रौतहट : मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न एकजना भारतीयलाई प्रहरीले आज रौतहटमा ७ किलो चाँदीका गहनासहित पक्राउ गरेको छ।
भारत बिहार प्रदेशको सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार ७ किलो १८७ ग्राम चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ।
बरामद चाँदीका गहनाको तौल ७ किलो १८७ ग्राम रहेको र यसको अनुमानित मूल्य नेपाली रुपैयाँ ७ लाख ७७ हजार ९२० रुपैयाँ ८८ पैसा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। साहले प्रयोग गरेको मोटरसाइकलको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।
मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो।
मोटरसाइकलसहित कुल ८ लाख २७ हजार ९२० रुपैयाँ बराबरको बरामद गरगहना र चन्देश्वर साहलाई कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, अरौया, बञ्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौलाखालका हातहतियार, पटकालगायत अवैध सामग्री नेपालतर्फ भित्रिने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।