आँखाको काम बाहिरी दुनियाँ हेर्नु हो। जब आँखाले कुनै कुरा देख्छन् तब मन, बुद्धि, चित्त, अहंकार र अन्य इन्द्रीयहरू सुचारु भइदिन्छन्। आफूभन्दा बाहिरका विषयवस्तु वा प्रश्नहरू यिनै आँखा मार्फत अन्तःकरणमा प्रवेश गर्छन् र आफ्नो धारणा सिर्जना गर्छन्।
हर्ष, शोक, इच्छा, आकांक्षा, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदिका उदयविन्दू नै आँखा हुन्। यिनैको नियन्त्रण र नियमनका लागि योगीहरू सदैव साधनामा तल्लीन रहन्छन् तर हामी जस्ता भोगीहरू त यिनै इन्द्रीयजन्य विषयवासनाको बन्धनले बाँधिएका छौँ र उल्टै यिनले हामीलाई नियन्त्रणमा राखेका छन्।
कुनै विषयको गहिराइमा पुगेर त्यसको आनन्दानुभव गर्नु भन्दा पनि त्यो विषयको बाह्य प्रतिक्रियामा रमाउने बानीलाई हामीले अञ्जानमा नै आत्मसाथ गर्दारहेछौँ। त्यसैले मैले पनि सानैदेखि कुनै विषय प्रसंग र अवसर मिलेमा सकारात्मक प्रतिक्रिया पाउने आशमा आफ्नो धारणालाई सार्वजनिक गरिहाल्थेँ।
त्यति मात्र कहाँ हो र ! आफ्ना अग्रज आफन्तहरूबाट धेरै–थोरै प्रशंसा बटुल्न पनि भ्याइहाल्थेँ। बच्चाबेलादेखि नै आफन्तहरूले मेरा खुबीहरूको खुलेर प्रशंसा गर्थे।
अहिले मेरा साथीभाइ र इष्टमित्रहरूले आफ्ना बाल्यावस्थाका सन्तानहरूको प्रशंसा गरेको सुन्छु — यो त बच्चा भए पनि बुढापाका जस्तै बुझ्ने छ, यसले त यति सानैमा कस्तो परिपक्व कुरा गर्छ, यसको दिमाख त छुरा जस्तो छ एकपटक भनेको कुरा फेरि भन्नै पर्दैन, यसले त आफ्नो—अर्काको ठ्याक्कै चिनिहाल्छ....आदि आदि।
सायद म दुधे बालक हुँदा मेरा आफन्तले पनि यस्तै प्रशंसाका शब्दहरू उच्चारण गर्थे। जब म अलि अलि बुझ्ने भएँ, त्यसबेलादेखि भने यस्तै प्रकृतिका आफूले सुनेका आफ्नै खुबीको प्रशंसाका शब्दहरू अझै पनि मानसपटलमा ताजै छन्।
वास्तवमा ती हाम्रा प्रशंसा गरिएका कार्यहरू त बाल–बालिकाको वृद्धि र विकासका क्रममा हरेक व्यक्तिमा सामान्य तवरले घट्ने घटनाहरू रहेछन् तर हामीमा सानैदेखि 'म नै राम्रो र मेरो नै राम्रो' भनेर सोच्ने अचम्मको बानीको विकास हुँदोरहेछ।
सबैका बच्चाहरूमा क्रमशः यस किसिमका कुरा बुझ्दै जाने बानीको विकास हुने रहेछ। सबैका बच्चामा परिपक्वताको विकास हुँदै गरेको देखिने रहेछ। सबैका बच्चाका दिमाखले अरुले भनेका र गरेका कुराहरू मानसपटलमा सजाउँदा रहेछन्। सबैका बच्चाले आफ्नो र पराई भनेर दैनिक क्रियाकलापकै माध्यमबाट चिन्दा रहेछन् तर हामीलाई आफ्ना बच्चाका क्रियाकलाप मात्र अरुका भन्दा छिटो विकास भएझैँ, अरुले भन्दा केही नयाँ गरेझैँ र अरुले भन्दा केही राम्रो गरेझैँ अनुभव हुँदो रहेछ।
आफन्तहरूका त्यस्तै प्रशंसाका वाणीहरूले बाल्यावस्था देखि नै हाम्रो मानसिकतामा पनि विस्तारै प्रभाव जमाउन थाल्ने रहेछन्। कहिलेकाहीँ त कसैले अहो ! यो त विलक्षण प्रतिभाको छ भनेर भनिदिएकै भरमा आत्मविश्वास ह्वात्तै बढेर आउँदो रहेछ। कक्षामा अध्ययनका क्रममा होस् वा अतिरिक्त क्रियाकलापमा त्यस्तो प्रशंसाको राम्रै प्रभाव पर्दो रहेछ।
