‘प्रत्यक्ष भेटेर कुरा गर्न पाउँदा धेरै कुरा सिक्यौँ’
‘प्रत्यक्ष भेटेर कुरा गर्न पाउँदा धेरै कुरा सिक्यौँ’
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कात्तिक ४ गतेदेखि कक्षा-१० का विद्यार्थीहरूका लागि दशैँ र तिहारको अवधिमा शुरू गरेको ‘फेस्टिभल क्याम्प’ हालसम्म पनि सञ्चालनमा छ। महानगरपालिकाले कक्षा-१० को शैक्षिक नतिजा सुधार गर्न कात्तिक ४ गते १६ वटा विद्यालय (केन्द्र)मा एकैपटक ‘फेस्टिभल क्याम्प’ को उद्घाटन गरेको थियो।
महानगरपालिकाका अनुसार ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालयमा क्याम्प राखिएको छ। यी विद्यालयमा दैनिक कम्तिमा ७६ वटा कक्षा सञ्चालन भइरहेका छन्।
जसमध्ये उत्प्रेरणात्मक कक्षामा ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रममा पनि सञ्चालन भइरहेका छन्। उक्त कार्यक्रममा मिस, विभिन्न कलाकारहरू कक्षा कोठामै गएर विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।
कक्षाकोठाको साक्षात्कारमा कसले, के भने ?
महानगरपालिकाले उक्त क्याम्प शुरू गरेको भोलिपल्ट अर्थात् कात्तिक ५ गते अभिनेत्री स्वस्तिमा खड्काले फेस्टिभल क्याम्पको उत्प्रेरणात्मक कक्षामा पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी थिइन्।
उनले अन्तरक्रिया कार्यक्रममा भनिन्, ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ, त्यसलाई अरूले विश्वाश नगर्न सक्छन्, अरूले विश्वाश गरून् या नगरून् यसले केही फरक पार्दैन तर तपाईंमा लक्ष्यमा पुग्ने रूचि छ कि छैन, त्यसले फरक पार्छ। आफ्ना भावनाहरू अभिभावकलाई सुनाउन छुटाउनु हुँदैन, नडराउनु, भित्री चाहनाअनुसार लक्ष्य बनाउनु, गर्न नसक्ने केही छैन।’
कात्तिक ६ गते चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा, मिस नेपाल २०१८, शृंखला खतिवडाले पद्मकन्या विद्याश्रम डिल्लीबजारमा र गायक वाङ्देन शेर्पाले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरे।
उनीहरूले कक्षामा आफू अहिलेको ठाउँमा पुग्दा प्राप्त गरेका सफलता र उतारचढावका कथा सुनाएका थिए।
त्यसक्रममा कलाकार गिरिले भने, ‘मेरै सन्दर्भमा कुरा गर्नुपर्दा मैले चलचित्र बनाउँछु भन्दा धेरै पत्याएका थिएनन्। म अभिनेता बन्ने कुरा त झन् पत्याएनन्, कसैले रूप र उचाइको कुरा गरे, कसैले चालढाल मिल्दैन भने यति सबै कुरा सुनेर पनि मैले आफ्नो लक्ष्यलाई छोडिनँ, निरन्तरता दिएँ, यही कारण अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापित ठाउँ बनाउन सकेको छु।’
खतिवडाले आफू कक्षा-१० सम्म पनि भविष्यमा के बन्छु भन्नेमा केही नसोचेको सुनाइन्।
‘म सामान्य विद्यार्थी थिएँ, कक्षा ९ तिर हुँदा पाइलट बन्छु भन्ने लागेको थियो, धेरैले तँ राम्री छेस् पाइलट होइन, एअर होस्टेज बन भन्थे। यसबेला पाइलटभन्दा माथिल्लो ठाउँमा पुग्नुपर्छ भन्ने लागेको थियो तर त्यो ठाउँ कुन हो थाहा थिएन। ठूलो लक्ष्य लिँदा त्यससँग सम्बन्धित धेरै उपलब्धिहरू त लक्ष्य नबनाइ पनि प्राप्त हुन सक्छन्, यसकारण जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्न, तयारी भने गरिरहनु पर्छ,’ उनले भनिन्।
गायक शेर्पाले प्रयत्न (इफोर्ट), डेडिकेशन (समर्पण) र प्रतिवद्धता (कमिटमेन्ट) यी ३ वटा अस्त्र जुनसुकै पेसामा पनि चाहिने बताए।
उनले भने, ‘व्यक्तिलाई पेसामा मर्यादित बनाउने साधन यिनै हुन्, धेरै मानिसहरू सपनाको देश भनेर अमेरिका जान्छन्, म त्यही अमेरिकामा इञ्जिनियरिङ् अध्ययन गरेर फर्केको हुँ, यहाँ आएर पनि कमाइ राम्रो थियो, यससँगै गायन क्षेत्रमा काम गर्ने इच्छा पूरा गर्दै अभ्यास गर्न थालेँ, यहाँ पनि मेरा लागि राम्रो छ।’
राष्ट्रिय क्रिकेट टिमका पूर्वक्याप्टेन ज्ञानेन्द्र मल्लले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर विद्यार्थीहरूसँग खेलबारे अन्तरक्रिया गरे।
