किमाथाङ्का : संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा भएको नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको पञ्चकन्या युथ क्लबले जितेको छ।
महेन्द्र माविको खेलमैदानमा आज भएको प्रतियोगिताको फाइनल खेलमा पञ्चकन्याले धनकुटाको चुलाचुली युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफसम्म ०–१ गोल अन्तरमा खेलेको पञ्चकन्याले दोस्रो हाफपछि लगातार २ गोल गर्दै उपाधि कब्जा गरेको हो। चुलाचुली युवा क्लब धनकुटाले उपविजेतामा चित्त बुझाएको छ।
एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा ‘सामाजिक सदभावका लागि युवा एकता–विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ नारासहित प्रतियोगिता यही कात्तिक ७ गते शुरु भएको थियो।
विजयी टिमलाई नगद २ लाख रुपैयाँ, कप र मेडलले सम्मान गरिएको छ। उपविजेताले नगद १ लाख रुपैयाँसहित कप र मेडल प्राप्त गरे।
सेमिफाइनलमा पुगेका २ टिमलाई नगद २५/२५ हजार रुपैयाँ प्रदान गरिएको आयोजक एड्भान्स क्लबले जनाएको छ।
उत्कृष्ट गोलरक्षक चुलाचुली युवा क्लब धनकुटाका निकेश सुन्दास, सर्वोत्कृट खेलाडी पञ्चकन्याका जीवन मगर, सर्वाधिक गोलकर्ता पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लबका जोन जोरी घोषित भए। उनीहरुले नगद र ट्रफी प्राप्त गरे।
फुटबल प्रतियोगिताको समापनमा कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले यस्ता प्रतियोगिताले प्रदेशको खेल विकासमा सहयोग पुग्ने बताए।
आयोजक एड्भान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्न २०६४ सालदेखि निरन्तर प्रतियोगिता गर्दै आएको छ।
प्रतियोगितामा कोशी प्रदेश प्रहरी टिमसहित विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।