काठमाडौँ : प्रहरी नारा छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल साहित्यकार घनबहादुर थापा नेपाल प्रहरीद्वारा पुरस्कृत भएका छन्।
६९औँ प्रहरी दिवस २०८१ का अवसरमा मंगलवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजिपी) वसन्तबहादुर कुँवरले थापालाई २० हजार नगदसहित कदरपत्रबाट सम्मान प्रदान गरे।
नेपाल प्रहरीले आफ्नो ६९औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित खुल्ला देशव्यापी प्रहरी नारा छनोट प्रतियोगिता आयोजना गरेको थियो।
जसअन्तर्गत साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका र नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भूमिका गरी दुई विषयसँग सम्बन्धित रहेर दुईवटा अलगअलग नारा लेखिएको हुनुपर्ने थियो।
नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी प्रहरी नारा रचना गरिएको भन्दै थापाका दुवै विषयका दुवै नारा प्रथम भएका हुन्।
सर्वोत्कृष्ट प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौँ निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ रहेका छन्।
साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भएका छन्।
उनका एकल तथा संयुक्त गरी छ वटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन्। उनको 'तिमीलाई नै' गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भइसकेको छ।
सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट भएका प्रहरी कर्मचारी र सहयोगीहरूलाई समेत सम्मान गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।