मान्छे कसरी कवि बन्छ? उसको कविताको सुरुवाती विषय के होला? सहज उत्तर- मायाप्रेम। सरिता तिवारीको कवितायात्राको सुरुवात पनि यस्तै छ, 'सुरुमा कविता लेख्दा जसलाई पनि प्रभावित पार्ने विषय प्रकृति, माया र प्रेम अनि जीवनका भावुक पक्षहरु नै हुन् मान्छेलाई कवि बनाउने।'
सरिताले सुरुवाती चरणमा उमेर र प्रकृतिले उमार्ने भावना- मायाप्रेम बारे कविता लेखिन्। त्यस्तै कविता समेटिएका छन्, कविता संग्रह 'बुद्ध र लाभाहरु', 'अस्तित्वको घोषणापत्र' अनि 'प्रश्नहरुको कारखाना' मा।
उनका कविता लेखनका खजना र विम्ब बने हजुरआमा र आमाले बिहान-बिहानै पूजा गर्ने कोठा र मन्दिरका भित्तामा टाँसिएका दुर्गा, काली, लक्ष्मी, सरस्वती, पार्वती, सीताका पोस्टर। सरितामा कवित्व प्रदान गरे ती नारीदेवीबारे रचिएका वीरत्वले भरिएका गाथाले पनि।
सरितामा चेतना जाग्दै गएपछि फोटाका देवी र तिनलाई पुज्ने-ढोग्ने महिलामा आकाश पातालको फरक देखिन्। कहाँ दर्जनौं हातमा हतियार लिएकी शक्तिशाली दुर्गा, अशुर वध गर्ने काली, सबैकी पुजनीय र शिक्षाकी देवी सरस्वती, र कहाँ दाइजो नल्याएको निहुँमा जिउँदै जल्नुपर्ने, सन्तान नपाएको निहुँमा सौता खेप्नुपर्ने, आफ्नै परिवारका सदस्यबाट बलात्कृत हुनुपर्ने, अनि निरक्षर आजका महिलाहरु। यिनै विषयले सरितालाई कवितामा समाज वास्तविकतालाई विम्ब बनाउनुपर्छ भन्ने लाग्यो। अनि उनले 'हे देवी' जस्ता शक्तिशाली कविता लेखिन्।
कविताको सापेक्षता
शब्द शिल्पीको सुन्दर सिर्जना हो कविता। धेरैले आनन्द प्राप्तिका लागि कविता लेख्छन्। तर कस्ता कविता लेखेर आनन्द प्राप्त हुन्छ भन्नेमा व्यक्तिपिच्छे विविधता छ।
आनन्द प्राप्त गर्न लेख्नेको भीडमा सामेल छन् चितवनकी कवि- सरिता। उनका लागि आनन्द सापेक्षित हुन्छ, न कि निरपेक्ष। 'कसैलाई भोको मान्छेले टन्न खाना पाएको देख्दा आनन्द हुन्छ, कसैलाई सुन्दर युवतीको अंग प्रदर्शनसहितको र्याम्पले आनन्द मिल्छ! त्यो सम्बन्धित मान्छेको आनन्दको सापेक्षतामा भर पर्छ।'
सरिताका लागि कविता त्यो आनन्द हो जसले भोको पेट भएकोले पेटभरी खान पाओस्, पीडितले न्याय पाओस्, अधिकारबाट वञ्चितलाई अधिकार मिलोस्, बन्धन र उत्पीडनमा परेकालाई मुक्ति मिलोस् अनि आवाज विहीनका आवाज कविताले बोलोस्।
