ललितपुर : गोदावरी नगरपालिका-५ महतगाउँका हरिशरण महत घाइते एउटा खुट्टाको भरमा आफ्नी श्रीमती सबिता महतको किरिया सकेर बसिरहेका छन्। उनको दायाँ खुट्टामा किलाले गोपेको घाउ पुरिएको छैन।
वेलावेलामा सुन्निएको खुट्टाबाट पीप झर्छ, पुछ्दै बल्लबल्ल गरी ढिकुराको दश दिनको काम र अन्य संस्कार उनले पूरा गरे।
करिब ४० मिटर तल भाइको घरमा आश्रय लिइरहेका उनी १३ महिने छोरा र ९ वर्षकी छोरीसँगै भत्किएको आफ्नो घर र ज्यान गुमाएकी पत्निलाई खोजिरहेका हुन्छन्। किला तलबाट छेडेर माथिबाट निस्किएको थियो, सबितालाई बचाउन खोज्दा उनलाई त्यो खुट्टाको चोट अनुभूत भएन।
उनको घर हेर्दाहेर्दै असोज १२ गते विहान आएको पहिरोले ध्वस्त बनाइदियो। लेदो माटो र माथिबाट आएका ठूलाठूला रुखका मुढाले घर मात्रै नभएर उनकी जिवनसंगिनी ३८ वर्षकी सविता महतलाई पनि चुँडेर लग्यो।
विहान साढे ४ बजेर उठेर नुहाएर एकादशीको व्रत बस्ने तयारीमा रहेकी सवितालाई अविरल पानी परे पनि आफ्नो नित्य काममा कुनै असर परेन। विहानै घरको दैलो पोतेर बाख्रालाई पानी दिने काम उनले भ्याइसकेकी थिइन्।
अघिल्लो दिन जीउ दुखेर हल्का ज्वरोसमेत आएका आफ्ना पतिलाई विहान आफू उठे पनि उनलाई उठाइनन्। पानी निरन्तर परिरहँदा घरमाथिबाट भल बढ्दै आइरहेको थियो। हरिले भने, 'म विहान साढे ५ बजेतिर उठेर चिया खाएँ अनि घर वरपर हेर्न गएँ। माथिबाट पहिरो खस्न थालेपछि सानो बच्चा र बाख्राहरूलाई तल्लो घरमा सबिता र मेरो भाइले लगेका थिए। ९ वर्षकी ठूलो छोरी गाउँतिर पानी परेको हेर्न गइएकी थिइन्।'
'म घरको छेउमै थिएँ, सबिता घर भित्र पसिन्। त्यहीबेला लेदो र ढुङ्गा मुढासहितको पहिरोले घर लडायो। वरपर भागाभाग भयो। भाइले लौन भाउजु घरभित्र किचिनुभयो भनेर चिच्यायो। म र भाइ दौडिँदै पुग्दा उनी पुरिएकी थिइन्। विस्तारै पन्छाउँदै हामीले हात समातेर उनलाई निकाल्दै थियौँ, त्यही वेला फेरि ठूलो पहिरो आयो। उद्धारमा खटिने अरु ४ जना थप भएको भए, यो बज्रपात हामीलाई पर्ने थिएन', उनले घटना सुनाए।
फेरि पहिरो आएपछि हामी त्यहाँबाट भाग्न बाध्य भयौँ, अलि कम भएपछि मैले खोतल्ने प्रयास गरेँ। भित्रबाट सबिता मलाइ बचाउनुहोस्, मलाइ कम्मर मुनि थिचेको छ, निकाल्नुहोस् भनेर चिच्याइरहिन्।
घरको दलिन ढलेर उनलाई किचेको थियो। त्यो काठ पन्छाउन प्रयास गरे पनि हामीले सकेनौँ। तल्लो महतगाउँ र माथिल्लो महतगाउँका केही युवाको सहयोगमा करिब ४ घण्टाको अथक प्रयासपछि उनलाई निकालिए पनि उनको अवस्था शिथिल भएको थियो। पुरिएको स्थानबाट निकाल्ने वेला सबिताले अब म बाँच्दिन होला, फुच्चीको बाबा छोराछोरीको हेरचाह गर्नु र मेरो शरीरलाई पशुपतिमा लगेर जलाइदिनु भनेकी थिइन्।
सबैतिर भेल, पहिरो अनि अविरल वर्षाले गर्दा बाटो अवरुद्ध थियो। स्टेचरमा राखेर चन्दनपुर जाने लेलेको मूल बाटोसम्म पुर्याइयो। त्यहाँबाट साझा बसमा पिआइए पार्कसम्म र फेरि त्यहाँबाट स्टेचरमै राखेर कठिनका साथ आनन्दवन अस्पतालमा पुर्याइयो। अस्पताल नजिकै पुग्दा नै सविताको प्राण गइसकेको थियो। अस्पतालमा जाने त्यो उकालो बाटोमा पनि ठाउँठाउँमा पहिरो खसेको थियो।
