काठमाडौं : अन्य समयको तुलनामा प्रायः दशैँताका चिउराको महत्व बढी हुन्छ। दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ। चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन्। त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ। काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ।
भक्तपरले ताइचिन धानको चिउरा दशैँमा धेरै नै माग हुन्थ्यो। तर पछिल्लो समय ताइचिन धानको अभावका कारण विस्तारै माग कम भएको गुनासो भक्तपुरका व्यवसायीहरुले गरेका छन्। भक्तपुरका चिउरा व्यवसायी कृष्णप्रसाद बागजूले आफूले चिउरा मिल २०४६ सालदेखि सञ्चालन गर्दै आएको र स्थापना कालदेखि नै चिउरा उत्पादन गरिरहेको बताए।
तराईको चिउराले भक्तपुरको ताइचिन चिउरा विस्थापित हुँदै गएको उनको गुनासो छ। बजारमा पनि माग कम भएको गुनासो गरे। उनले विगतको तुलनामा हुनुपर्ने जति खपत अहिले नभएको बताए। दशैँमा ताइचिन चिउराको माग बढी हुने गरेको भए पनि यस वर्ष खासै माग नआएको बताए।
उनले भने, ‘यो मिल स्थापना भएको २०४६ साल चैत्र २६ गते हो। स्थापना कालदेखि हामीले ताइचिन चिउरा उत्पादन गरेका छौँ। चिउरा कुटेर बजारमा दिनुबाहेक हामीले स्थानीयहरुको धान पनि चिउरामा परिणत गरेर दिने गरेका छौँ। २०४६ सालदेखि अहिलेको अवस्थासम्म आइपुग्दा धरै उत्तारचढाव आएको छ। तराईको चिउराले गर्दा हाम्रो स्थानीय चिउरा विस्थापित भएको जस्तो अनुभव भएको छ। दशैँको मुखमा पनि ताइचिन चिउराको माग धेरै खपत हुन्थ्यो। अहिले आएर तराई ताइचिन भन्ने चिउराले गर्दा कम खपत भएको छ।’
उनका अनुसार ताइचिन चिउराको खपत कम हुनुमा पार्टी प्यालेसहरुमा भोज खुवाउने प्रचलन पनि एउटा कारण रहेको छ। ताइचिन धानको उत्पादनमा कमी र उपलब्धता नहुँदा भक्तपुरको ताइचिन चिउरा विबिस्तारै हराउँदै गएको बताए।
भक्तपुरको ताइचिन चिउराको उत्पादन, लागत र मूल्यको हिसावमा पनि पहिला र अहिले धेरै भिन्नता आएको उनले सुनाए। बागजूकाअनुसार पहिला सहज रुपमा धान पाउने भएकाले मूल्य कम पर्ने गरेको भए पनि अहिले धान पाउन मुस्किल बन्दै जाँदा चिउरा पनि बढी महँगो हुने गरेको बताए।
उहाँले भन्नुभयो, ‘ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्दो रहेछ। पहिला पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो, त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्थ्यो। अहिले त्यस्तो छैन। अहिले ताइचिन धानलाई सिधै पानीमा राख्छौँ। जाडोमा ४ दिनसम्म भिजाउँछौँ। गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर त्यो कुट्न योग्य हुन्छ। कराईमा भुटेर बनाउँछौँ। पहिला हातले आगो बाल्नु पर्दथ्यो, अहिले मेसिनले आफैँ भुट्छ। एक जनाले धान भुट्यो, अर्कोले चिउरा बनायो। त्यसरी सजिलो छ अहिले। प्राविधिक हिसावमा सजिलो भएको छ। यसको मौलिकता बचाउन ताइचिन धानकै उत्पादनमा बढी ध्यान दिनुपर्छ।’
