स्नातकका नेपाली र अंग्रेजीमा प्रश्न सोधिने भएपछि चौतर्फी स्वागत
स्नातकका नेपाली र अंग्रेजीमा प्रश्न सोधिने भएपछि चौतर्फी स्वागत
काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गत बिहीबार आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरिन्। उनका उपलब्धि विवरण ४२ बुँदामा छन्।
४१ नम्बरको उपलब्धिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको।’
उनले केही दिनअघि मात्रै पनि सामाजिक सञ्जालबाट त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको जानकारी दिएकी थिइन्।
तर उक्त निर्णय वर्तमान शिक्षामन्त्री भट्टराईको पालामा नभई पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठकै कार्यकालमा भएको थियो। २०८० चैत्र १६ गते सुमनाले सामाजिक सञ्जालबाट जानकारी दिँदै उल्लेख गरेकी थिइन्, ‘विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको छ, अब त्रिविको स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा, त्रिविबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा गरिने भएको छ। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गते बसेको बैठकले आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ। धेरै धन्यवाद उपकुलपतिज्यू।’
सुमना श्रेष्ठले पनि २०८१ असार ४ गते आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरिन्। उक्त उपलब्धिमा पनि यही प्रश्नपत्र निर्माणबारे समावेश छ। सय दिने उपलब्धिअन्तर्गत उच्च शिक्षा नीतिगत पहलहरूको त्रिवि हकमा भनिएको छ, ‘आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा।’
कार्यान्वयन कहिले ?
पूर्व र हालका शिक्षामन्त्री दुवैजनाले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छापिने भनेर निर्णयसँगै आफ्नो १०० दिने उपलब्धिमा त समेटे तर हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।
त्रिविले नै २०८० चैत १६ गते सूचना जारी गर्दै भनेको थियो, ‘त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणालीअनुसारका सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ।’
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पनि २०८० साउनमै आगामी नयाँ शैक्षिक सत्र अर्थात् २०८१ वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने बताएका थिए। उनले त्यसवेला थाहाखबरसँग भनेका थिए, ‘अहिले यो विषयमा छलफल पनि गर्दै छौँ। नयाँ शैक्षिक सत्रबाट यो व्यवस्था गर्ने गरी तयारी गरेका छौँ।’ हालसम्म उक्त व्यवस्था कार्यान्वयनमा आएको छैन।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले अबदेखि स्नातक तहमा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र निर्माण गरिने जानकारी दिए।
उनले भने, ‘अबदेखि जसले स्नातक तहको वार्षिक परीक्षाका लागि फारम भर्छ, उसैको पालादेखि अंग्रेजी र नेपाली दुवै माध्यममा प्रश्नपत्र छापिन्छ। यसका लागि निर्णय भइसक्यो, कार्यान्वयनमा आउँछ। अबदेखि विद्यार्थीहरूमा अलमल हुँदैन।’
‘यो प्रावधान विद्यार्थीका लागि उपयुक्त छ’
प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै विषयबाट छापिने भएपछि विद्यार्थीहरूमा सकारात्मक सञ्चार भएको त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक बालाकृष्ण अधिकारी बताउँछन्। नेपाली विषयबाहेक अन्य विषयमा अंग्रेजीमा मात्र सोध्ने गरिन्थ्यो। नेपाली विषयमा पढेर अंग्रेजी भाषामा प्रश्न पत्र दिँदा विद्यार्थीलाई समस्या परिरहेको अवस्थामा यो नियमले विद्यार्थीलाई सहज हुने अधिकारीले बताए।
‘विद्यार्थीहरूले आफूले पढेको वा जानेको कुरा पनि अंग्रेजीमा प्रश्न सोध्दा समस्या हुने अवस्था थियो। अब यो समस्या हल हुने देखिएको छ’, उनले भने।
