इलाम : हल्का टारजस्तो जमिन, गोरु नारेर सम्याइएको मैदान, राणा शासनका बेला सेनाले कवज गर्ने स्थान इलाम सदरमुकामको ‘ठूलो टुँडिखेल’।
सरकारी औपचारिक कार्यक्रमभन्दा अरू गतिविधि खासै नहुने यस मैदानमा कुनैबेला जनता र राणाहरूको ‘सरकारी’ टोलीबीच रात छिप्पिँदासम्म फुटबलको प्रतिस्पर्धा हुन्थ्यो।
अहिलेजस्तो ९० मिनेट अनि अतिरिक्त समय गर्दै नयाँ नियमअनुसार खेल हुँदैनथ्यो अग्रजहरुले सुनाएको इलामको फुटबलबारे इतिहासविद् युद्धप्रसाद वैद्य सम्झन्छन्, ‘फुटबलमा पोख्त इलामेली खेलाडीले खेल सुरु हुनेबित्तिकैदेखि गोल गर्थे। सरकारी टिमले हार्नु हुँदैनथ्यो ऊबेला ! अनि जतिबेलासम्म उनीहरूका खेलाडीले गोल गरेर जित्दैनथे, त्यसबेलासम्म खेल जारी रहन्थ्यो। रात पर्दा पनि खेल रोकिँदैनथ्यो।’
सम्झँदै उनी भन्छन्, ’त्यसबेला भारतको कोलकाताबाट ल्याइएका ‘पेट्रोलमेक्स’ बालेर राति पनि खेल जारी रहन्थ्यो। राणा टोलीका तर्फबाट गोल भएपछि खेल सकिएको घोषणा हुन्थ्यो। यसो हुन नसकेर खेल ज्यादै लम्बिएपछि ‘जनता’ टिमका खेलाडीले उनीहरूलाई जानीजानी गोल गर्न दिनुपर्थ्यो अनि मात्र खेल सकिन्थ्यो। राणा टिम विजयी बनेपछि त्यसबेलाको पटांगिनीमा लगेर पराजित टिमका खेलाडीलाई समेत भोजमा सहभागी गराइन्थ्यो।’
यो इलामको फुटबलमा बारम्बार उप्किरहने किस्सा हो। यसले पूर्वको फुटबल ऊर्जा राणा शासनकालबाटै कस्तो थियो भन्ने दर्शाउँछ। साबिकको पूर्वाञ्चल हुँदै अहिले कोशी बनेको यस क्षेत्र नेपाली फुटबलको मूल हो। एन्फा गणेश थापा नेतृत्वमा गएपछि ड्रिम प्रोजेक्टका रूपमा विस २०५४ सालमा सुरु गरेको एन्फा एकाडेमीमा ४० मध्ये इलामका लोकबन्धु गुरुङ र सुवास राई सहित पूर्वका १६ जिल्ला (साविक पूर्वाञ्चल) का मात्र १० खेलाडी थिए।
एन्फा एकाडेमीबाट रिलिज भएपछि पूर्वका खेलाडीले उही स्टारडम बनाएको पूर्व-राष्ट्रिय खेलाडी प्रलय राजभण्डारी बताउँछन्।
राष्ट्रिय टिमका कप्तान एवम गोलकिपर किरण चेम्जोङ, सुजल श्रेष्ठ र बुद्ध चेम्जोङ धनकुटाका हुन्। पाँचथरमा ११ जनाले खेल्न मिल्ने मैदान पनि छैन तर, यहाँका गणेश लावतीले राष्ट्रिय टिममा स्थान बनाएका छन्। लावती सहिद स्मारक लिगमा ५० गोलको कोशेढुङगा पार गर्ने ७ खेलाडीमध्ये एक हुन्।
इलामका धीरेन्द्र प्रधान, गणेश पाण्डेले सन् १९८५ मा नेपालको पहिलो विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाए। २०४३ सालमा इलामको टुडिखेलमा भएको महिला फुटबल नै नेपालको पहिलो महिला राष्ट्रिय टोली तयार गर्ने प्रतियोगिता हो। जहाँबाट छानिएका खेलाडीले रमा सिंहको नेतृत्वमा सन् १९८६ मा एएफसी वुमन च्याम्पियनसिप खेल्ने मौका पाए।
अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व महासचिव प्रधान अहिले पनि नेपाली फुटबलका सबैभन्दा शक्तिशाली सुटरको रूपमा अहिले पनि चर्चामा छन्। उनी मेस्सी र रोनाल्डोले समेत गर्न नसकेको ओलम्पिको गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्। ओलिम्पिको अर्थात् कर्नरबाट सिधै गोल गर्ने पहिलो नेपाली खेलाडी धीरेन्द्र नै हुन्। त्यसपछि दोस्रो ओलम्पिको गोल गर्ने तेह्रथुमकी अनिता बस्नेत। प्रधानले सन् १९८८ मा दशरथ रंगशालामा ओलम्पिक छनोटअन्तर्गत पाकिस्तानविरुद्ध गरे। उता ’डेथ बल स्पेशलिस्ट’ बस्नेतले सन् २०२४ मा सिरिया विरुद्ध कर्नरबाट गोल गरिन्।
झापाली शान बेग्लै
नेपाली फुटबलमा झापाली सान बेग्लै छ। काठमाण्डौ वरिपरिका नेतृत्व गरेको एन्फामा झापाका पंजक विक्रम नेम्वाङ अध्यक्षको रुपमा अहिले छन्। नेम्वाङका अघि ढाल बनेर महासचिवमा उदयपुरका किरण राई उभिएका छन्। सन् १९९० अघि होस् या २०२४ झापाले नेपाली फुटबललाई जुरुक्क बोकेको छ।
राजतन्त्रको अवसान अघि नेपालकै प्रतिष्ठित त्रिभुवन मेमोरियल गोल्डकप झापामा हुन्थ्यो। २०६१ यता प्रतियोगिता भएको छैन। २०६२/६३ को राजनीतिक परिवर्तनको कोपभाजनमा त्रिभुवन गोल्डकपसमेत पर्यो।
जनआन्दोलनपछि राजा–महाराजाको नामका धरोहरमा सबै दलहरूले आक्रमण सुरु गरे। त्यसपछि फुटबल समेत भएन्। तर त्यही जगमा उभिएर झापाले कीर्तिमानी गोलकर्ता एवम राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्का र युगलकिशोर राई जस्ता स्टारर पाएको छ।
अहिले पनि काठमाण्डौंमा सहिद स्मारक ए, बी र सी का नाम हुने भ्याली लिग झापाका खेलाडी बिना पूर्ण हुँदैनन्।
२०७१ सालमा एन्फा कप जित्दा एसेम्बल्ड टिमले ‘ए’ डिभिजन लिगमा लामो इतिहास बोकेकालाई हराएको भन्दै प्रतियोगिता आयोजना गर्ने र झापाजस्ता नयाँ टिमलाई सोझै ठूला प्रतियोगिता खेल्न दिने एन्फाको नीति त्यो बेला आलोचित बनेको थियो। कारण थियो, ‘ए’ डिभिजनका क्लबहरूले वर्षैभरि पारिश्रमिक दिएर राखेका खेलाडी बटुलेर कुनै प्रतियोगिता विशेषमा सहभागिता जनाउने र त्यसपछि टिमको अस्तित्व नरहने परिपाटीका कारण त्यो बेला झापा ११ पनि आलोचनाको घेरामा परेको थियो। काठमाडौं र मोफसलमा सुविधा र अवसरमा धेरै फरक छ।
तथापि, मोफसलको गुण काठमाडौंले तिर्न सक्दैन। तर, मोफसललाई स्टारडम र परिपक्वतापछि मात्रै केन्द्रको सुविधा, प्रशिक्षण र अवसर प्राप्त हुन्छ। काठमाण्डौ भ्याली भित्रको फुटबल स्टारडमलाई जोगाउन पूर्वेली खेलाडीले बगाएको पसिनाको मुल्य एन्फा नेतृत्व र फुटबलमा एकात्मकता बनाइरहेका काठमाण्डौका क्लबहरु बुझ्न नसक्नु नै झापा–११ उदयको कारण हो।
नेपालको लिग नियमितताको अभावबाट गुज्रिएर विभिन्न ए डिभिजन क्लबमा आबद्ध प्रवेश कटुवाल, योगेश गुरुङ, देवेन्द्र तामाङ, विशाल राई ए र विशाल राई बी, कर्ण लिम्बू, सुमिन मैनाली, किशोर गिरी लगायतका खेलाडीहरु गोलबद्ध भएर झापा–११ स्थापना गरे। त्यही झापा–११ लाई स्थापित गराएर नेपाली फुटबलको पावर हाउसको रुपमा स्थापित गराउन भगिरथ आले मामा र जलकुमार गुरुङको त्यागलाई कुनै शब्दभित्र अटाउन सकिन्न।