'हामी भाडाका नागरिक उत्पादन गर्ने देशका नागरिक हौं। यस्तो अवस्थामा कला साहित्यलाई विशुद्ध सौन्दर्यको विषय बनाउने कि सामाजिक जीवनका एजेन्डाहरुलाई बोकेर समाजलाई जागरुक र सुसूचित गर्ने माध्यम बनाउने?' कवितालाई सौन्दर्यको विषय मात्र देख्नेलाई सरिताको प्रश्न। कविताले समाजमा चेतना फैलाउन र सुन्दर भविष्यमा लैजान पहकदमी लिन सक्छ, जसलाई उनी कविताको सापेक्षता हो भन्न रुचाउँछिन्।
राजनीतिक कवि हुनुको कारण
सरिताको परिवारमा राजनीति घुस्नु नै उनका कवितामा राजनीतिक विचार घुस्नुको कारक बन्यो। दाइ र दिदी विद्यार्थी राजनीतिमा सक्रिय थिए जसको असर बहिनी सरिता र उनका सिर्जनामा पनि पर्यो।
जीवन शर्मा, जेवी टुहुरे, खुशीराम पाख्रिनका गीतहरुले उनमा राजनीतिक चेत भरे। राजनीतिक चेत पनि त्यो वर्गको भरियो जो सदियौंदेखि राज्यको दलनमा परेको थियो। उनलाई लाग्यो कविताले सामाजिक सांस्कृतिक चेत बोक्नुपर्छ। उनलाई सिकाइयो 'कवितामा सामाजिक सांस्कृतिक चेत हुन्छ।'
कविता सौन्दर्यको वस्तुमात्र होइन यो त वौद्धिक अन्तर्क्रिया हो, सरितालाई यस्तै लाग्छ। उनको स्कुलिङले त विचार भर्यो नै थप के भयो भने तत्कालिन समयमा कविता मार्फत विचार प्रवाह गर्नेलाई भौतिकरुपमा नै सफाया गरिँदै थियो, त्यो पनि राज्यबाटै। अनि उनलाई यसका विरुद्ध कविता लेख्न र रिस्क मोल्न थप उर्जा मिल्यो।
लेखेकै आधारमा स्पेनी कवि फ्रेड्रिको गार्सिया लोर्का, भारतका अवतार सिंह पास्ती, नेपालका कृष्णलाल अधिकारी र कृष्ण सेन इच्छुक मारिए। उनी भन्छिन् 'उनीहरुको गल्ती एउटै थियो कवितामा राजनीतिक चेत भर्नु।' उनीहरुले कवितामा सौन्दर्यका कुरा गरेको भए सायद जिउँदा पनि हुन सक्थे। यिनै घटनाले उनमा लेखनमा राजनीतिक चेत हुनैपर्ने र उत्पीडन विरुद्ध लेख्न प्रेरित गर्यो।
सरितालाई सानाका दौतरी दाइ दिदीको राजनीतिक संलग्नता, जनवादी गीत र सात समुद्र पारीदेखि नेपाली भूमिमै कवितामा राजनीतिक विषय लेखेकै कारणले मारिएका कविका रगतले राजनीतिक कवि बनायो।
'प्रश्नहरुको कारखाना' पछि प्रश्नको ताँती
सार्वजनिक व्यक्ति भएपछि सरिताको व्यक्तिगत जीवनबारे पनि प्रश्न गरिन थाले। उनको चितवनमा दुई तलाको घर छ। आफू मेडिकल कलेजमा अध्यापन गर्छिन्। उनका श्रीमान पनि शिक्षण पेशामै छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक फोरमसम्ममा उनलाई यसैसँग जोडिएका व्यक्तिगत प्रश्नले पछ्याइरहे।
'झुपडीका कविता लेख्नेको दुईतले घर कसरी भयो? गरिबका कविता लेख्ने धनी कवि रैछौ?' यस्ता प्रश्नका उत्तर के फर्काउँछिन् त उनी? 'हाम्रो पनि चासोको विषय थियो। म यस्ता प्रश्नलाई खासै महत्व दिन्न' उनले भनिन्।
