, पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरे। निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो। तर उनकै कार्यकालमा धरहरा सर्वसाधारणका लागि खुला भयो।
त्यो धरहरा, यो धरहरा
वि.सं १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यस समयमा यसको उचाइ ११ तलाको ६१.८८ मिटर अग्लो थियो। ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तला कायम गरी पुनर्निर्माण गरेका थिए।
पुरानो धरहरा अगाडिको ४२.२ रोपनी क्षेत्रफलमा नयाँ धरहरा पुनर्निर्माण भएको हो। यो २२ तलाको छ। धरहरामा भर्याङसँगै लिफ्टबाट उक्लिन सकिन्छ। धरहरामा अण्डरग्राउण्ड बेसमेन्ट छ। बेसमेन्टमा तल-माथि गर्न लिफ्टको व्यवस्था छ।
५० फिट अग्लो ‘वाटर फाउन्टेन’ बनाइएको। पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ। यसअघिको धरहरामा लिफ्ट थिएन। २०७२ सालको भूकम्पले भत्काएको पुरानो धरहरा पुनर्निर्माण नगरी नयाँ बनाएकोमा कतिपयलाई मन परेको छैन। उनीहरूले यो धरहरा नभई ‘सेतो टावर’ भएको बताउने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।