अरुले जान्ने छ भनेर प्रशंसा गरिदिएकै भरमा मैले पनि विद्यालय जीवनमा तरबार भन्दा कलम बलियो, बल भन्दा बुद्धि ठुलो, धन भन्दा विद्या ठुलो जस्ता विषयका पक्ष वा विपक्ष जुनसुकै वादविवाद–वक्तृत्वकला आदि प्रतियोगिताहरूमा अरुका विचारलाई तुच्छ वा कमजोर प्रमाणित गर्दै आफ्ना कुरा ठूला, आफ्नो पक्ष राम्रो र आफ्नो भागमा परेको विषय सही प्रमाणित गरेर धेरै पुरस्कारहरू जितेँ।
के सही के गलत भन्ने छुट्याउन भन्दा पनि मेरो भागको राम्रो र मैले रोजेको उत्कृष्ट भनेर प्रमाणित गर्न अध्यात्म देखि विज्ञानसम्मका र इतिहास देखि भविष्यसम्मका प्रसङ्ग जोडेर आफ्नो घोडालाई दौडको अग्रपंक्तिमा पुर्याउने भरपुर प्रयास गर्दै बाल्यावस्थाबाट किशोरावस्था हुँदै युवावस्थाको यात्रामा लागेँ।
मलाई त्यो उमेर र अवस्थादेखि नै कसैले पनि अरुको कमजोरी केलाउनु र अरुका तथ्य अभिव्यक्तिहरूलाई कमजोर प्रमाणित गर्न सक्नु विजयी हुनु होइन भनेर सिकाएनन्।
विस्तारै मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा रुचि बढ्न थाल्यो। कसले कस्तो खेल्छ, कुन टोलीले कस्तो रणनीति अपनाउँछ, कुन टोलीका कस्ता पक्षहरू सबल र दुर्बल छन्, कुन टोलीले कस्तो तरिकाले खेलेको भए उपाधिमा कब्जा जमाउँथ्यो जस्ता विश्लेषणमा आफूलाई अब्बल सम्झँदै गएँ।
आफूले रुचाएको टोलीले जित्दा खुसी हुने र आफैँले जितेसरी उत्सव मनाउने अनि विपरीत टोलीका समर्थकलाई जिस्काउने, प्रतिस्पर्धी टोलीको समर्थक भएकै कारणले गर्दा आफ्नो साथी स्वयं पराजित भएको झैँ गरी उसलाई हीनताबोध नै हुनेगरी बेइज्जती गर्ने र आफ्नो टोलीको जीतमा भन्दा विपक्षी टोलीको हारमा बढी उन्माद चढ्ने किसिमका आदतहरू पनि बढ्न थाले।
एउटा खेल वा प्रतियोगिता जित्नु नै सर्वस्व जित्नु होइन र कुनै प्रतियोगिता वा खेल हार्नु सर्वस्व गुम्नु होइन। खेल त केवल स्वास्थ्य र स्वस्थ मनोरञ्जनका लागि हो भनेर मेलै बुझ्नै सकिनँ।
समयले राजनीति तर्फ चासो बढायोे। राजनीतिक पाटोको विश्लेषण गर्ने, क्याम्पसमा अनावश्यक राजनीति गर्ने र दलका भ्रातृसंगठनमा आबद्धता अनुसार सहपाठीहरूलाई आफ्नो र अर्काको भनी छुट्याउने बानीको विकास हुन थाल्यो।
कुन नेता राम्रो, कुन नेता देशभक्त, कुन नेता गद्दार, कसले कसको इशारामा काम गर्छ। कसको खोइरो खन्नुपर्छ, कसका भनाइको पृष्ठपोषण गर्नुपर्छ। कसको वचन देशको हितमा छ, कसको कार्यशैली अहितमा छ, को आफ्नो हो, को अर्काको हो जस्ता कुराहरूको मूल्यांकन गर्न थालियो।
आफूलाई ठुलै राजनीतिक विश्लेषक सम्झने सम्मको मानसिक अवस्थालाई समेत अपनाइयो। यो उमेरमा मलाई वास्तविक राजनीति परोपकार हो र 'परोपकाराय सतां विभूतयः' भनेर कस्ले सिकाउन सक्थ्यो र ?
