बनियानी : झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ।
जिल्लाका विभिन्न स्थानबाट ९ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट ४, बिर्तामोड नगरपालिकाबाट २, कनकाई नगरपालिकाबाट २ र शिवसताक्षी नगरपालिकाबाट २ जनाको उद्धार गरिएको हो।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा शुरु भएको हो। उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवा केन्द्रमा राखिएको छ।
मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताए।
“यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो”, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।