|

काठमाडौँ : नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा देखिदै आएको प्रमुख समस्यामध्ये बालबालिकामा हुने विभिन्न प्रकारको क्यान्सर हो।

बालबालिका उमेर समूहमा हुने नसर्ने रोगमध्ये क्यान्सर प्रमुख रोग हो। नेपालमा वर्षेनि कति बालबालिकालाई क्यान्सर देखिन्छ भन्ने यकिन विवरण सरकारसँग नभए पनि यो क्षेत्रमा लामो समयदेखि उपचाररत चिकित्सक तथा स्वास्थ्य संस्थाको विवरणअनुसार नेपालमा वार्षिक लगभग एक हजार ४ सय बालबालिकामा विभिन्न प्रकारका क्यान्सर देखिने गरेको अनुमान छ।

बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, ब्रेन ट्युमर, आँखाको क्यान्सर, ओभरीको ट्युमर आदि हुन्। तर नेपालमा बालबालबालिकामा सबैभन्दा धेरै देखिने क्यान्सर भनेको रक्त क्यान्सर (ल्युकेमिया) रहेको बताउँछिन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिटायाट्रिक विभागकी बाल हेमाटोलोजिस्ट तथा अन्कोलोजिस्ट डा. सुचारिता तुलाधर। ‘हाम्रोमा १४ वर्षमुनिका बालबालिकामा देखिने सबैभन्दा प्रचलित क्यान्सर भनेको ल्युकेमिया हो‘‚ डा. तुलाधरले भनिन्‚ ‘तर यो समस्यालाई समयमै पहिचान गरेर उपचार गरे बालबालिकामा हुने ल्युकेमिया प्रायः उपचापछि पूर्ण निको पनि हुन्छ।‘   

तर अभिभावकलाई बालबालिकामा हुने  क्यान्सरका लक्षणबारे उचित जानकारी नहुँदा समयमै अस्पताल नआउने र ढिला अस्पताल आएर उपचार गर्दा उपचारमा कठिनाइ हुने हुँदा ठिक हुने क्यान्सरले पनि जटिलता थप्ने गरेको छ। त्यसैले यसका लागि समयमा पहिचान र उपचार महत्त्वपूर्ण रहेको बताउँछन् अर्का वरिष्ठ रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. ईश्वरमान सिंह। ‘समयमै पहिचानपछि उपचार गर्न सके बालबालिकामा हुने क्यान्सर प्रायः पूरै निको हुन्छ तर हाम्रोमा ढिलो पहिचान र पहिचानपछिको पूर्ण उपचार नहुँदा सन्चो हुने रोग पनि जटिल बन्ने गरेका छन्’‚ डा. सिंहले भने।

बालबालिका उमेर समूहमा रक्त क्यान्सर (ल्युकेमिया) जस्ता क्यान्सर देखिन्छ। नेपालमा समयमै अस्पताल पुग्न नसक्नु र  पूर्ण उपचार गर्न नसक्दा ७० प्रतिशत बालबालिकामा क्यान्सर पूर्ण निको हुँदैन।

बालबालिकामा यस्ता लक्षण देखिए हुनसक्छ क्यान्सरको जोखिम

विनाकारणको लगातार ज्वरो

बाल हेमाटोलोजिस्ट तथा अन्कोलोजिस्ट डा. तुलाधरका अनुसार बिनाकारण बालबालिकामा लामो समयसम्म ज्वरो आइरहने समस्या बाल क्यान्सरको एक प्रमुख लक्षण हो। लामो समयसम्म ज्वरो आइरह्यो भने अभिभावकले सतर्कता अपनाउनुपर्छ। ‘विना कारण बालबालिकामा लामो समयसम्म ज्वरो आइरहन्छ भने एकपटक विज्ञ चिकित्सकसँग परीक्षण गराउनुपर्छ किनभने प्रायः हाम्रोमा उपचारमा आउने बालबालिकामा शुरुमा ज्वरो आइरहेको तर ठिक नभएको भन्दै अभिभावकले आफ्ना बच्चा लिएर आउनुहुन्छ’‚ डा. तुलाधरले भनिन।