ताइचिन चिउराको माग घटेका कारण चाडबाड आउँदा मात्रै चिउरा कुट्ने गरेको बताए। बागजूले पहिला चाडबाड आउँदा मात्रै नभई वर्ष दिन नै चल्ने मिल अहिले चाडवाडमा मात्रै सीमित हुने गरेको बताए।
उनले चिउरा अहिले चाडबाडमा मात्रै सीमित हुनु दुःखद रहेको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पार्टी प्यालेसहरुको डिनर खुवाउने प्रचलनले पनि ताइचिन चिउराको मागमा असर गरेको बताए। ताइचिन चिउराको माग बढाउनका लागि हाम्रो मौलिक भोज भतेर खुवाउने प्रचलनलाई कायम गर्न सक्नुपर्ने उनको सुझाव छ।
तराईको ताइचिनले भक्तपुरे चिउरा विस्थापित
भक्तपुरकै अर्का चिउरा व्यवसायी कृष्ण घरुको कुरा पनि बागजूको जस्तै छ। आफूले पिताको पालादेखि चिउरा मिल चलाएको र अहिले व्यवसायमा कमी आएको बताए। मागमा कमी आउनुमा पहिलो कारण ताइचिन धानको कमी रहेको बताए। उनले उत्पादन गर्ने ठाउँहरुमा घरहरु बन्दै जाँदा धान कम उत्पादन हुने र तराईको ताइचिन चिउराले स्थानीय ताइचिन चिउरालाई विस्थापन गरेको बताए।
अहिले भक्तपुरे ताइचिन चिउरा १७० मा प्रतिकेजी बेचिरहेको बताए। तराईको चिउरा सयमै पाउने भएकाले पनि माग कम भएको बताए। चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध बढी हुन आवश्यक रहेको बताए।
उनले भने, ‘बाको पालादेखि नै हो चिउरा व्यवसाय। अहिले बाले गर्न सक्नुहुन्न। अहिले धानको समस्या छ, कामदारको समस्या छ। त्यही भएर चिउरा मिल नै बन्द जस्तो छ। यो ताइचिन चिउरा बिस्थापित हुनुको पछाडि तराई ताइचिनको कारण हो। सुगर भएकाले खानु हुँदैन भन्छन्, त्यसैले पनि हो। भोजहरुमा पनि तराई ताइचिन नै हो। खेतहरु पनि कम भएर आएको छ। धान पनि कम छ। ताइचिन चिउरा १७० मा बेच्नुपर्छ। तराई ताइचिन सयमा पाउँछ। किलोको ७० जति फरक पर्छ। हामीले ताइचिन धान स्थानीय किसानको घरमै गएर लिने हो। चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध हुनुपर्छ। धान उपलब्ध भए काम गर्न सहज हुन्थ्यो। धान नै उपलब्ध छैन।’
भक्तपुर चानपा ७ का चिउरा व्यवसायी सीताराम काफ्ले भने बजारलाई चिउराको माग नै पूरा गर्न नसकिरहेको बताउछन्। २०६९ साउनबाट चिउरा व्यवसाय सञ्चालन गरेका उनले उद्योगबाट दैनिक ५ सय केजीका दरले उत्पादन गरिरहेको बताए।
आफूले काठमाडौं, भक्तपुर र स्थानीयमै सीमित बजार हुँदा पनि राम्रो बिक्री गरिरहेको बताए। चिउरा बनाउने धान पनौती, पाँचखाल, स्थानीय, चाँखु लगायतका स्थानबाट ल्याउने गरेको बताए। आफूले उत्पादन गरेको चिउरा स्टकमा राख्नु नपरेको बताए।
उनले कुनै पनि साल दशैँमा आफूले मागअनुसार चिउरा पुर्याउन नसकेको बताए। गत वर्षको तुलनामा यस वर्ष १० रुपैयाँ मूल्य बढेको भए पनि दशैँको अवसरमा आफूले पोहोरकै मूल्यमा विक्री गरिरहेको बताए।
उनले गत वर्ष ताइचिन चिउराको मूल्य १६० रहेको बताए। पछिल्लो एक हप्तामा एक हजार केजी चिउरा त स्थानीयहरुले नै किनेर लगेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।