|

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि संगठनले विश्वव्यापी टिबी अनुगमन शुरु गरेयता सबैभन्दा बढी हो।

डब्लूएचओले मंगलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टीबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति भएको देखाएको छ, जसमा पर्याप्त कोष नहुनु जस्ता निरन्तर चुनौती रहेका छन्’, भनी उल्लेख गरेको छ।

टीबीसँग सम्बन्धित मृत्युको सङ्ख्या सन् २०२२ को १३ लाख २० हजारबाट घटेर गत वर्ष १२ लाख ५० हजार भएको छ । तर यो सङ्क्रामक रोग लाग्ने मानिसहरूको कूल सङ्ख्या ७५ लाखबाट बढेर ८२ लाख पुगेको छ।

सबै नयाँ केस पत्ता नलाग्ने भए पनि डब्लूटीओको अनुमानअनुसार गत वर्ष करिब एक करोड आठ लाख मानिसलाई यो रोग लागेको थियो।

‘हामीसँग यसको रोकथाम, पत्ता लगाउने र उपचार गर्ने साधन हुँदा पनि टीबीले अझै पनि धेरै मानिसको ज्यान लिने र बिरामी बनाउने तथ्य एउटा आक्रोश हो’, डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले एक विज्ञप्तिमा भनेका छन्, ‘डब्लूएचओले सबै देशलाई ती साधनको प्रयोग बढाउन र टिबी अन्त्य गर्न उनीहरूले गरेका ठोस प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्दछ।’

प्रतिवेदनअनुसार सन् २०२२ र २०२३ बीच केसहरूमा भएको वृद्धिले मुख्यतया विश्वव्यापी जनसङ्ख्या वृद्धिलाई प्रतिबिम्बित गर्छ। गत वर्ष टीबीको घटना दर प्रति एक लाख जनसङ्ख्यामा एक सय ३४ नयाँ केस थियो । यो सन् २०२२ को तुलनामा ०‍.२ प्रतिशतले बढी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.