काठमाण्डौले आरोप लगाए जस्तो स्टारडमलाई झापा–११ ले एक दशक पनि टिकाउन भने सकेन। अहिले त्यही जगलाई टेकेर झापा फुटबल क्लबले सी डिभिजन च्याम्पियनको छवि बनाउन सक्यो। अर्कोतर्फ झापा केन्द्रित गरेर नेपाल सुपर लिगमा झापा एफसी क्लब दर्ता भएर दोस्रो सिजन खेल्यो। झापा–११ स्थापना ताकाका कप्तान प्रवेशले ए डिभिजन लिगमा खेलाडीको रुपमा मात्र विजेता बनेनन्, प्रशिक्षकको रुपमा समेत मछिन्द्र क्लबलाई २ सिजन लगातार उपाधि दिलाए।
नेपाली सिनियर पुरुष फुटलबको राष्ट्रिय टिममा खेल्न नपाए पनि एएफसी ए लाइसेन्स पाएपछि प्रशिक्षकको रूपमा खेलाउन पाए।
एन्फा नेतृत्व लोभिन्छ…
झिलझिलेका अनन्त तामाङ, र सौभाग्य राई (सन्जित राई), मेचीनगरमा पुजन उपरकोटी, खमिर गिल्सन कन्दङवा, एन्जल गुरुङ लगायतले पछिल्लो झापाको फुटबललाई चिनाउन योगदान दिए। विनोद बस्नेतको नेतृत्व रहेको झापा गोल्डकपको आयोजना देखेर एन्फा नेतृत्व लोभिन्छ।
मैदान र प्रतियोगितामा झापालीको लगानी एन्फाको लागि चुनौती हो। स्वयम झापाबाट एन्फाको नेतृत्वमा पुगेका पंकज विक्रम नेम्वाङले राजधानी त्यो स्तरको सुविधा दिएर फुटबल गराउन सक्दैनन्।
‘पूर्वको फुटबल चलेको दर्शकको कारण हो। स्थायी श्रोत नभएपनि दर्शकहरुको मायाले झापा गोल्डकप नेपालको सवैभन्दा प्रतिष्ठित प्रतियोगिता बन्न सकेको छ’ बस्नेत भन्छन् ‘३ बजे हुने खेलका लागि १२ बजे नै गेटमा टिकट काट्नेको भिड हुन्छ। त्यसबाटै पुष्टि हुन्छ पूर्वमा फुटबल क्रेज कस्तो छ भन्ने।’
फाइनल खेलमा १० हजार दर्शक क्षमता भएको प्यारापिटमा नअटेर उभिएर पनि झापा गोल्डकप दर्शकहरुले हेर्ने गर्छन्।
पुरुष जस्तो महिला फुटबलमा झापा त्यति धेरै चर्चामा छैन् तर शुन्य पनि हैन्। अञ्चल स्तरीय प्रतियोगितामा झापाली महिला फुटबलरको राम्रो उपस्थिती हुने गर्थ्यो। तर राष्ट्रिय टोलीमा भने उपस्थिती न्युन नै छ। नेपाली सिनियर राष्ट्रिय टोलीमा गोलरक्षक अस्मिता खवास र फरवार्ड कसुम खतिवडाले प्रतिनिधित्व गरे। मुना लावती, ममता राउत, मधु मुखिया, गोलरक्षक रञ्जु राजवंशी, खुस्मा राई लगायतले उमेर समूहबाट खेलेका छन्। खुस्मालाई सातौँ साफ महिला च्याम्पियनसिपको क्लोज क्याम्पमा थिइन्।
‘झापाबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडी नभएका हैनन्। अवसर र प्रशिक्षणमा लगानी नहुँदा प्रतिभा बाहिर आउन सकेका छैनन्।’ गोलरक्षक प्रशिक्षक मीन बस्नेत भन्छन्, ‘पुरुष फुटबलको जसरी महिलाको फुटबल प्रतियोगिता र लगानी नहुँदा भएका क्लबहरु समेत सुस्ताएका छन्। झापामा महिला खेलाडी पारिवारिक समस्याका कारण आफै पनि मैदान उत्रन चाहेको देखिँदैन।’