विस्तारै खल्ती दुब्लाउन थाल्यो र आवश्यकताहरू मोटाउन थाले। बाले गाउँबाट पठाएको खर्चले दैनिकी चल्न कठिन हुन थाल्यो। त्यसपछि फेरि बा–हजुरबाले आफ्नो लागि के गरिदिनुभयो, के नगरिदिएर गल्ती गर्नुभयो, कुन व्यवसायमा हात हालेर गल्ती गर्नुभयो अथवा कुन ठाउँमा के जोड्नुपर्ने धन कहाँ लगेर खर्च गर्नुभयो भन्ने किसिमका पुर्खाका कमिकमजोरी औँल्याउने दिनहरू शुरु भए।
सबै कुराहरू सबै अवस्थामा सही वा गलत नहुन सक्छन्। समय, परिस्थिति, परिवेश, उमेर र अवस्था अनुसार सही वा गलतको निर्धारण हुन्छ भनेर मैले त्यो उमेरमा बुझ्न सकिनँ।
आफ्ना आवश्यकताहरूका खातिर बा–आमाको मुख ताक्दै बस्नुपर्ने अवस्थाबाट मुक्ति पाउने उपाय त गर्नैपर्यो। सधैँ परजीवी भएर पनि त जिन्दगी चल्दैन। अहिले त बा–आमाको मुख ताकौँला तर आफैँ बा बन्ने दिन आएपछि के गर्ने ? भनेर रातदिन नभनी घन घोटेर बञ्चरो बनाउने किसिमको मेहनत गरेर मुस्किलले एउटा सरकारी जागीरको त्यान्द्रो समात्न सफल भएँ। यसपछि फेरि नयाँ कुराको जानकार बन्न थालेँ।
आफ्नो कार्यालयका हाकिमले कुन विधिले कार्य सञ्चालन गर्नुपर्थ्यो, सेवाग्राही र आफ्नो अन्तर्गतका कर्मचारीप्रति हाकिमको कस्तो भूमिका हुनुपर्छ, सेवाग्राहीको व्यवहार कस्तो स्वभावको हुनुपर्छ, कुन पदमा बसेका कर्मचारी कस्ता छन् र कस्ता हुनुपर्थ्यो, कुन विभागका कर्मचारी बढी कामचोर छन्, कुन कर्मचारी अर्काको चियोचर्चो बढी गर्छन् लगायत कुराको जानकार हुन थालेँ।
म स्वयं एउटा सामान्य राजपत्र अनङ्कित श्रेणीको कर्मचारी भए पनि कुन कार्यालयको सञ्चालन विधि कस्तो प्रकृतिको हुनुपर्छ? कार्यालय सहयोगी देखि कार्यालय प्रमुखसम्मले कस्तो कार्यशैली अपनाउनुपर्छ भन्ने हरेक कुराको विश्लेषण क्षमताले म भरिपूर्ण भएँ।
फलानो निकायका प्रमुख फलाना बहादुरले आफ्नो कार्य सञ्चालनमा के गलत गरे र के सही गरे, के गर्दा बढी उपयुक्त र प्रभावकारी हुन्थ्यो सबै मूल्यांकन गर्न थालेँ। तर यस बीचमा मैले मेरो आफ्नै कार्यशैली र कार्यक्षमताको मूल्यांकन कहिल्यै गरिनँ।
मैैले के गर्नुपर्थ्यो, के गरिरहेको छु, मेरो कार्यशैलीबाट सेवाग्राहीहरू सन्तुष्ट छन् कि छैनन्, म स्वयं सही छु या गलत छु, लगायतका आत्ममूल्यांकनका कार्य गर्न कहिल्यै जाँगर गरिनँ।
वास्तवमा मेरो यस्तो स्वभाव र व्यक्तित्वको विकास त्यही बच्चाबेलामा सुनेका प्रशंसाका शब्दहरूदेखि नै शुरु हुन थालेको रहेछ। आजसम्म पनि त्यही स्वभावले निरन्तरता पाइरह्यो। यस्ता किसिमका बानीको विकास हुँदा पाइने प्रशंसाका शब्दहरूले नजानिँदो हिसाबमा 'नियम कानुनले निर्देश गरेका कुराहरू हरेक व्यक्तिले पालना गर्नुपर्दछ तर म बाहेक' भन्ने किसिमको स्वभावको विकास गराउँदो रहेछ।
अरु सबैले गरेका सही र गलत कार्यको मूल्यांकन गर्दैै जाँदा अर्काको आँङको जुम्रा देख्न सक्ने हैसियत बनाइसकेका आँखाले आफ्नो आङको भैँसी पनि नजर अन्दाज गरिदिने रहेछन् र आफू भलो त जगत भलो भन्ने उक्तिलाई सार्थक बनाइदिन खोज्ने रहेछन्।
त्यसैले पो बृहदारण्यकोपनिषद्ले 'आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यश्च' (आफूलाई हेर, आफैँलाई सुन, आफैँलाई मनन गर, आफ्नै बारेमा निरन्तर ध्यान र चिन्तन गर) भनेर उपदेश गरेको रहेछ।
वास्तवमा बाल्यावस्थादेखि नै हामीले सिक्नुपर्ने आत्ममूल्यांकन रहेछ। हरेक व्यक्तिले म राम्रो बन्न सके संसार राम्रो हुन्छ, मैले सही कार्य गरे संसार सुध्रिन्छ, म सही मार्गमा लागेँ भने संसारका हरेक व्यक्ति सही मार्गमा हिँड्ने प्रयत्न गर्छन्, म जिम्मेवार बनेँ भने अरुलाई पनि जिम्मेवारीबोध हुन्छ भन्ने मानसिकताको विकास भए त संसार झनै सुन्दर पो बन्नेरहेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।