जवाफै दिनपरे? 'कविताले बोलेका तथ्य नबुझिकन व्यक्तिगत जीवनसँग बोल्छ भने उसले मेरो जीवनको संघर्षबारे बुझ्नुपर्छ। कविको झुपडीसँग लगाव बुझ्नुपर्छ। लेखकले कति इमानदारी साथ समाज बुझेको छ र लेखनमा ल्याएको भन्ने महत्वपूर्ण हो। म गरिबको कविता लेख्छु भनेर म पनि गरिब भएर बस्न त मिल्दैन नि। गरिबहरुका बारे कसै न कसैले त लेख्नै पर्यो। उनीहरु आफै त हातमुख जोरुन् कि कविता लेखुन् वा आफ्ना कुरा राखुन्', सरिता तर्क गर्छिन्।
अनि प्रश्न गर्नेहरु आधा कविता पढेर पनि प्रश्न गर्छन्! जस्तो उनको 'हे देवी' कवितालाई लिएर उनले स्वीकार गरेको विचार जसमा देवी देवताको अस्तित्व हुन्न भन्ने छ र कवितामा देवीलाई गरेको पुकार जोडेर प्रश्न गरिन्छन्।
त्यसमा उनको जवाफ छ 'पाठक 'हे देवी' कविताको संरचनाभित्र कम पसेका छन् 'देवी' भन्ने शब्दमा बढी अल्मलिएर। देवी निराकार वस्तु हैन। देवी भनेका अहिलेको विश्वका करोडौं महिला हुन्। मैले कवितामा महिलालाई समाजका महिषाशुरलाई खत्तम गर्ने देवी बन्न आग्रह गरेकी छु। यो कुनै अमूक देवीबारेको कुरा हैन यो त अहिले बाँचिरहेका देवी अर्थात् वा महिलालाई गरेको संकेत हो' प्रश्नका उत्तर पनि दिन्छन् नै उनी तर, प्रश्नका लागि मात्रै प्रश्न गर्नेलाई त के नै पो भन्न सकिन्छ र!
'के तिमीले मलाई आविष्कार गर्यौ?'
चिनजानकै मान्छेले भनेछन्, 'सरिता तिवारीलाई हामीले कवि बनाएको हो।' हावा चल्यो पात हल्यो… भने झैं उक्त कुरा सरिताका कानसम्म पुग्यो। जसले उनका मनमा धेरैकुरा खेल्यो। उनले आफैलाई प्रश्न गर्न र खोज्न थालिन् 'म को हो? मलाई कल्ले बनायो?' र ती प्रश्नका उत्तर दिन थालिन् मनमनै 'मलाई मेरो आमाको डिम्ब र बाबाको सुक्रकिटले बनायो। अनि जन्म भयो, पछि चेतना थपिदै गए। चेतना थप्नेमा खुशीराम पाख्रिन र जेवी टुहुरेका गीत थीए। चेत थप्नेमै मोदनाथ प्रश्रितका साहित्यिक प्रशिक्षण र सामाजिक संरचना थियो।'
उनका मनमा खेल्न थाल्यो 'स्वास्नी मान्छेले अरुलाई बनाउँछ कि उसलाई कसैले बनाउँछ?' उनले यlनै भावनालाई केहि पंक्तिमा लेखिन् र रोकिइन्। जसलाई पूरा रुप दिन डेढ वर्ष लाग्यो। उनको सबभन्दा बढी सोचेर लेखिएको कविता यही हो। उनले अन्तत एक महिलाको निर्मिती के हो? भन्ने विषयमा कविता लेख्न सफल भइन्। जुन कविताको शीर्षक बन्यो 'के तिमीले मलाई आविष्कार गर्यौ?'
यो हावा कसको हो?
यो माटो र पानी कसको हो?
कसका हुन् इतिहास, धर्म र कला?
कसका हुन् विचार, शब्द र लय?
को हो श्रृष्टिको उत्तराधिकारी?
को हुँ म?
