म्याग्दी : बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका- २ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाइरहेका छन्।
गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै गाउँभर सूचना पुर्याउन डाँडा उक्लिहाल्छन्। सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ। तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ।
उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउने जिम्मा उनकै हो। यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्याउने जिम्मा उनकै छ। म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ।
यसरी परम्परागत प्रथा जोगाउन भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ। बगरफाँटमा १९७ घरधुरी छन्। तीमध्ये बसाइँसराइका कारण कैयौँ घर खाली छन्। कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउँछन्। यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ। ‘बाबुबाजेले गर्दै आएको पेशा धान्न अरू काममा ध्यानै दिइएन। यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो। गाउँमा अन्य पेशा र विकल्प पनि भएनन्, तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन’, विकले भने।
कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ। विगत २० वर्षदेखि कटुवालको काम गर्दै आएका उनले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरिथरीका सूचना सुनाउँछन्। दशैँको वेला त झन् व्यस्तता बढ्छ। दसैँमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचना बस्तीसम्म पुर्याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ।
‘सुन हो गाउँले हो, दशैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस्।
कसैले रक्सी नखानुहोला। नबेच्नुहोला। रक्सी खाएर होहल्ला नगर्नुहोला।’
एकाबिहानै यस्तायस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उनको काम हो। सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दुःखका कुरा घरघरमा पुर्याउन थालेको पनि दुई दशक बितिसकेको छ। ज्यालामजदुरीसँगै उनले कटुवाल पेशालाई निरन्तरता दिँदै आएको बताए। ‘सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ, त्यहीँ खान्छु’, दिलबहादुरले भने, ‘केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु।’
गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए। ‘पीडाको पहाडले मलाई थिचेको छ। एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपाङ्गता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ। छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन। कहिलेकाहिँ त पेटभरी खाने अन्न पनि हुँदैन’, दिलबहादुरले दुःखेसो पोखे, ‘एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन। कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिँड्छु।’
गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने उनले सुनाए। ‘एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन। अरूले जस्तै राम्रो लाउने र मिठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन’, दिलबहादुरले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।