४० वर्ष कटेका महिलाले वर्षमा एकपटक म्यामोग्राम गरौँ

|

काठमाडौं: केही वर्षअघिसम्म नेपालमा महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखमा देखिने पहिलो र स्तन क्यान्सर दोस्रो रहेको बताइन्थ्यो। अहिले पाठेघरको मुखको क्यान्सर भन्दा पनि महिलामा स्तन क्यान्सर देखिने संख्या बढ्दो क्रममा रहेको छ।

अझै युवा उमेर ( ४० वर्ष) मुनिका महिलामा स्तन क्यान्सर देखिने संख्या दिनप्रति दिन बढ्दो क्रममा रहेको विज्ञ बताउँछन्। तर समयमानै पहिचान र उपचार गर्न सकियो भने प्राय: स्तन क्यान्सर पूर्णरूपमा निको हुन्छ। बेवास्ता गर्ने, चिकित्सककोमा ढिलो पुग्ने जस्ता समस्याले स्तन क्यान्सरको उपचारमा थप जटिलता सिर्जना गर्ने गरेको छ।

त्यसैले बढ्दो स्तन क्यान्सरको प्रकोप न्यूनीकरण गर्न, पहिचानका लागि सचेतना जगाउन हरेक वर्ष अक्टोबरमा ‘स्तन क्यान्सर सचेतना महिना’ मनाइन्छ। नेपालमा बढ्दो स्तन क्यान्सर, उपचार, यससम्बन्धी सचेतना र रोकथामको अवस्थाबारे त्रिवि शिक्षण अस्पतालकी स्तन क्यान्सर रोग विशेषज्ञ उपप्राध्यापक डा. सुजिता हिराचनसँग गरिएको कुराकानी-

नेपालमा नेपालमा हाल महिलामा पाठेघरको मुखको क्यान्सर भन्दा स्तन क्यान्सरको दर बढ्दो छ भनिन्छ नि!

हो, केही वर्षअघिसम्म महिलामा पाठेघरको मुखमा देखिने पहिलो र स्तन क्यान्सर दोस्रो रूपमा लिइन्थो। तर पछिल्लो समय पाठेघरको मुखकोभन्दा स्तन क्यान्सर देखिने संख्या बढ्दो छ। यो हाम्रो उपचारको अनुभवले मात्रै नभएर विभिन्न अध्ययन तथा तथ्याङ्कले पनि देखाएको विषय हो। यति मात्रै होइन, यसरी स्तन क्यान्सर देखिने संख्या ४० वर्षमुनिका महिलामा झन् बढ्दै गएको छ। यो निकै चुनौतीपूर्ण अवस्था हो।

किन युवा उमेरमै स्तन क्यान्सर बढ्दै गएको छ?

हाम्रोमा मात्रै होइन अहिले विश्वभर नै युवा उमेरमा स्तन क्यान्सर देखिने दर बढेको छ। यसको मुख्य कारण भनेको महिलामा हुने हर्मोनको उतारचढाव हो। स्तन क्यान्सर हुनुमा हाम्रो शरीरमा हर्मोनको भूमिका महत्त्वपूर्ण हुन्छ। अब युवा उमेरमा महिलालाई करियर, पढाइ, परिवार लगायत विभिन्न कुराको जिम्मेवारी हुन्छ। यसले तनावपूर्ण अवस्थामा पनि पुर्‍याउन सक्छ र हर्मोनलाई गडबड बनाउन सक्छ। लामो समयसम्म यस्तो अवस्था रहँदा स्तन क्यान्सरको जोखिम बढ्छ। यस्तै जंक फुड, धेरै प्रशोधन गरिएका तथा विषादी मिश्रित खानेकुराको सेवनले पनि महिलालाई यो उमेरमा स्तन क्यान्सर हुन सक्छ।

यस्तै अर्को महत्त्वपूर्ण कारण भनेको महिलाले प्रयोग गर्ने विभिन्न किसिमका केमिकलयुक्त कस्मेटिक (स्याम्फु, साबुन, लिपिस्टिकलगायत) सामग्री पनि हुन्। यस्ता सामग्रीमा विभिन्न प्रकारका केमिकल हुन्छन्। यसको असर तत्काल नदेखिए पनि लामो समय प्रयोग गर्दा स्तन क्यान्सरको जोखिम बढिरहेको हुन्छ।