तौल घट्दै जानु र बच्चा कमजोर देखिन थाल्नु

यस्तै बाहिर हेर्दा कुनै स्वास्थ्य समस्या नदेखिने तर बालबालिका कमजोर तथा अल्छी गर्ने जस्तो लक्षण लामो समयसम्म देखिएमा अभिभावकले बेवास्ता गर्नु हुँदैन किनभने यो पनि बालबालिकामा हुने क्यान्सरको एक लक्षण हो। यस्तै लगातार बालबालिकाको तौल घट्दै गइरहेको छ भने पनि बेवास्ता गर्न नहुने डा. तुलाधरको भनाइ छ। उनका अनुसार यो पनि बाल क्यान्सरको लक्षण हुनसक्छ।

रक्तस्राव हुनु तथा शरीरमा नीला डाबर देखा पर्नु

अर्का क्यान्सर विशेषज्ञ डा. सिंहका अनुसार बालबालिकाहरूमा समय- समयमा  दाँत र दिसाबाट रक्तस्राव हुने, शरीरमा नीलो डावर देखिने, रक्ताल्पता हुने, बालबालिकाले शरीरमा दुखाइको अनुभव गरेको बताउने तथा रगतम प्लेटलेट कम देखिए कतै बालबालिकामा क्यान्सर देखिएको छैन भनेर आशंका गरेर जचाउनु आवश्यक हुन्छ। ‘बालबालिकाहरूमा समय- समयमा  दाँत, दिसाबाट रगत बग्ने ने, शरीरमा नीलो डावरको समस्यालाई अभिभावकले बेवास्ता गर्नु हुँदैन। यो बालबालिकामा हुने क्यान्सरका प्रायः साझा लक्षण हुन्’‚ डा सिंहले भने‚ ’यस्तै बालबालिकामा घाँटीमा गाँठागुठी आइरहेको छ, टन्सिल भइरहेको छ र पेट फुले जस्तो देखिए पनि बेवास्ता गर्न हुँदैन। यो पनि बाल क्यान्सरको प्रमुख लक्षण हो।’

समयमा नै पहिचान भए उपचार सहज र सफल

बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमै पहिचान गरेर पूर्ण उपचार गरेमा ९० प्रतिशत पूर्ण सन्चो हुने भए पनि उपचार जटिल र महँगो हुने हुँदा रोग पहिचान भएपछि उपचार नै नहुने वा बीचैमा उपचार छाड्ने गरेको पाइन्छ।

डा. सिंहका अनुसार वयस्कभन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना पनि धेरै हुन्छ। तर यसका लागि समयमै पहिचान रपूर्ण उपचार महत्त्वपूर्ण विषय रहेको छ। डा. सिंहले भने‚ ‘बालबालिकामा हुने क्यान्सरको उपचार लामो हुन्छ। क्यान्सरको प्रकृति हेरेर २-३ वर्षसम्म उपचार गर्नुपर्छ। प्रायः बालकको २ देखि ३ र बालिकाको दुई वर्षको उपचारको अवधि हुन्छ। कुन प्रकारको क्यान्सर देखिएको भनेर पत्ता लगाइ सकेपछि कस्तो उपचार गर्ने भन्ने निर्धारण हुन्छ।’

१० वर्षमुनिका उमेरका बालबालिकामा हुने क्यान्सरको उपचार सफल हुने दर ९० प्रतिशतसम्म हुने उनको भनाइ छ। ‘बालबालिकामा देखिने क्यान्सर निको बनाउन सकिने सम्भावना पनि धेरै हुन्छ‚ १० वर्षमुनिका उमेरका बालबालिकामा हुने क्यान्सरको उपचार सफल हुनेदर ९० सम्म हुन्छ’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.