|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कक्षा-१० का विद्यार्थीहरूका लागि दशैँ र तिहारकाे अवधिमा ‘फेस्टिभल क्याम्प’ शुरू गरेको छ। महानगरपालिकाले हिजोदेखि १६ वटा विद्यालय (केन्द्र)मा एकैपटक ‘फेस्टिभल क्याम्प’ को उद्घाटन गरेको हाे।

​महानगरपालिकाका अनुसार ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालयमा क्याम्प राखिएको छ। यी विद्यालयमा दैनिक कम्तीमा ७६ वटा कक्षा सञ्चालन हुनेछन्।

एउटा केन्द्रमा कम्तीमा १५० जना विद्यार्थी सहभागी गराउन सकिन्छ। विद्यार्थीका लागि यो कार्यक्रम अनिवार्य भने होइन। उनीहरूले अनुकूलता र आवश्यकताका आधारमा स्वःस्फूर्त कक्षामा सामेल हुन सक्नेछन्। 

शैक्षिक नतिजा सुधार्न फेस्टिभल क्याम्प आयोजना

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कक्षा-१० को शैक्षिक नतिजा सुधार गर्न फेस्टिभल क्याम्पको आयोजना गरिएको जानकारी दिए।

उनले भने, ‘सामुदायिक (सरकारी) विद्यालयको शैक्षिक नतिजाका बारेमा नकारात्मक टिप्पणी भइरहन्थ्यो, अवसर र वातावरण नभएको बताइन्थ्यो तर अब  महानगरपालिकाले सामुदायिक विद्यालयलाई त्यस ठाउँबाट उठाएको छ। नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ, हामीले नतिजा प्राप्त गरेका असल र सफल अभ्यासलाई सिकाइका रूपमा प्रवर्द्धन गर्नेछौँ।’ 

उनका अनुसार सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई दशैँ तिहारबीच छुट्टीको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि क्याम्प सञ्चालन गरिएको हो। ‘प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरूलाई शैक्षिक अभिरूचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य हो,’ उनले भने।

फेस्टिभलमा के-के हुन्छ ?

महानगरपालिकाका अनुसार क्याम्पमा सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइनेछ।

विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन्। यी कक्षाहरू लेक्चरर विधिमा नभइ क्रियाकलाप, सह-सिकाइ र समूहगत सिकाइमा आधारित हुनेछन्।

स्टिम शिक्षाशास्त्रको सिद्धान्तका आधारमा कक्षा चल्नेछन्। ३ बजेपछि कम्तीमा १ घण्टा ई–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। यसबाट सिकाइ प्रवर्द्धन गर्न नवीनतम अभ्यासका लागि वातावरण तयार हुनेछ। 

पहिलो दिनको कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले नृत्य प्रस्तुत गरेका थिए। यस्तै खेलकुद, उत्प्रेरणात्मक कक्षासहितका क्रियाकलाप सञ्चालन भएका थिए। कक्षा सञ्चालन गर्ने वातावरणका लागि विद्यालय र कक्षा कोठाहरूको सजावट गरिएको थियो। 

निजीमा फेस्टिभल क्याम्प सञ्चालन नहुने

महानगरपालिकाका प्रवक्ता मानन्धरले फेस्टिभल क्याम्प सामुदायिक विद्यालयमा मात्रै सञ्चालन हुने जानकारी दिए। निजी विद्यालयमा यो क्याम्प सञ्चालन नहुने उनको भनाइ छ।

तर हिजो फेस्टिभल क्याम्पको उद्घाटनका क्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भने सामुदायिक सिकाइ केन्द्रको प्रवर्द्धनमा संस्थागत (निजी) विद्यालयका विद्यार्थीहरू सहभागी गराउने योजना सुनाएकी छिन्।

उनले भनिन्, ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीका लागि पनि कार्यक्रम तर्जुमा गर्दै छौँ, सामुदायिक सिकाइ केन्द्रको प्रवर्द्धनमा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराउने योजना छ।’  

को कसरी सहभागी हुने ?

महानगरपालिकाका प्रवक्ता मानन्धरका अनुसार यो फेस्टिभल क्याम्प १६ वटा विद्यालयमा मात्रै सञ्चालन हुनेछ। महानगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीबाहेक अन्य विद्यार्थीहरू सहभागी हुन पाउने छैनन्।

‘यो फेस्टिभल क्याम्पमा महानगरका सामुदायिक विद्यालयका विद्यार्थीहरूले मात्रै सहभागी हुन पाउँछन्,’ उनले भने, ‘अन्यकाले पाउँदैनन्, यसमा सहभागी हुन केही पर्दैन, जहाँ कार्यक्रम सञ्चालन भएका स्कुल छन्, त्यहाँ आएर सहभागीमात्रै हुने हो, हामीले अनिवार्य गराएका छैनौँ, उनीहरूले अनुकूलता र आवश्यकताका आधारमा स्वःस्फूर्त कक्षामा सामेल हुन पाउने छन्।’

उनका अनुसार शिवपुरी माध्यमिक विद्यालय, टंगाल माध्यमिक विद्यालय, महेन्द्र बौद्ध माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, पशुपति मित्र माध्यमिक विद्यालयलगायत १६ विद्यालयमा क्याम्प सञ्चालन हुनेछ।

उनले यो कार्यक्रम तिहारसम्म सञ्चालन हुने जानकारी दिए। आज अभिनेत्री स्वस्तिमा खड्काले ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी छिन्।

उनले विद्यार्थीहरूलाई भनिन्, ‘अरूले विश्वास गरून् या नगरून् यसले केही फरक पार्दैन तर तपाईँमा लक्ष्यमा पुग्ने रूचि छ कि छैन, त्यसले चाहिँ फरक पार्छ, तपाईँको रूचि परिवर्तन हुन सक्छ, यो स्वाभाविक हो, यसमा चिन्तित हुनु पर्दैन, आफ्ना भावनाहरू अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन, नडराउनु, भित्री चाहनाअनुसार लक्ष्य बनाउनु, गर्न नसक्ने केही छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.