रासायनिक मलको अनियन्त्रित प्रयोगले बिगार्यो
रासायनिक मलको अनियन्त्रित प्रयोगले बिगार्यो
काठमाडौं : रासायनिक मलको जथाभावी प्रयोगसँगै नेपालको माटोमा अम्लीयपन बढ्दै गएको छ। माटोमा प्राङ्गारिक पदार्थको मात्रा निकै कम भएको छ।
किसानले खेती गर्ने माटोको बनावट तथा गुणस्तर, माटोको प्रकार, माटोमा अम्लीयपना, रसायन पदार्थको मात्रा, उर्वरा शक्तिलगायतका बारेमा जानकार नभई बाली लगाउँदा पनि अपेक्षित उत्पादन हासिल गर्न सकेका छैनन्।
विशेषगरी बढी खेती हुने तराईको क्षेत्रको माटोमा अम्लीयपन बढी रहेको र प्राङ्गारिक पदार्थ कम हुँदै गएको माटोविज्ञ जीवन सुवेदी बताउँछन्। बिरुवाले आवश्यक पर्ने खाद्य तत्व माटोबाट लिने भएकाले माटोमा खाद्य तत्त्व पर्याप्त हुन प्राङ्गारिक पदार्थ चाहिन्छ।
समशीतोष्ण बागवानी केन्द्र कीर्तिपुरका माटो विज्ञ सुवेदीका अनुसार, पहिले-पहिले गाईवस्तुको मल, वन जङ्गलबाट पात पतिङ्गर संकलन गरेर कुहाउने, कम्पोस्ट मल बनाउने चलन थियो, जुन अहिले हराउँदै गएको छ। ‘आधुनिक खेती प्रणालीमा ट्याक्टरहरूले गाईबस्तुलाई रिप्लेस गरेको हुनाले गोबर मल र प्राङ्गारिक मल बनाउने चलन हराउँदै गएको छ’, उनी भन्छन्, ‘माटोमा पहिले जति प्राङ्गारिक मल हालिँदैन, जसले प्राङ्गारिक पदार्थको मात्रा कम हुँदै गएको छ र माटो साह्रो हुने, माटोले पानी धारण गर्ने क्षमता बिग्रने, माटोमा अम्लीयपन वृद्धि हुने भइरहेको छ।’
रासायनिक मलको प्रयोग धेरै भन्दा पनि जथाभावी र अनियन्त्रित ढंगले गर्दा माटो बिग्रँदै गएको उनी बताउँछन्। रासायनिक मल तीन पटक (बाली लगाउनुअघि, बाली हुर्कँदै गएको अवस्थामा र बाली पाक्नुभन्दा केही अगाडि जुन वेला बिरुवालाई खाद्य तत्त्व चाहिन्छ) मिलाएर हाल्नुपर्छ।
‘बालीअनुसार मल प्रयोगको विभिन्न चरण हुन्छ, तर समय नमिलाई अनियन्त्रितरूपमा प्रयोग गर्ने चलनले माटोमा असर पुगिरहेको छ’, माटो विज्ञ सुवेदीले भने–विषादीले पनि अम्लीयपन बढ्ने, सूक्ष्म जीवाणु नाश भइरहेको छ।’
समग्रमा, देशभरका एक तिहाई माटो ह्रास भइसकेको उनले सुनाए। विशेषगरी, तराईमा धान गहुँ, तरकारी खेती बढी हुने हुँदा माटो सुधार गर्नुपर्ने देखिएको छ। माटोको पोषण निकाल्दै जाने र थप्ने नगर्दा माटोको गुणस्तर र क्षमता ह्रास हुँदै जान्छ।
प्राङ्गारिक पदार्थको मात्रालाई लिएर अर्गानिक उन्मुख भनिएको कर्णाली प्रदेशको माटो सबैभन्दा राम्रो रहेको माटो विज्ञ सुवेदीले बताए। परम्परागत कृषि प्रणाली, गाईवस्तुको मल, पात पतिङ्गर प्रयोगले कर्णालीको माटोमा प्राङ्गारिक पदार्थ अझै सुरक्षित रहेको उनले बताए।
