‘सर्भेपछि पुर्नर्निर्माणको काम सुरु हुन्छ’
‘सर्भेपछि पुर्नर्निर्माणको काम सुरु हुन्छ’
काठमाडौँ : यस वर्षको मनसुनमा देशभरका विभिन्न ठाउँमा बाढीपहिरो गयो। राजमार्ग बन्द भए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको जानकारीअनुसार ३४ वटा राजमार्गका ८०५ ठाउँमा पहिरो गई सडक अवरुद्ध भयो। अन्य राजमार्ग खुले पनि अझै विपी राजमार्ग पूर्ण रूपमा सहज ढंगले सुचारु हुन सकेको छैन।
बाढीपहिरोका कारण ठूलो मानवीय क्षतिसँगै धेरै नागरिक घरवारविहीन भए। गृह मन्त्रालयका अनुसार असोज ११ र १२ गते परेको ठूलो अविरल वर्षातमा मात्रै बाढीपहिरोबाट २ सय ३८ जनाको ज्यान गएको छ। यी क्षतिसँगै यस वर्षको मनसुनमा बाढीपहिरोबाट धेरै सामुदायिक विद्यालयमा समेत क्षति पुगेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता चन्द्रकान्त भुसालका अनुसार यो वर्षको मनसुनमा देशभरका ४१३ सामुदायिक विद्यालयमा क्षति पुगेको छ।
‘यो वर्षको वर्षातमा हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम‚ रसुवा, मकवानपुर, मोरङ,ललितपुर लगायत विभिन्न जिल्लाका ४१३ विद्यालयमा क्षति पुगेको छ, कुनै पूर्णरूपमा क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ’, उनले भने।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुन गत जेठ २८ गते प्रवेश भएको थियो। उक्त मनसुन गत असोज २० गतेदेखि पूर्णरूपमा बाहिरिएको छ।
कुनै विद्यालय बगायो, कुनै क्षतिग्रस्त
बाढीपहिरोले कुनै विद्यालय बगाएको छ भने केही क्षतिग्रस्त अवस्थामा छन्। शिक्षा मन्त्रालयका अनुसार ललितपुरको ज्ञानज्योति मावि बाढीबाट पूर्णरूपमा क्षति भयो। काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिकाको कालिका माविका २ वटा भवन र शौचालय बाढीले बगायो।
त्यसैगरी तेह्रथुमको फेदाप गाउँपालिकाको महाकाली माध्यमिक विद्यालयको चारकोठे भवन भत्किएको छ। मकवानपुरको ऋषेश्वर आधारभूत विद्यालयका २ वटा कक्षाकोठा लगायत अन्य जिल्लाका विभिन्न विद्यालय पहिरोले पुरिएको छ। विद्यालयमा अध्ययनरत कैयौँ विद्यार्थीको ज्यान गएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो वर्षात्मा ५२ जिल्लाका २ हजार ७ सय विद्यालयमा बाढीपहिरोबाट क्षति पुग्ने र यसबाट एक लाख ३ हजार विद्यार्थी बालबालिका प्रभावित हुने अनुमान गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ सालमा बाढीपहिरोले ९०० विद्यालयमा क्षति पुगेको थियो। करिब एक हजार विद्यालय जोखिममा थिए।
आइतबारदेखि क्षतिबारे सर्भे गरिँदै
शिक्षा मन्त्रालयले बाढीपहिरोबाट क्षति पुगेका यी विद्यालय पुनर्निर्माण, मर्मत गर्न कति बजेट चाहिन्छ भन्ने यकिन गर्न सकेको छैन। शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यसका लागि सर्भे गरेपछि मात्रै खर्चबारे यकिन हुने बताए। ‘हामी अहिले नै यति रकम आवश्यक भनेर भन्न सक्दैनौँ, अब सर्भे हुन्छ। त्यसपछि निर्माण लागत थाहा हुन्छ’, उनले भने।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता भुसालले पनि क्षति पुगेको सम्बन्धित विद्यालयको अनुगमन गर्ने, तथ्यांक संकलन गर्ने र त्यसपछि मात्रै निर्माण लागतबारे थाहा हुने जानकारी दिए। उनका अनुसार यसका लागि आगामी आइतबारदेखि सर्भेको काम सुरु हुनेछ। त्यसपछि क्षति पुगेको विद्यालयको पुनर्निर्माणको काम सुरु हुनेछ।
‘हामीले कहाँको, कुन विद्यालयको के-के क्षति भएको छ भन्नेबारे अध्ययन गर्न टिम बनाएका छौँ, उक्त टिमले स्थलगत अनुगमन गरी अध्ययन गर्नेछ। त्यसपछि खर्चबारे जानकारी हुन्छ’, उनले भने। पूर्णरूपमा क्षति पुगेका विद्यालयमा अस्थायी संरचना बनाएर भए पनि तिहारपछि पठनपाठनलाई निरन्तरता दिइने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।