यसका अलावा ढिलो विवाह( ३० वर्षपछि), ३५ वर्षपछि बच्चा जन्माउनु, पूर्णस्तनपान नगराउनु जस्ता कारण पनि स्तन क्यान्सरको जोखिमको कारक मानिन्छ। अहिले पढाइ र करियरका कारण विवाह गर्ने, पहिलो बच्चा जन्माउने उमेर ३० वर्षपछि मात्रै भएको देखिन्छ। यसले महिलामा अन्य स्वास्थ्य जटिलताका साथै स्तन क्यान्सरको जोखिम बढाइरहेको छ।

स्तन क्यान्सरमा सबैलाई एकै खालको लक्षण देखिँदैन भनिन्छ नि! साझा लक्षण के के हुन्?

हो, सबै महिलामा स्तन क्यान्सरको लक्षण एकै खालको नदेखिन सक्छ। स्तनको निप्पल भित्र जानु, रगत आउनु, काखी तथा स्तनको छालामा दाग वा घाउ देखा पर्नु स्तन क्यान्सरका लक्षण हुन्। तर यसको साझा लक्षण भनेको स्तनमा नदुख्ने गाँठो आउनु नै हो। अहिले अस्पतालमा पनि प्राय: महिला नदुख्ने गाँठो नै लिएर आउने धेरै छन्।

स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?

गाँठागुठी बिस्तारै बढ्दै गएपछि अचानक थाहा हुन्छ। अधिकांश स्तन क्यान्सरका बिरामीलाई प्रारम्भिक चरणमा दुखाइ महशुस हुँदैन। दुखाइ महशुस नभएकै कारण महिला अन्तिम अवस्थामा अस्पताल आइपुग्छन्। स्तनमा  नदुख्ने गाँठागुठी र अन्य लक्षण छ भने विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ।

यसबाहेक २०-२५ वर्ष उमेर कटेपछि हरेक महिलाले महिनाको एकपटक स्तनको जाँच आफैँ गर्नुपर्छ । ऐनामा हेरेर होस् वा हातले छामेर भएपनि स्तनमा गाँठा भए-नभएको पक्का गर्नुपर्छ। यसका साथै ४० वर्ष कटेका महिलाले वर्षमा एकपटक ‘म्यामोग्राम’ जाँच गराउनुपर्छ। ४० वर्ष मुनिका महिलाले ३ वर्षमा एकपटक स्तनको भिडियो एक्स-रे गराएर विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ।

यदि स्तनमा गाँठा देखिए चिकित्सकलाई देखाउनु पर्छ । मलाई क्यान्सर लाग्दैन भनेर हेलचेक्र्याइँ गर्न हुँदैन। भिडियो एक्सरे मासुको जाँच (बायोप्सी) आदिबाट समस्या पहिचान गर्न सकिन्छ।

कस्ता व्यक्तिलाई स्तन क्यान्सरको जोखिम रहन्छ?

महिलामा नै स्तन क्यान्सरको जोखिम हुनु हो। यो भन्दैमा पुरुषलाई स्तन क्यान्सर हुँदैन भन्ने होइन महिलाको तुलनामा पुरुषमा एकदमै कम हुन्छ। तर सतर्कता भने अपनाउनुपर्छ।

तर कुनै परिवारमा आमा, दिदी , सानिमा,  लगायका आफ्ना सदस्यलाई यदि पहिला स्तन क्यान्सर छ भने परिवारका अन्य सदस्यलाई  १० प्रतिशत जोखिम हुन्छ। यो भन्दैमा आफ्नो परिवारमा कसैलाई अहिलेसम्म स्तन क्यान्सर देखिएको छैन भनेर आफू  जोखिममा छैन भनेर ढुक्क हुनु हुँदैन।

