काठमाडौं : नेपालीहरूको दोस्रो महान् चाड तिहार सुरु भइसकेको छ। यहीबेला बढी बालबालिका पटाका पड्काएर रमाइलो गर्छन्। तर,कानुनअनुसार पटाका किनबेच गैरकानुनी हो।
सरकारले यसअघि नै ७७ वटै जिल्ला प्रशासनलाई पटका किनबेच र पटकाउन बन्द गर्न सर्कुलर जारी गरिसकेको छ।
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना नै जारी गर्दै कानूनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्नेरखेलाउने, भुइँचम्पा, पटाका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण गर्ने काम नगर्न/नगराउन अनुरोध गरिसकेको छ।
उक्त कानुन विपरीत कार्य गरेमा कारबाहीकाे भागीदार बन्नुपर्ने छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ।
उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’
सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ। उपदफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
(ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। यहीअनुसार कारबाही हुने काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।