झापामा महिला खेलाडी नभए पनि महिला टिमका प्रशिक्षक भने छन्। सिनियर टोलीलाई हरि खड्का र अस्मिता खवास तथा उमेर समूहको टोलीलाई मीन बस्नेतले प्रशिक्षण दिएका छन्। गत महिना सचिन्द्र धिमाल नेपाली यु–२० राष्ट्रिय पुरुष टिमको सहायक प्रशिक्षक बनेर चाइनिज ताइपेइमा थिए।
उनले यसअघि कोशी प्रदेशको महिला टिमलाई प्रशिक्षण दिएका थिए। झापाको फुटबलको कथा आफैमा एउटा पुस्तक बन्न सक्छ। त्यसका लागि जागर चलाउने कलमजिवीको खाँचो छ।
हेडिङ मास्टर उपमा पाएका देवनारायण चौधरी, पारस चौधरी जस्ता पुराना चर्चित खेलाडी मोरङका हुन । नेपालले करिब ६० वर्ष अघि पूर्व आइजिपी अच्युत कृष्ण खरेलको नेतृत्वमा खेलेको आँगा खाँ गोल्डकपमा मोरङका विष्णु बराल गोलपोष्टमा थिए। राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापा र भरत खवाससंगै मिडफिल्डर भोला सिलवाल र अनन्त थापा पनि मोरङकै हुन्।
विराटनगरका सागर थापा कप्तान रहँदा सुनसरी दुहवीका सन्दिप राई नेपाली राष्ट्रिय टिमको उपकप्तान थिए। दक्षिण एसियाली खेलकुदमा नेपाललाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका राजुकाजी शाक्य धरानका हुन् । राजुकाजीले २ पटक खेलाडीका रूपमा र १ पटक प्रशिक्षकको रूपमा नेपाललाई स्वर्ण दिलाएका छन् ।
१३औँ साग गेममा रजत पदक विजेता नेपाली महिला फुटबल टिमको सुरुवाती–११ मध्ये ५ जना पूर्वका थिए। गोलपोष्टमा इलामकी अञ्जिला तुम्बापो सुब्बा, डिफेन्स लाइनमा मोरङकी मनकुमारी खुजुम र उदयपुरकी हिराकुमार भुजेल, मिडफिल्डमा तेह्रथुमकी अनिता बस्नेत (अनु) र उदयपुरकी दिपा राई थिए। बेन्चमा मोरङकी इन्दिरा राई, सरु लिम्बू र कविता धिमाल थिए।
ऊर्जा घटेकोमा चिन्ता
मुख्य प्रशिक्षकमा झापाका हरि खड्का थिए। पुरुषकै सन्दर्भमा स्वर्ण बिजेता नेपाली टिममा कोशी प्रदेशका अनन्त तामाङ, विकास खवास, मिक्छेन तामाङ, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, हेमन्त थापा मगर, सेसेहाङ आङदाम्बे र रेजिन सुब्बा थिए। १२औँ सागको फाइनलमा पुरुष फुटबलमा स्वर्ण दिलाउँदा गोल गर्ने खेलाडी इलामका नवयुग श्रेष्ठ र सुनसरीका प्रकाश बुढाथोकी थिए।
काठमाण्डौमा हुर्किएकी सोलुखुम्बुकी प्रिति राई, उदयपुरकी सविता राना मगर र अमिशा कार्की महिला फुटबलका जल्दोबल्दो पात्र हुन्। विगतमा होस् या वर्तमान राष्ट्रिय टोलीबाट पूर्वका खेलाडीहरु झिकेर नयाँ टिम बनाउने हो भने बाँकी राष्ट्रिय खेलाडीको भन्दा बलियो टिम पूर्वमा तयार हुन सक्छ। तर, पछिल्लो समय पूर्वको फुटबलले राष्ट्रिय टोलीमा दबदबा घटाउँदै गएकोमा पूर्व कप्तान एवम प्रशिक्षक हरि खड्का चिन्तित छन्।
‘पूर्वले फुटबलमा जुन ओज राखेको थियो त्यो अहिले क्रमश: घट्दै गएको छ। क्षमतावान खेलाडी नभएका हैनन् यहाँ तर खेलाडीमा ऊर्जा छैनन्। राष्ट्रिय टोलीमा खेल्नुपर्छ भन्ने दृढ इच्छा शक्ति देखिँदैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।