|

बाँके : सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छा बिक्री गर्न थालेका छन्। 

तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको कपडाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री भइरहेको बताए। ‘गत वर्ष स्थानीय प्रशासनले प्लाष्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन्’, उनले भने। 

अर्का स्थानीय व्यवसायी अकबर अलीले स्थानीय सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको  प्रयोगमा रोक लगाएपछि मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छा बिक्री भइरहेको बताए। मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका लागि राखिएको जानकारी दिँदै उहाँले तिहारका लागि भाइ मसलाको खपत बढेको बताए। 

“हामीले कोहलपुरबाट उत्पादन भएको भाइ मसला नेपालगञ्ज ल्याएर बेचेका छौँ”, उनले भने। तिहार नजिकिँदै जाँदा नेपालगञ्जको सदरलाइन, एकलैनी, त्रिवेणीमोड, बागीश्वरी टोल, घरबारीटोल, न्यूरोड, त्रिभुवन चोकलगायत क्षेत्रमा भाइमसला, टीका, माला, फलफूललगायत विभिन्न स्थानमा सामान किन्नेहरूको घुइँचो लागेको छ।
  
बागीश्वरी मन्दिर छेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझीलगायत स्थानमा कपडाले बनेका रङ्गीबिरङ्गी मालाले झकिझकाउ देखिएको छ । उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटले प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको बताए।

बाँकको कोहलपुर नगरपालिकालगायतले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाउँदै स्थानीय किसानले उत्पादन गरेका फूलका माला र फूल तिहारलगायत पर्वमा उपभोग गर्न आग्रह गरेको थियो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.