उनले विद्यार्थीहरूलाई क्रिकेट खेलका आधारभूत सीप सिकाउँदै भनेका छन्, ‘सबै व्यक्ति सबै ठाउँमा उत्कृष्ट हुन सक्ने सम्भावना हुँदैन, हरेकका आफ्ना आफ्नै रूचि र क्षमता हुन्छन्, त्यसअनुसार कुनै एक क्षेत्रमा सफल भए पुग्छ।’
कात्तिक ९ गते चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग अन्तरक्रिया गरिन्।
‘बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुन्छ,’ उनले विद्यार्थीहरूलाई भनिन्, ‘त्यसैले यसलाई राम्ररी उपयोग गर्नुहोला। कालो, गोरो, अग्लो, होचो हुनुले कुनै पनि सफल हुनलाई असर गर्दैन, तपाईँ जस्तो हुनुहुन्छ, त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो। सफल हुन धैर्य र मिहिनेत चाहिन्छ।’
चलचित्र निर्माता, निर्देशक तथा अभिनेता तुलसी घिमिरेले पनि विद्यार्थीहरूसँग साक्षात्कार गरे। त्यसक्रममा उनले भने, ‘दु:ख छ तर पनि अगाडिको बाटो सुख होला भन्ने थियो, त्यसैले हमेशा अगाडि बढिरहेँ, काँडा जति नै तिखो भए पनि आफ्नो बोटलाई घोच्दैन।’
कन्दरा ब्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले पनि विद्यार्थीहरूसँग साक्षात्कार गरे। उनले भने, ‘भोलि मैले अपनाउने पेसामा पुग्ने बाटो आज कल्पना गर्न सक्नुपर्छ, त्यसलाई सपना भनिन्छ, आज कक्षा-१० मा अध्ययन गर्ने विद्यार्थीले त्यो सपना देख्नुपर्छ, अनि पछ्याउँदै हिड्न सजिलो हुन्छ।’
गत सोमबार ‘बिबिसि मास्टर सेफ विजेता’ सेफ सन्तोष शाह, द ग्रेट ब्रिटिस वेक अफ’ प्रतियोगिताको २०२४ का विजेता सेफ नारायण श्रेष्ठले पनि जनप्रभात माध्यमिक विद्यालयको कक्षा कोठामा विद्यार्थीहरूसँग साक्षात्कार गरे।
त्यसबेला शाहले भने, ‘किताब (परीक्षा)मा असफल भएर केही हुँदैन, जीवनमा भने असफल हुनुहुँदैन, मेरो अनुभव यही हो। म पढाइमा उति तेज थिइनँ, यति भएर पनि मैले खाना बनाउने कलाको विश्वस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्न सकेँ।’
मिस नेवा २०२३ सकिना महर्जनले पनि विद्यार्थीहरूसँग साक्षात्कार गरिन्।
विद्यार्थीहरूमा खुशी
आफूले किताबमा पढिरहेका व्यक्तित्व, टेलिभिजनको पर्दामा देखिएका कलाकारहरूलाई प्रत्यक्ष रूपमा देख्न पाउँदा विद्यार्थीहरू मख्ख भएका छन्।
विद्यार्थीहरूले साक्षात्कार कार्यक्रममा विभिन्न जिज्ञासा राखेका थिए। कक्षाकोठामा सहभागी विद्यार्थीहरूले भनेका छन्, ‘किताब पढ्दा हामीले जति बुझेका थियौँ, प्रत्यक्ष भेट्दा किताबमा लेखिएकोभन्दा धेरै बुझ्न पायौँ, टिभीको स्क्रिनमा देखेका कलाकारहरूलाई पनि प्रत्यक्ष भेट्न र कुरा गर्न पाउँदा हामी खुशी छौँ।’
काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले पनि विद्यार्थीहरू निकै खुशी भएको जानकारी दिइन्।
उनले भनिन्, ‘टाढाबाट देखेको व्यक्तिहरूसँग भेट्दा, अन्तरक्रिया गर्दा, उहाँहरूबाटै प्रशिक्षणमा सहभागी हुन पाउँदा उनीहरूले भविष्यको लक्ष्य निर्धारण गर्न फराकिलो बाटो भेटेको महसुस गरेका छौँ।’
‘जाडो बिदाका समयमा पनि निरन्तरता दिनेछौँ’
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कक्षा-१० को शैक्षिक नतिजा सुधार गर्न फेस्टिभल क्याम्पको आयोजना गरिएको र यसबाट विधार्थीहरूले धेरै कुरा सिक्ने बताए।
‘सामुदायिक (सरकारी) विद्यालयको शैक्षिक नतिजाका बारेमा नकारात्मक टिप्पणी भइरहन्थ्यो, अवसर र वातावरण नभएको बताइन्थ्यो तर अब महानगरपालिकाले सामुदायिक विद्यालयलाई त्यस ठाउँबाट उठाएको छ,’ उनले भने, ‘नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ, हामीले नतिजा प्राप्त गरेका असल र सफल अभ्यासलाई सिकाइका रूपमा प्रवर्द्धन गर्नेछौँ।’
यसअघि तिहारसम्म सञ्चालन गर्ने भनिएकाे याे कार्यक्रम जाडो विदाका समयमा पनि निरन्तरता दिने काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगका सहायक विज्ञ पोखरेलले बताएकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।