कतिपयले स्नातक पढिसकेका विद्यार्थीका लागि अंग्रेजी भाषामा प्रश्न सोध्दा के फरक पर्छ? वा अंग्रेजी भाषाको व्यापकता भइरहेको बेला नेपालीमा प्रश्न सोध्नु उचित नभएको पनि बताइरहेका छन्। तर, अधिकारी भने यो कुराको खण्डन गर्छन्। ‘ग्लोबाइलाइजेसन’को नाममा स्थानीय भाषालाई भुल्न उचित नहुने उनले बताए।
‘स्थानीय भाषा र ज्ञान भुलेर विश्वयापी रूपमा पुगेको ज्ञानको कुनै अर्थ छैन। हामीले हाम्रा विद्यार्थीहरूलाई आफ्नो ज्ञान आफ्नो भाषामा प्राथमिकता दिन सक्नुपर्छ। तब मात्र त्यो भाषा विकसित भएर विश्वव्यापीकृत ज्ञानमा पुग्ने हो। त्यसकारण आधार बिर्सेर दिइने विश्वव्यापी ज्ञानको कुनै औचित्य छैन। त्यही आधारलाई टिप्नका लागि नेपालीमा पनि प्रश्न दिनुपर्छ भन्ने विश्वविद्यालयले प्रावधान राखेको हो। जुन उपयुक्त छ। यसले धेरै विद्यार्थी लाभान्वित हुने देखिन्छ’, उनले भने।
‘जबर्जस्ती विद्यार्थीमा अंग्रेजी लाद्नु गलत’
स्नातकका विद्यार्थीलाई प्रश्नपत्र नेपालीमा हुनुपर्छ भनेर वर्षौदेखि वकालत गरिरहेको बताउँछन् शिक्षाविद् विद्यानाथ कोइराला। ढिलो भए पनि सही निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिनुपर्ने उनी बताउँछन्।
विश्वव्यापीकरण भनेको अंग्रेजी मात्र नभएको उनको टिप्पणी छ। ‘विश्वका धेरै देशमा अंग्रेजी बोलिँदैन। के ती देशहरू कमजोर छन् त?’, उनले भने, ‘अंग्रेजी र नेपालीमा राखिदिँदा पछि हाम्रा विद्यार्थीहरूलाई समस्या हुँदैन। जसलाई विश्वका अरूका देशसँग प्रतिस्पर्धा गर्न रूचाउँछ उसले अंग्रेजी पढ्छ। लेख्छ। जसलाई नेपाली भाषामा नै केही गर्न चाहन्छ। उसका लागि नेपाली भाषा पढ्छ। लेख्छ।’
धेरै विद्यार्थीहरूले अंग्रेजीका कारण आफूहरू फेल हुनुपरेको दु:ख सुनाएको उनको अनुभव छ। ‘अब प्रश्न नबुझेर नै फेल हुने अवस्था रहेन। अंग्रेजीमा प्रश्न आउने फेरि नेपालीमा लेख्न पाउने भन्ने नियम सुहाउँदो थिएन। नेपालीमा लेख्नुपर्ने भए पछि अंग्रेजीमा किन प्रश्न सोध्नु?’, उनले भने। सरकारले विद्यार्थीहरूलाई भाषामा प्राथमिकता राखेकोमा उनले खुशी व्यक्त गरे। आजसम्म विद्यार्थीहरूलाई जबर्जस्ती अंग्रेजी लादिएको उनले बताए। उच्च शिक्षा अंग्रेजीमा हुनुपर्छ भनेर आजसम्म विद्यार्थीलाई दुख दिइयो। अब विद्यार्थीलाई सहज हुने उनले बताए।
‘हामीले जबर्जस्ती अंग्रेजी पढिदिनुपर्ने?’
नेपाली विद्यार्थीलाई अंग्रेजी प्रश्न सोध्दा त्यसको असर आफू र आफ्ना धेरै साथीहरूले भोगेको बताउँछन् नेपाल कमर्स क्याम्पसबाट भर्खर स्नातक सकेका विशाल रोकाहा। ‘भाषाका कारण विद्यार्थी फेल हुने अवस्था थियो। म पनि त्यहीमध्ये एक हुँ। अंग्रेजीमा आउने प्रश्न कै कारण फेल हुने विद्यार्थी धेरै छन्। उनीहरूले नजानेर होइन अंग्रेजी प्रश्नको कारण हो’, उनले भने। स्नातक पढ्न आउने धेरै विद्यार्थी सरकारी विद्यालयबाट आएको हुने उनले बताए।
‘हामी अंग्रेजीको कमजोर धरातलबाट आएका हौँ। स्नातकका आउने अंग्रेजी प्रश्नले हामीलाई असर गरिरहेको थियो। अब भने अंग्रेजी नजानेर फेल हुने अवस्था रहेन’, उनले थाहाखबरसँग भने।
ताहाचल क्याम्पस की कल्पना डुम्रेले सरकारले ल्याएको यो नीतिले विद्यार्थीहरूलाई उत्साह थपिएको टिप्पणी गर्छिन्।
'हामीले हाम्रो भाषा हुँदाहुँदै अंग्रेजी भाषा पढिदिनुपर्ने? अनि अंग्रेजी भाषाकै कारण कमजोर साबित हुनुपर्ने?' उनले भनिन्। पहिले आफ्नो भाषामा निपुण भएपछि अन्य भाषामा आशक्ति बढाउनु राम्रो रहेको उनले बताइन्।
‘पहिले आफ्नो भाषामा उत्कृष्ट बनौँ न त्यसपछि अन्य भाषामा पनि विस्तारै लागौँला’, उनले भनिन्। अंग्रेजी र नेपाली प्रश्नपत्रले स्नातकका विद्यार्थीको राम्रो नतिजा आउन सक्ने उनको बुझाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।