हरिले सबिताको शवलाई चारैतिर बाटो अवरुद्ध हुँदा पशुपतिमै लगेर दाहसंस्कार गर्न सकेनन्। तर सविताको अन्तिम इच्छालाई मूर्तरुप दिन सबिताको जलेको खरानीलाई पशुपतिमा लगेर बगाइ दिए। 'अब २ जना बालबच्चालाई राम्रोसँग स्याहार्नुपर्छ, मैले उनीहरूको आमाले दिएको माया दिनु छ , जस्तोसुकै बज्रपात परे पनि सहनुपर्ने रहेछ', उनले गहभरी आँशु पार्दै भने', 'दुख भूलेर शोकलाई शक्तिमा बदल्नुछ, तैपनि मनले भनिरहन्छ कि, यो घर त ढलेर केही थिएन सबिता चाहिँ बाँचेको भए हुन्थ्यो।'
करिब २ वर्ष अघि उनका बुबाको क्यान्सरबाट मृत्यु भएको थियो। क्यान्सरले केही महिना थलिएका बुबालाई उनै सबिताले स्याहार गरेकी थिइन्। छिमेकी शिवशरण महत, तीलाराम महत र बेलबहादुर महतले मेहनती र सहयोगी बुहारी गुमाएको बताए।
'घटना हुने दिन पनि विहानै बुबा भनेर बोलाएकी थिइन्', बेलबहादुरले भने , 'मैले किन यति चाँडै नुहाएर बस्यौँ भन्दा उनले आफ्नो एकादशीको व्रत भनेकी थिइन्। म पनि बाख्रालाई खोले खुवाएर हर्लिक्स खान थालेँ त्यत्तिकैमा लौ घर ढल्यो, सबिता पुरिइन् भन्ने सुनेँ।
ज्यान गुमाएकी सबिताको १३ महिनाको छोरो आफ्नी आमा खोजिरहेको छ भने छोरी हर्षिका महत पनि मुखले आफ्नी ममीको कुरा नगरे पनि व्यवहारले खोजिरहेकी छिन्। हरिले भने, 'म कमाइ त गर्न सक्छु तर साना बच्चालाई सबिता फर्काउन सक्दिन।'
बुबा र दाइलाई बोलाइरहे, उहाँहरू आउनुभएन
गोदावरी नगरपालिका वडा नम्बर ६ का सौगात थापालाई पनि त्यस्तै बज्रपात पर्यो। उनले आफ्ना बुबा प्रह्लाद थापा र आफ्ना दाइ सुमन थापालाई गुमाए। गत असोज १२ गते शनिवार विहानको अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले सौगातको सपना सबै उजाडियो।
न घर नै रह्यो न त परिवारका २ सदस्य। आफूलाई माया गर्ने बुबा र दाईलाई सदाका लागि यो संसारबाट गुमाउनुपर्यो। दशैँमा बेच्न भनेर राखेका ३ वटा खसी , दुध दिने गाई त्यसको बाच्छो र घरमै पालेको बिरालो समेतले पहिरोमा पुरिएर ज्यान गुमाए।
शुक्रवार दिनभर पानी पर्दा सौगात कतै गएका थिएनन्। घरमै सुतिरहे। त्यो दिन साँझ खाना खान मन नभए पनि श्रीमती आशाको आग्रहमा उनले भात भुटेर खाएका थिए। रातभर घरमाथिबाट आइरहेको पानीको भलले त्रसित बनाइरहेको थियो।
राति ११ बजेतिरै माथिल्लो नरहरी थापाको घरका परिवार नै संभावित जोखिमलाई ध्यानमा राखेर पल्लो पाखोमा रहेको टहरोमा आगो बालेर बसे। नरहरिसँगै उनका छोरा राजेन्द्र, राजेन्द्रकी श्रीमती र उनका भाइ र श्रीमती तथा अरु ३ जना बच्चाहरू घरमाथिबाट पहिरो आउने डरले राति नै घर छाडेर हिँडेका थिए।
'मैले सबैतिर हल्ला खल्ला गरेँ, तल्लो घरतिर पनि अब सर्तकता अपनाएर बस्नुपर्छ भनेको थिएँ, राजेन्द्रले भने', छटपटी भइरह्यो, अनि हामी सबैले घर छाडेर पल्लो पाखोमा बस्न गयौँ, विहानीपख डङ्डङ आवाजसहित पहिरो खस्न थाल्यो।'
