काठमाडौँ : कवि र चित्रकारबीच के भिन्नता छ भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भने, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत।”
भावनाको कलात्मक सङ्गम गराउन यति वेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा १५ जना कविका विभिन्न शीर्षकका कवितालाई १५ जना चित्रकारले प्रत्यक्ष रुपमा क्यानभासमा चित्रमा उतारेका छन्।
चित्रकार खनालले कवि मणि लोहनीको ‘जन्मस्थल’ शीर्षकको कवितामा चित्र बनाउँदै भने, “कविले शब्दमा जे भन्न खोजेको छ, त्यही भाव चित्रमा फरक शैलीले आउनसक्छ। यसलाई नै शब्द र रङ्गमार्फत व्यक्त सिर्जना भनिन्छ।”
चित्र बनाउनुअघि ५ पटकसम्म कविता पढेर त्यसको भाव महसुस गरेको उनले बताए।
भावअनुसार कवितालाई मिल्दो र सुहाउँदो रङमा उनले क्यानभासमा चित्रमा उतारेका हुन्। उनको चित्र बनाउने शैली अमूर्त हुन्छ। जहाँ कुनै आकृति हुँदैन मात्रै रङले भाव व्यक्त गर्छ। खनालले मूर्त आकृतिबिनै कविताको मर्म र भाव क्यानभासमा उजागर गर्न प्रयत्नशील रहेको उल्लेख गरे।
नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले साहित्य र चित्रकलाबीचको सिर्जनात्मक भावना जागृत गराउन एकदिने कार्यशाला आयोजना गरिएको बताए।
कार्यशालामा कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह सायमी, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कविता क्यानभासमा उतारिएका थिए।
यसैगरी कलाकार किरण मानन्धर, केके कर्मचार्य, रमेश खनाल, दिनेश्वर महतो, अरुणा हिङ्माङ, सौरगङ्गा दर्शनधारी, सन्तोष राई, दिपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले, सञ्जय वान्तवा, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, सुन्दर लामाले क्यानभासमा उतारेका थिए।
एकदिने कार्यशाला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालले आयोजना गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।