काठमाडौँ : सरकारले २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त घोषणा गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठककै मितिको निर्णयअनुसार संकटग्रस्त पालिकाको संख्या ७१ पुर्याइएको हो।
हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् संकटग्रस्त पालिका ५९ भए पनि बढ्नसक्ने बताएका थिए।क्षतिको लेखाजोखा गर्न बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा बनेको समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ।
यो समितिले १/२ दिनमा सरकारलाई रिपोर्ट बुझाउने तयारीसमेत गरेको छ। प्रारम्भीक रिपोर्टअनुसार अस्तिकै मन्त्रिपरिषद् बैठकको निर्णयमा केही पालिका थपेर ७१ पुर्याइएको हो।
यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट करिब ५० अर्ब बराबरको आर्थिक क्षति भएको प्राधिकरणका प्रवक्ता डिजेन भट्टराईले जानकारी दिए।
शहरी विकास मन्त्रालयमातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न मात्रै करिब २ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। शहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ।
मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्याएको जानकारी दिए।
स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडकखण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षतिग्रस्त र ३२ झोलुङ्गे पुल पूरै ध्वस्त भएका छन्। यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न १ अर्ब ७७ करोड ४ लाख लागत अनुमान गरिएको छ।
बज्राचार्यले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिए।
गृह मन्त्रालयका विवरणअनुसार २ दिनको अविरल वर्षाले २४६ जनाको ज्यान लियो भने अझै १८ जना बेपत्ता छन्। प्राधिकरणका प्रवक्ता भट्टराईले भने विभिन्न निकायले मिलेर राहत र उद्धार गरिरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।