बुबा र दाइको काजकिरिया भर्खरै सकेका सौगात भन्छन्, 'घटना हुँदा अलिअलि उज्यालो भएको छ, मेरो विचारमा साढे ४ जति बजेको होला। राति घरमै सुते पनि विहानको ३ बजेतिर बुबा र दाइले बोलाएपछि सौगात, उनकी पत्नी आशा र २ छोरी टहरामा गएर बसे।'
सुरुमा प्रह्यलाद थापा र सुमन थापा घर अब खतरामा छ भन्ने भएपछि अलि परको छाप्रो भएको टहरोमा पुगे पनि कान्छो छोराको परिवार नआएपछि उनीहररु फेरि घरतर्फ पुगे।
घरमा माथिबाट अलिअलि लेदो माटो झर्दै गरेको थियो। यताउती कहिले आँगनमा, कहिले गोठ भएतिर आउने जाने गर्दै थिए। त्यो घरमुनि पाइप बनाउने एउटा कम्पनी पनि थियो। त्यहाँ कार्यरत केही मजदुर पनि प्रह्यलादकै घर नजिकै थिए। उज्यालो राम्रो नभएकाले कताबाट पहिरो खसिरहेको छ, त्यो स्पष्ट देखिएको थिएन।
बाबु-छोरा रनभुल्ल परिरहँदा बुहारी आशाले पनि सँगैको टहरामा २ वटाबच्चालाई च्यापेर बसिरहेकी थिइन्। बुबा र दाइ त्यही ट्वाइलेटनेर थिए। गरल्याम्म पानी भरिएको लेदो माटो र रुख बगाएर आउँदा को कहाँ छ भन्ने पत्तो लागेन।
आशा र उनकी २ छोरीलाई टहरो फोडेर निकालिएको थियो। 'मैले धेरैबेर बोलाएँ बुबा र दाइलाई, कराएँ, चिच्चाएँ उहाँहरूले कुनै प्रतिक्रिया दिनुभएन। माथिबाट पहिरो खसिरहेको थियो, मलाई पनि ढलेको घर र पहिराले पुर्नै आँटेको थियो', आशाले भनिन्।
उनका हात, खुट्टा र जीउभरी काटेका, दरफराएका र घोपेका चिन्हहरू थिए। बुबा र दाइलाई पहिरोले पुरिएको पक्का भए पनि प्रकृतिको अगाडि उनीहरूको केही लागेन। माथि अलिकति सुरक्षित पाखोमा पुगे पनि त्यहाँ बसेर बोलाउनु र टोलाएर हेरिरहनु शिवाय अरु कुनै विकल्प देखिएन।
पानी परिरहेको थियो । जताततै भेल थियो पहिरो कहाँ आउँछ टुङ्गो थिएन। अलिक उज्यालो भएपछि फैडोलमा आफ्ना काका साधुराम थापाको घरमा गयौँ। दाजु र बुबाको कुनै पत्तो भएन। शनिवार दिउँसो पानी कम भएपछि खोजी कार्य सुरु भयो तर पत्तो लागेन। पुरिएको पर्सीपल्ट भत्किएको गोठको छेउमै मल थुपारेको ठाउँ नजिकै दुवै जनाको शव भेटियो। त्यही नजिकै ५ वटा खसी , गाई र बाच्छो अनि एउटा विरालो पनि पुरिएको अवस्थामा फेला पारियो।
'घर त जसोतसो बनाउँला तर मेरो गुमेको बुबा र दाजुलाई त फिर्ता ल्याउन सक्दिन, जिन्दगी भरी अब मलाई यही कुराले पिरोलिरहने छ', सौगातले भने, '४ वर्षअघि आमाको क्यान्सरले मृत्यु भएपछि घरमा दशा सुरु भयो, त्यही वर्ष हजुरबुबाले पनि सन्सार छाड्नुभयो। अब आफूले भोगोको पीडालाई भुलाउँदै श्रीमती र २ छोरीको स्याहार सुसार गर्ने छु।'
असोज ११ र १२ गते आएको अविरल वर्षपछिको बाढी र पहिरोमा परी गोदावरी नगरपालिकामा मात्र २० जनाको मृत्यु भएको उपमेयर मुना अधिकारीले जानकारी दिइन्।
वडा नम्बर ७ मा वडावासी ५ जना र बाहिरको २ जना गरी ७ जनाको मृत्यु भएको छ। वडा नम्बर ६ टीकाभैरवमा बाहिरको २ र वडाको ३ गरी ५ जनाको ज्यान गएको छ।
वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर १० मा २–२ जना , वडा नम्बर ५ र ९ मा १–१ जनाको मृत्यु भएको छ। यस्तै वडामा नम्बर २, ८ , ११, १२, १३ र १४ मा मानवीय क्षति नभएको उपमेयर अधिकारीले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।