काठमाडौँ : प्रमुख राजनीतिक दलसहित विराटनगरका ५० वटा संघसंस्थाले काठमाडौँको पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिलाई नै दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुलीको नेतृत्वमा बिहीवार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो।
८४ वर्षदेखि काठमाडौँको गौशालास्थित पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले सञ्चालन गरिरहेको दावी गर्दै ती संघसंस्थाले पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाले असोज २३ गते धर्मशाला खाली गराउन आक्रमण गरेको आरोप लगाएका छन्।
काठमाडौँ महानगरपालिकाको उक्त कदमप्रति प्रमुख राजनीतिक दलहरुसहित ५० वटै संघसंस्थाले खेदसमेत व्यक्त गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली, कांग्रेस विराटनगर महानगर समिति सभापति दिपक चापागाईं‚ नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मोरङका अध्यक्ष मो. कादिर, नेता उमेश यादव, सागर थापा, कांग्रेस युवा नेता कृष्ण कार्कीसहित ५० वटा संघसंस्थाका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।
काठमाडौँ जिल्ला अदालतको निर्णय पूर्वाग्रही रहेकोले पुनरावेदन अदालतको निर्णय नआउन्जेलसम्म पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिलाई नै सञ्चालन गर्न दिनुपर्ने माग उनीहरुले गरेका छन्।
श्री हरिसत्संग समिति नेपालका अध्यक्ष भिखमचन्द सरल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य गोपाल अग्रवाल, माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी एवं समाजसेवी घनश्याम काबरा, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, लक्ष्मी नारायण मन्दिर विराटनगरका तर्फबाट स्वामी रामानुज नेपाल, विश्व हिन्दु परिषद् नेपाल कोशी प्रदेशको तर्फबाट महेन्द्र साह, अतिथि सदन विराटनगरका अध्यक्ष सुधिर तोदी, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, बासुकिनाथ धाम विराटनगरका अध्यक्ष तुलसी गोयल, वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, पुनम गुप्ता, पशुपति नेपाललगायतले ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।