माटो सुधार गर्ने उपाय
सुवेदी का अनुसार, खेती गर्दा विभिन्न बालीका लागि मल सिफारिस गरिएको हुन्छ। धान बालीको लागि नाइट्रोजन, फस्फोरस, पोटासको सिफारिस गर्दा यससँगै प्राङ्गारिक मलको मात्रा पनि तोकिएको हुन्छ। तर किसानले सिफारिस गरिएअनुसार प्राङ्गारिक मल नहाली रासायनिक मलको मात्रा बढी हाल्छन्, जसले माटो बिगार्छ।
गाईवस्तुको गोबरबाट बनाइएको मल, जंगलको पात पतिङ्गरको विकल्पमा धैँचाजस्ता बोटबिरुरुवा लगाएर बाली लगाउनुअघि जोतेर हरियो मल बनाई माटोमा मिलाउँदा यसले प्राङ्गारिक पदार्थलाई जोगाउँछ। फोहोर व्यवस्थापन गर्दा कुहिने र गल्ने वस्तुहरुबाट गँड्यौला मल बनाउन सकिन्छ, यसले पनि प्राङ्गारिक पदार्थलाई जोगाउने उनले बताए।
यस्तैगरी धान, गहुँ लगाएपछि आगो लगाई सफा गर्नुको साटो जोतेर, वा त्यत्तिकै कुहिन दिइयो भने माटोको पोषण चक्रमा प्राङ्गारिक पदार्थ नष्ट हुनबाट जोगाउन सहयोग गर्छ। बजारमा रासायनिक मल पाइएजस्तो विभिन्न कम्पनीको प्राङ्गारिक मल पनि प्रशस्त पाइन्छ। ‘विभिन्न विकल्पसँगै प्राङ्गारिक पदार्थको मात्रा बढाउने र कृषि चुन प्रयोग गर्दा पनि माटोको अम्लीयपन सुधार गर्न सकिन्छ’, सुवेदीले भने।
माटोको प्रकार
नेपालमा विशेषगरी बलौटे, बलौटे दुमट, दुमट, चिम्ट्याइलो र पाँगो माटो पाइन्छ। बलौटेमा बालुवाको मात्रा धेरै हुन्छ। दोमटमा बालुवा र चिम्ट्याइलो पदार्थ बराबर भएको र चिम्ट्याइलो माटोमा माटोकै मात्रा धेरै हुन्छ।
चिम्ट्याइलो माटोले पानी धारण गर्ने क्षमता बढी हुन्छ। यस्तो माटोमा धानलगायत पानी धेरै चाहिने बाली लगाउन सकिन्छ। बलौटे माटोमा बालुवाको मात्रा लगभग ७० प्रतिशत वा त्योभन्दा बढी हुन्छ। यस्तो माटो खुकुलो हुने भएकाले विशेषगरी आलु, मुला, सलगमसँगै खरबुजा, लौका, फर्सीजस्ता जरे बाली लगाउनु राम्रो हुने विज्ञ बताउँछन्। यसमा पानी धारण गर्ने क्षमता कम हुने भएकाले सिँचाइसँगै पोषणतत्त्व हालिरहनुपर्छ।
बलौटे दुमट माटोमा बालुवाको मात्रा ४० देखि ६० प्रतिशतसम्म हुने बताइन्छ। सिल्ट र मसिनो पांगो माटो पनि मिसिएको हुनाले यस्तो माटोले पानी केही समयसम्म सोसेर राख्न सक्छ। बलौटे दुमट माटोमा भएका खाद्यतत्त्व बिरुवाले सजिलैसँग लिन सक्छ भने गोडमेल गर्न र झारपात हटाउन पनि सजिलो हुन्छ।
यस्तैगरी, दुमट माटोमा २० देखि ४० प्रतिशतसम्म बालुवा हुन्छ भने चिम्ट्याइलो माटोमा १० देखि २० प्रतिशतसम्म मात्र बालुवा हुन्छ। बाँकी सबै सिल्ट र मसिनो माटो हुन्छ। सुक्खा अवस्थामा धेरै कडा हुने भएकाले यस्तो माटोमा खन जोत गर्दा ठूल्ठूला डल्ला निस्कन्छन् र पानी कम हुना साथ चिरा पर्छ भने भिजेको अवस्थामा धेरै चिप्लो हुन्छ।