३० वर्ष कटेपछि विवाह भएको छ, पहिलो बच्चा ३५ वर्षपछि उमेरमा जन्माएको छ, पूर्ण स्तनपान गराएको छैन र लामो समय सम्म गर्भनिरोधयुक्त औषधी सेवन गरेको छ, धूमपान-मद्यपान गर्ने गरेको छ, यसअघि अन्य कुनै प्रकारको क्यान्सर भएको छ र रेडिसियन थेरापी लिएको छ भने पनि स्तन क्यान्सरको जोखिम हुन्छ। यसका साथै छिटो महिनावारी हुनु र ढिलो महिनावारी रोकिनुले पनि यसको संकेत गर्छ।

यसका साथै बढ्दो वायुप्रदुषणा पनि यसको अप्रत्यक्ष कारक मानिन्छ। त्यसैले आफू जोखिम समूहमा पर्दिनँ भनेर ढुक्क हुनु भन्दा सतर्कता अपनाउनु र नियमित परिक्षण गर्नु उत्तम हुन्छ।

स्तन क्यान्सर हुनै नदिन व्यक्तिले के गर्न सकिन्छ?

यसका लागि महत्त्वपूर्ण भनेको स्वस्थ जीवनशैली अपनाउनु नै हो।  नियमित शारीरिक व्यायाम गर्ने, सन्तुलित खाना खाने, जथाभावी औषधी सेवन नगर्ने, कस्मेटिक सामग्रीको प्रयोग गर्दा विशेष सावधानी अपनाउने, हर्मोनयुक्त औषधी प्रयोग गर्दा विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्रै लिनेलगायतका सावधानी अपनाउनुपर्छ।

बढ्दो स्तन क्यान्सर रोकथाम र उपचारका लागि राज्यका तर्फबाट गर्नु पर्ने मुख्य काम के के हुन्?

स्तन क्यान्सरलाई पूर्णरूपमा रोक्न नसकिए पनि यसको रोगथाम, नियन्त्रण  र शीघ्र पहिचान गरी सफल उपचार गर्न सम्भव छ। यसको लागि मुख्य कुरा भनेको रोग देखिनु पूर्वको नियमित परीक्षण हो। तर हाम्रोमा रोग देखिनुपूर्व गरिने परीक्षणमा त्यति धेरै महत्त्व दिएको देखिँदैन त्यसैले उमेरअनुसार अनिवार्यरूपमा स्तन क्यान्सरको नियमित परीक्षणका लागि राज्यस्तरबाटै काम गर्न सकियो भने समयमा नै रोग पहिचान गरी उपचार गर्न सकिन्छ। यसरी परीक्षण गर्दा  स्तन क्यान्सरलाई पहिलो स्टेजभन्दा अघि नै वा पहिलो स्टेजमानै पहिचान गरिए उपचार सहज र पूर्ण सफल हुन्छ। हाम्रोमा अहिले धेरैजसो दोस्रो र तेस्रो स्टेजमा मात्रै यो रोग पहिचान हुने गरेको छ यसले उपचार महँगो र जटिल बनाउँछ।

यस्तै खानेकुरामा मिसावट हुने केमिकललाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नु आवश्यक छ।  अर्को कुरा भनेको बढ्दो क्यान्सर रोगको अनुपातमा यससम्बन्धी काम गर्ने जनशक्ति र पूर्वाधारको कुरा हो। अब हाम्रो अस्पतालमा महिनामा करिब चार हजार भन्दा बढी स्तन क्यान्सरको जोखिममा रहेर परीक्षणको लागि आउँछन्। यसरी आउने बिरामीको अनुपातमा हामी चिकित्सक कम छौँ।

अर्कोतर्फ पूर्वाधारको कुरा हो। स्तन क्यान्सर पहिचान भएका धेरैलाई उपचारको क्रममा रेडियोथेरापी पनि गर्नुपर्छ। तर हाम्रो अस्पतालमा अहिलेसम्म एउटा पनि रेडियोथेरापी मेसिन छैन आवश्यक बिरामीलाई अन्त पठाउनुपर्ने अवस्था छ। यसले गर्दा प्रभावकारी उपचारका लागि अप्ठ्यारो अवस्था छ।

तर यी सबै अप्ठ्याराबीचमा पनि स्तन क्यान्सरको सम्पूर्ण प्रभावकारी र गुणस्तरीय उपचार नेपालमा नै सम्भव छ। यसको उपचारको लागि विदेश जानु आवश्यक छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.