|

विराटनगर : विचारको लडाइँमा एक्लै उभिनु त्यति सहज पक्कै हुँदैन तर विचारलाई अभियानमा ढालेर निरन्तर अघि बढाइरहनु महत्वपूर्ण पाटो हो।

घरबाट निस्किएको फोहोर व्यवस्थापन र कौसी खेतीको अभियानमा होमिएकी विराटनगर-११ की मधु राई आफ्ना विचारहरु लेखमार्फत पनि पोख्ने गर्छिन्।

सामाजिक विषयमा कलम चलाउँदै आइरहेकी मधु पेशाले शिक्षिका हुन्। घरैमा विद्यालय सञ्चालन गरेकी उनले  विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा पनि दिँदै आइरहेकी छिन्।

वातावरण प्रदूषणले गाँजेको शहरमा वातावरण संरक्षण अभियानमा लागेकी उनले मनै लोभ्याउने कौसी खेतीमात्र गरेकी छैनन्‚ आफ्नो घर र विद्यालयबाट निस्कने फोहोर पनि आफ्नै ढंगले व्यवस्थापन गर्दै आइरहेकी छिन्।

विषादीमुक्त तरकारी खानुपर्छ भन्ने विचारले एउटा अभियानको जन्म भएको बताउने उनी आफू बसेको छिमेकमा आफैँले सिकाएका धेरै जनाले कौसी खेती गर्न शुरु गरेको बताउँछिन्।

भान्साबाट निस्किने फोहोर बन्छ मल

भान्साबाट निस्किएको फोहोर उनी न प्लाष्टिकको पोका बनाएर नहरमा फाल्छिन् न महानगरको गाडीमा नै हाल्छिन्। फोहोर व्यवस्थापनका लागि उनले भान्सामा दुई प्रकारको फोहोर फाल्ने भाँडा राख्ने गरेको सुनाउँछिन्। 

‘मेरो भान्सामा दुईवटा बाल्टिन राख्ने गरेकी छु। एउटा पाकेको र अर्को काँचो ,’ उनी भन्छिन्, ‘पाकेकोमा पाकेको खानेकुरा र काँचोमा सब्जीका बोक्रा फलफूलका बोक्रा कलेक्सन गर्ने गरेकी छु।’ 

पाकेको फोहोरलाई माटोमा मिसाएर मलिलो माटो बनाएर बोटबिरुवामा हाल्ने गरेको र  हरियो फोहोर ‘डाइरेक्ट’ बोटबिरुवामा हाल्ने गरेको उनी सुनाउँछिन्। घरबाट निस्किने फोहोर व्यवस्थापन गर्न सके वातावरण प्रदूषण हुनबाट जोगिने उनको बुझाई छ।

भातभान्साबाट निस्किने फोहोर सदुपयोग गर्न नसके आसपासको वातावरण फोहोर हुन्छ तर यसको सदुपयोग कौसी खेतीमा नै हुने गर्दा लाभ दुवैतर्फ हुने उनी बताउँछिन्।

यो प्रविधिका विषयमा तीनै तहको सरकारले चासो राखे वातावरण पनि जोगाउन सकिने र अर्गानिक सब्जी उपभोग गर्न सकिने उनको भनाई छ।

कौसी बाँझो नराखौँ भन्ने अभियानमा लागेकी उनी घरको फोहोर मल बनाएर त्यही कौसी खेतीमा प्रयोग गर्दा वातावरण प्रदूषण हुनबाट पनि जोगिने तर्क राख्छिन्।

पुस्तकबिनाको शुक्रवार

विद्यालयबाट निस्किने कागजसमेत उनले हप्तामा एकदिन विद्यार्थीहरुलाई प्रयोगशालाको रुपमा सिक्न दिने गरेकी छिन्। विद्यालयबाट निस्किएको कागजहरु पानी प्रयोग गरेर कलमदानी बनाउने गरेको उनको भनाई छ। 

यसले विद्यार्थीहरुका लागि पनि सिकाइको विषय हुने र विद्यालय पनि वातावरणमैत्री हुने उनी बताउँछिन्। कपिको पानाबाट बनेको कलमदानी पेन्सिलहरु राख्न प्रयोग गर्न सकिने उनको भनाई छ।

त्यसो त उनले पेन्सिलबाट निस्किएको फोहोरलाई कपिको पानामा सुन्दर फूलको आकार दिएर ‘आर्ट ’ गर्न विद्यार्थीहरुलाई सिकाउँदै आइरहेकी छिन्। शिक्षा केवल पुस्तकको मात्रै नभएर व्यावहारिक पनि हुनुपर्नेमा जोड दिने उनी यो अभियान एकदिन सफल हुनेमा ढुक्क रहेको बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.