पाँगो माटोमा भने बालुवाको मात्रा निकै कम र मसिनो माटो र सिल्ट धेरै हुन्छ। सबभन्दा हुने यस्तो माटोमा धान खेती मात्र राम्रो मानिन्छ।
माटोबारे किसानको ज्ञान
त्यसो त, नेपालमा माटोको अवस्था बुझेर मात्र कृषि बाली लगाउने प्रचलन देखिंदैन। यद्यपि माटोको प्रकारले मात्र कुन बाली लगाउने निर्धारण गर्ने नभई स्थान विशेषको मोहडा, उचाइ, भूगोल कस्तो छ भन्ने कुराले त्यहाँ कुन बाली लगाउने भन्ने निर्धारण गर्छ भन्छन्, माटो विज्ञ सुवेदी। ‘भौगोलिक बनावट, उचाइ, क्लाइमेट कस्तो भन्ने कुराले बाली निर्धारण गर्छ, उनले भने।
किसानले जान्नुपर्ने कुरा
किसानले बाली लगाउनुअघि स्थानीय तहमा कृषि प्राविधिकसँग सल्लाह लिएर माटो परीक्षण गराउनुपर्ने सुवेदीले बताए। परीक्षणबाट माटोको अवस्था, बनावट, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटाससँगै अम्लीयपन कति छ भन्ने थाहा हुन्छ।
यसबाट किसानले आवश्यकता अनुसार माटोलाई पोषण तत्व प्रदान गर्ने, सुधार गर्ने, सिफारिस गरिएको मात्रा प्रयोग गर्न मद्दत पुग्छ। तर प्रयोगशालामा गएर माटो परीक्षण गर्न दिएको सुझाव किसानले टेर्दैनन्।
‘धेरै किसानले माटो परीक्षण गर्छन् तर सुझाव र सिफारिसअनुसार कार्यान्वयन गरेका पाइँदैन’, माटो विज्ञ सुवेदीले भने, ‘कतिपय किसानमा त माटो परीक्षण गर्नुपर्छ भन्ने ज्ञान नै छैन। उनीहरूलाई माटो परीक्षणको महत्त्व बुझाउन सकिएको छैन।’ प्रदेशमा माटो तथा मल परीक्षण प्रयोगशालाहरूले माटो परीक्षण गर्छन्।
माटो परीक्षण र यसको कार्यान्वयन
माटोको उर्वराशक्ति पत्ता लगाई, माटोको किसिम अनुसार बाली बिरुवाको लागि के कति खाद्य तत्त्व प्रयोग गर्ने भन्ने थाहा पाउन माटो परीक्षण गर्ने गरिन्छ।
माटोको पि.एच.,मानको आधारमा माटोलाई तटस्थ अम्लीय वा क्षारीय भनिन्छ। साधारणतया ६.५ देखि ७.५ पीएचमान भएको माटोलाई तटस्थ माटो भनिन्छ। ६.५ भन्दा कम पीएच मान भएको माटोलाई अम्लीय माटो भनिन्छ भने ७.५ भन्दा बढी पीएच भएको माटोलाई क्षारीय माटो भनिन्छ।
तटस्थ माटो सबैजसो बालीका लागि उपयुक्त हुन्छ। यदि माटो धेरै अम्लीय वा क्षारीयमा बाली राम्रो हुँदैन। साधारणतया ६.० भन्दा कम पीएच भएको माटोमा कृषि चुन प्रयोग गरी सुधार गर्न सिफारिस गरिन्छ। कृषि चुन कति प्रयोग गर्ने भन्ने कुरा पीएच मान र माटोको किसिममा भर पर्ने विज्ञ बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।