…
केवल तिमीले प्रदर्शनीमा राखेको निर्जीव निर्विवेक निस्पृह पुतली,
जन्मजात मैले लिएर आएको छु मैले नैसर्गिक अनुहार,
म दिन्न कसैलाई आविस्कारको मोहर लगाएर,
नृसंम्सतापूर्वक आफ्नो अनुहारमाथि आसन गरिरहन।
यी पंक्तिहरुले डेढ वर्षसम्म उनको माथिंगलमा घनले ठोकेजसरी ठोकिरह्यो। उनले अहिले नै कविता लेखेर सकेकी हुन् कि झैँ गरी लामो सास फेरेर भनिन्, 'यो कविता लेखिसकेपछि मैले केही लेख्न सके भन्ने लाग्यो।'
कवितामा माया र प्रकृति
'माया प्रेम जति लेखेपनि नसकिने विषय हो।' माया प्रेमका कविता नलेखेर किन अधिकारका कुरा कवितामा लेख्यौ भन्नेलाई सरिताको सरल जवाफ। तर सामाजिक रुपमा पछि परेका र पारिएकाका कविता विरलै मात्र लेखिने गरेका छन्। त्यसैले पनि उनी पछिल्लो समय सामाजिक चेतनाका कविता लेखनमा बढी जोड दिन्छिन्।
उनको लेखनको प्राथमिकतामा सामाजिक र सांस्कृतिक जीवनका मुद्दाहरु बढी जोडिन्छन्। प्रश्नहरुको कारखानामा उनले सामाजिक रुपमा पछि पारिएका वर्ग, धर्म, समुदाय, लिंगका विषय लेखेकी छन्। कविताका विम्बमा यिनै छेउमा पारिएका दुखित र मौन दैनिकीलाई लिएर उनीहरुलाई विद्रोह गर्न आह्वान गरेकी छन्।
मानव जीवनलाई आकर्षक रुपमा प्रकृति र मायासित जोड्न सकिन्छ। यसका लागि सिर्जनात्मक रुपमा ल्याउनुपर्छ। साथै प्रकृतिका सुन्दरताको मात्रै हैन यसका विद्रुपता र भयावहका कुरा पनि ल्याउनुपर्छ।
उनी भन्छिन् 'विनोदविक्रम केसीको 'पहिरो' कवितामा पहिरोलाई झरनाजसरी हैन, पहिरो जसरी नै हेर्नुपर्दछ भन्ने सुन्दर कविता लेखेका छन्। प्रकृतिका सुन्दर र विद्रुप दुइटै पक्ष लिएर सिर्जनात्मक रुपले लेख्नुपर्छ।'
प्रश्नहरुको कारखाना र मदन पुरस्कार
सरिताको पछिल्लो कविता संग्रह 'प्रश्नहरुको कारखाना' मा नेपालको पछिल्लो राजनीतिक परिवर्तन र यसले स्थापित गर्न खोजेका मुद्भाहरुले समाजमा पारेका प्रभावको वर्णन गरेको छ। सरिता भन्छिन्, 'यो संग्रह राजनीतिक परिवर्तनसँगको लगाव र समर्थन अनि प्रतिपक्षका कविताको संग्रह हो।' उनकै शब्दमा यी कवितामा प्राण र विचार छ। जसले यो कविता कृतिलाई पूर्ण व्यक्तित्व बनाएको छ। जुन मदन पुरस्कार २०७२ को सर्टलिस्टमा परेको छ।
यसमा उनलाई हर्ष न विस्मात !
भन्छिन्, 'मदन पुरस्कारले पुरस्कृत गर्दा मात्र सर्वस्वीकृत हुने र नगर्दा अस्वीकार्य हुने भन्ने मलाई लाग्दैन। नेपालका कति धेरै राम्रा कविहरुलाई मदन पुरस्कार दिइएको छैन। सरितालाई थाहा छ विमल निभा, वानिरा गिरी, कुन्ता शर्मा, श्यामल, भुपाल राई, आहुतिलाई कुनै पुरस्कार नदिँदा पनि पढिएकै छन्।
मदन पुरस्कारले कवितालाई उपेक्षा गरेर हो कि के गरेर हो कवितालाई कम पुरस्कृत गरिएको उनको धारणा छ। यसपालीको छनोटले उनलाई मदन पुरस्कारले कवितालाई सम्मान गरेको लागेको छ। जसले उनलाई खुसी बनाएको छ।
यो छनोटलाई मुद्दाको स्वीकारोक्ति मानेकी छन्। सरिता भन्छिन् 'मलाई प्रगतिशील धारको कविता छनोटमा पर्दा नै आश्चर्य लागेको छ। यो हाम्रो लेख्दै गरेको मुद्दाको स्वीकारोक्ति हो।' उनलाई अब के होला भन्नेमा खासै चासो छैन। 'मैले प्रतिस्पर्धाको रुपमा लिएको छैन। कविता पुरस्कृत हुँदा खुसी नै होला तर नभए पनि मेरो भएन भनेर असन्तुष्टि रहने छैन' उनी भन्छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।