बैतडी : नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ।
पहिलो खेलमा कर्णालीलाई ५ विकेटले, दोस्रोमा गण्डकी प्रदेशलाई ५ विकेटले नै र तेस्रो खेलमा आज सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गर्यो।
सुदूरले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३ ओभर ४ बलमा १०८ रनमै अलआउट भयो। उसका लागि मयन यादवले सर्वाधिक ४७ रन हिर्काए पनि जिताउन सकेनन्।
सुदूरपश्चिमका नरेन साउदले ४ विकेट, कप्तान हेमन्त धामी र सचिन भट्टले २/२ विकेट हात पारे।
यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो।
उसका लागि नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे।
मधेशका अफ्रदिन रैनले ४ विकेट र रन्जित कुमारले ३ विकेट झारे।
जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा यथावत छ। मधेश भने चोथो स्थानमा छ।
कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ। सिङ्गल राउण्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।