आज अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ। एक वर्ष पहिले आजकै दिन हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार गरेको थियो।
आक्रमणमा १ हजार २०५ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई इजरायलको दक्षिणी क्षेत्रबाट बन्धक बनाएर आक्रमणकारी लडाकू समूहले लगेका थिए।
हजारौँ इजरायलीहरूले सोही स्थानमा उक्त दिन हमासले बन्धक बनाई लगेका र फिर्ता हुन बाँकी बन्धकको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।
गत वर्ष अक्टोबर ७ मा हमासले नियन्त्रण गरी लगेका बन्धकमध्ये ९७ जना अझै पनि तटीय क्षेत्रमा बन्धककै रूपमा जीवित रहेको विभिन्न स्रोतहरूको हवाला दिँदै उनीहरूका आफन्तहरूले बताउने गरेका छन्। यद्यपि, इजरायली सेनाले बन्धकमध्ये ३७ जनाको मृत्यु भइसकेको जनाएको छ।
आक्रमणस्थलमा नै उनीहरूले आफ्ना प्रियजनको विगत र वर्तमान् अवस्थाको सम्झना गरे। नोभा सङ्गीत महोत्सव स्थलमा भावनाको ओइरो लागेको छ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले नोभा सङ्गीत महोत्सवको स्थल किब्बुट्ज रीममा बिहान ६:२९ बजे मौनधारण गरी दिनको सुरुवात गरेका थिए। उक्त स्थलमा हमासका लडाकूहरूले गरेको सबैभन्दा घातक आक्रमणमा कम्तीमा ३७० जनाको मृत्यु भएको थियो।
गत हप्ता इरानले इजरायलविरूद्ध गरेको क्षेप्यास्त्र आक्रमणलाई लिएर इजरायलले तेहरानविरुद्ध पनि प्रतिशोधको तयारी गरिरहेको छ। यसले अझ व्यापक द्वन्द्वको आशङ्का बढाएको छ।
इजरायली सेनाले सोमबार गाजाबाट कम्तीमा ४ वटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ र यसले गाजा पट्टीभरि हमासको प्रक्षेपण चौकी र भूमिगत आतङ्कवादी संरचनामा आक्रमण गरेको जनाएको छ।
हमासको सशस्त्र शाखाले एक विज्ञप्ति जारी गर्दै आफ्ना लडाकूहरूले गाजासँगको सीमानजिक रफाह, केरेम शालोम र किब्बुट्ज होलिट सीमामा ‘शत्रुको जमघट’लाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ।
गत नोभेम्बरको अन्त्यमा एक साता लामो युद्धविरामका क्रममा २४० जना प्यालेस्टिनी कैदीको बदलामा १०५ जना बन्धकलाई रिहा गरिएको थियो।
लेबनानमा इजरायली हवाई आक्रमणमा १ हजार ११० जनाभन्दा बढीको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।
इजरायलले उत्तरी इजरायलमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौँ इजरायलीलाई स्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ।
गाजामा इजरायली आक्रमण सुरु भएयता कम्तीमा ४१ हजार ८७० जनाको ज्यान गइसकेको छ। जसमध्ये अधिकांश सर्वसाधारण रहेको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गाजा र लेबनानमा जारी द्वन्द्वसँगै इरानसँग युद्धको खतरा पनि बढेको छ। इरानले गत साता (सेप्टेम्बर २७) बेरूतमा हिज्बुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफरहानको मृत्युको बदलामा इजरायलमाथि २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
इजरायलका रक्षामन्त्री योआभ ग्यालेन्टले इरानलाई गाजा वा बेरुतजस्तो देखिन सक्ने चेतावनी दिएका छन् भने तेहरानले इजरायलको कुनै पनि सम्भावित प्रतिशोधको प्रतिकार गर्ने योजना तयार पारेको बताएको छ।
इरान आणविक हतियार भएको इस्लामिक राष्ट्र हो। इरानसँग द्वन्द्व बढ्नु इजरायल वा अन्य कुनै युद्धमा सम्मिलित राष्ट्रका लागि मात्र जोखिम नभई यस क्षेत्रकै सुरक्षा चुनौती हो।
गाजापट्टी । तस्वीर : एएफपी
तपाईंको ईमेल गोप्य राखिनेछ ।