डेंगु हुने बालबालिकाको संख्या पनि बढ्दै

|

काठमाडौँ : धापासीकी ३३ वर्षीया शर्मिला केसी (नाम परिवर्तित)ले आफ्नो ३ वर्षीय छोरालाई लगातार ज्वरो आउने, आँखा रातो हुने र वेला- वेलामा बान्तासमेत हुन थालेपछि कान्ति बाल अस्पताल लिएर जँचाउन आइन्। परीक्षण गर्दा उनको ३ वर्षे छोरालाई डेंगु भएको देखियो।

काठमाडौँकै अर्का एक दम्पतीकी ४/५ दिनदेखि आफ्नो २२ महिनाकी छोरीलाई रुघा लाग्ने, नाकबाट पानी बग्ने र वेला वेला हलुका ज्वरो आउने समस्या देखियो। मौसम परिवर्तन हुने समयमा देखिएको सामान्य भाइरल समस्या होला भनेर उनीहरुले घरेलु उपचार गरे तर ठिक भएन। त्यसपछि उनीहरुले पनि आफ्नो छोरीलाई कान्ति अस्पताल ल्याए परीक्षण गर्दा निमोनिया देखियो।

यी प्रतिनिधि घटनामात्रै हुन् पछिल्ला दिनमा कान्ति बाल अस्पतालमा ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएर उपचारका लागि लगिएकामध्ये अधिकांश बालबालिकामा निमोनिया र डेंगु भएको पाइएको छ।

कान्तिमा हाल डेंगु भएका १४ जना बालबालिका भर्ना

कान्तिमा हाल डेंगु भएका १४ जना बालबालिका उपचारका लागि भर्ना गरिएको छ। अस्पतालका सूचना अधिकृत रमेशनर्सिङ केसीका अनुसार १४ जनामध्ये २ जना आइसियू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यी सबै बालबालिकामा डेंगुका कडा खालका लक्षण देखिएपछि भर्ना नै गरेर उपचार गर्नु परेको सूचना अधिकारी केसीको भनाइ छ।

उनले भने‚ ‘गएको एक हप्तामा डेंगु भएर आउने बालबालिका धेरै हुनुहुन्छ हाम्रोमा‚ अहिले नै १४ जना डेंगुका विरामी बालबालिकालाई भर्ना गरेरै उपचार गरिरहेका छौँ।’

कान्ति अस्पतालको विवरणअनुसार सन् २०२४ को जनवरी यता अस्पतालमा ७४ जनामा डेंगुका विरामीको उपचार भइसकेको छ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष डेंगुका विरामी बालबालिका थोरै संख्यामा आए पनि तीमध्ये अधिकांशमा कडा खालका लक्षण देखिएकाले भर्ना नै गरेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ।

अस्पतालको विवरणअनुसार सन् २०२२ मा २४५ जना र सन् २०२३ मा ४७ जना डेंगुका विरामी बालबालिका उपचारका लागि भर्ना भएका थिए।

बालबालिकामा निमोनिया पनि प्रकोप बन्दै

यतिखेर सामान्य लक्षण लिएर परीक्षण गराउन जाने बालबालिकामा निमोनिया देखिने क्रम पनि बढ्दै गएको कान्ति अस्पतालले जनाएको छ।

प्रायः हरेक वर्ष मौसम परिवर्तन हुने यो सिजनमा भाइरल संक्रमित बालबालिकाको संख्या बढ्नु सामान्य भए पनि यो वर्ष यतिखेर असामान्य रुपमा बालबालिकामा निमोनिया संक्रमण देखिएको अस्पतालले जनाएको हो।

हाल अस्पतालमा दैनिक ओपिडीमा जँचाउन आउनेको संख्या ५ सयदेखि ७ सयको हाराहारीमा रहेको छ। यसबाहेक अस्पतालले पेइङ ओपिडी सेवा पनि संचालन गरेको छ।

दुवै ओपिडीमा यतिखेर  रुघा लाग्ने, नाकबाट पानी बग्ने र वेला वेला हलुका ज्वरो आउने समस्या लिएर परीक्षण गर्न आउनेहरुमा एक्सरे गर्दा निमोनिया संक्रमण भइसकेको देखिने गरेको अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँले बताए।

डा चापागाईँका अनुसार मौसम परिवर्तनसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, जण्डिस, झाडापखाला, निमोनिया, टाइफाइड, दमलगायत श्वासप्रवासको समस्याका साथै छालाको संक्रमणजस्ता स्वास्थ्य समस्या बढी देखिने गरेको छ।

हाल अस्पतालको ओपिडीमा निमोनिया र डेंगुका विरामी ह्वात्तै बढेको छ। डा चापागाईँले भने‚ ‘हुन त यो सिजनमा भाइरलका विरामी बालबालिकाहरु त बढ्छन नै तर यसपटक भाइरलजस्तै लक्षण देखिने तर परीक्षण गर्दा निमोनिया देखिनेको संख्या बढ्दो छ, यस्तो खालको समस्या विगत वर्षहरुमा कम देखिन्थ्यो, हाम्रोमा अहिले आउने प्रायः विरामी बालबालिकामा निमोनिया भएको देखिएको छ।’

‘जथाभावी औषिध नखुवानुस्एकपटक विशेषज्ञलाई देखाउनुस्’

अहिले भाइरल संक्रमणको जस्तो लक्षण देखिने तर परीक्षण गर्दा निमोनिया देखिने बालबालिकाको संख्या बढ्दै गएको हुँदा यतिखेर सामान्य रुघाखोकी ज्वरो देखिएका बालबालिकालाई अभिभावकले जथाभावी औषधि पसलबाट जथाभावी औषधि किनेर खुवाउनुभन्दा एकपटक चिकित्सकलाई देखाउनैपर्ने डा चापागाईँको भनाइ छ।

‘हेर्दा भाइरलको जस्तो लक्षण देखिने तर परीक्षण गर्दा निमोनिया संक्रमण भइसकेको देखिने गरेको छ‚ त्यसैले सकभर सामान्य लक्षण देखिनासाथ आफूखुशी मेडिकलबाट औषधि किनेर खुवाउनुभन्दा आफूलाई पायक पर्ने नजिकको स्वास्थ्य संस्थामा देखाउनु पर्छ किनकि यतिखेर धेरै बालबालिकामा निमोनिया संक्रमण देखिएको छ‚’ कान्तिका बालरोग विशेषज्ञ डा चापागाईँले भने।

घरमा भए घरमा नै मनतातो पानी, झोलिलो खानेकुरा, नूनपानी, बेसार पकाएर खुवाउनु पनि उपयुक्त हुने उनको भनाइ छ। यति गर्दा पनि ज्वरो घटेन, सास फेर्न गाह्रो हुने जस्ता श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै चिकित्सकलाई देखाउन पनि डा चापागाईँले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.