|

काठमाडौं : दशैँको बेला चङ्गा उडाउने पुरानो चलन हो। वरिष्ठ संस्कृतिविद् जगमान गुरूङका अनुसार गाउँघर भन्दा पनि शहरबजारमा पहिले हरेक वर्षको दशैँमा आकाशमा चङ्गा उडेको देखिन्थ्यो। चङ्गा उडाउने प्रतियोगितै आयोजना हुन्थ्यो। तर,त्यस्तो रौनक आजभोलिको दशैँमा देखिँदैन।​​

दशैँको चहलपहल सुरू भएदेखि घरपरिवार, आफन्त, साथी भाइ जम्मा भएर चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ। जसकारण दशैँ आए पनि चङ्गा पसलहरूमै चहलपहल छैन। न्युरोडमा चङ्गा व्यापार गर्दै आएका सन्तोष नेपाल पहिला पहिला जस्तो चङ्गाको व्यापार अहिले नभएको बताउँछन्।

उनी भन्छन्,‘पहिला जब दशैँ नजिकिदै जान्छ,चङ्गा पसलहरूमा भीड हुन्थ्यो,अधिकांशको घरघरको छटबाट चङ्गा उडाउँथे,तर अहिले त्यो समय छैन,आकाशमा चङ्गा उडेको देखिँदैन,कुनै कुनै केटाकेटीहरूले मात्रै उडाएको देखिन्छ,त्यसैले त्यति धेरै चङ्गाप्रति आकर्षण छैन।’ उनका अनुसार काठमाडौं उपत्यकाको बजारमा चार सयदेखि चार हजार रूपैयाँसम्मका प्लाष्टिक,कागज लगायतका चङ्गा पाइन्छन्।

प्रविधिको विकासले हराउँदै चङ्गा उडाउने चलन

वरिष्ठ संस्कृतिविद् गुरूङका अनुसार पहिले राणाकालमा दशैँ अघि आकाशमा चङ्गा उडाएको पाइए सिपाहीहरू पुगेर कारबाही नै गर्ने गर्दथे। जसकारण चङ्गा उडाइँदैन थियो। नागरिकहरू डराउँथे। तर, दशैँमा सबैलाई चङ्गा उडाउन छुट दिने गरिन्थ्यो। 

‘खास चाही गाउँघरमा भन्दा काठमाडौं शहरमा विशेषगरी नेवारी बस्तीहरूमा दशैँको बेला चङ्गा उडाउने चलन थियो,त्यसबेला आकाश खुल्थ्यो,दशैँमा चङ्गा चैट प्रतियोगिता हुन्थ्यो,चङ्गा चैट भनेको आफ्नो चङ्गाले अरूको चङ्गाको धागो छिनाएर ल्याउने हो, तर अहिले त्यस्तो रौनक छैन,’उनले भने। उनका अनुसार त्यस बेला रङ्गी–चङ्गी चङ्गाहरू सफा आकाशमा उड्दा फरक रौनक हुन्थ्यो। केटाकेटीहरू झुमिन्थे।

उनी पछिल्लो समय प्रविधिको विकाससँगै यस्तो चलन हराउँदै गएको बताउँछन्। ‘अहिले त प्रत्येकको हात हातमा मोबाइल छ,८० वर्षका वृद्धवृद्धाहरूमा पनि मोबाइल छ,’उनी भन्छन्,‘त्यसो त चङ्गा उडाउने भन्दा पनि बढी बालबालिकाहरू मोबाइल,टिभीमा व्यस्त भए,त्यही कारण पछिल्लो समय चङ्गा उडाउने चलन,रौनक नै हराउँदै गयो।’ 

पिङ खेल्ने परम्परा पनि विस्तारै हराउँदै

दशैँको बेला चङ्गा उडाउने मात्रै होइन पिङ खेल्ने परम्परा पनि विस्तारै हराउँदै गएको उनी बताउँछन्। ‘पहिला गाउँघरमा दशैँको बेला पिङ हुन्थ्यो, खेल्नेको घुइँचो हुन्थ्यो,त्यसरी दशैँ धेरै मनोरञ्जनको रूपमा लिन्थे,नाचगान हुन्थ्यो,तर हिजोआज पिङ हाल्ने चलन पनि हराउँदै गयो,’उनले भने।

चङ्गा व्यापारी नेपाल पनि पछिल्लो समय विभिन्न प्रविधिकै विकासले यो चलन लोप हुँदै गएको बताउँछन्। ‘पहिला हामी नै दशैँको बेला चङ्गा उडाएर रमाइलो गथ्यौँ,तर त्यस्तो चलन अहिले छैन,चङ्गा उडाउनेहरू मोबाइल,इन्टरनेटमै व्यस्त हुन्छन्,’उनले भने।

उनका अनुसार त्यसबेला केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्थे।  विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्थे। तर,उनीहरूमा अहिले खासै यस्तो प्रति आकर्षण देखिँदैन।

दशैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरू भयो भन्ने यकिन तथ्य त छैन तर यो धेरै पुरानो प्रचलन हो। वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पु¥याउन चङ्गा उडाउने प्रचलन शुरू भएको जनविश्वास छ। दशैँको धेरै रमाइलो र आकर्षक पक्षमध्ये चङ्गा उडाउनु पनि एक हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.