दाङ : अहिले तिहारको अवसरमा गाउँदेखि शहरसम्म सयौँको सङ्ख्यामा विभिन्न क्लब सङ्घसंस्थाले देउसी भैलो खेलिरहेका छन्। भैलो खेल्नेको सङ्ख्या बढि भएयता पनि पछिल्लो समय परम्परागत रुपमा खेलिने भने हराउँदै गइरहेको छ, भने धेरै जसो देउसीभैलो भने सङ्कलन भएको रकम रमाइलो गरेर खर्च गर्ने गरेका छन्। तर, पछिल्लो समय हराउँदै गइरहेको देउसी भैलोलाई संरक्षण गर्ने केही संस्थासंस्था पनि अझै लागि रहेका छन्।
परम्परागत बाजाभन्दा पनि साउण्ड सिस्टमको बढि प्रयोग भएको पाइन्छ। जसका कारण कला संस्कृती हराउँदै गइरहेको छ, भने साउण्ड सिस्टमको चर्को आवाजलाई नागरिकहरूलाई पनि असर गर्ने गरेको छ। शान्तिनगर ५ रगैजाका भक्त बहादुर वली नेतृत्वको देउसीभैलो टिमले यसपटक परम्परागत बाजाहरू प्रयोग गरेर खेलेका छन्।
आफूहरूको कला संस्कृति हराउँदै गइरहेको अवस्थामा पुरानै शैलीमा भैली खेलेको र बचत भएको पैसा समाजमा लगाउने उनको भनाइ छ।
उनले भने, ‘तिहारमा हामी नेपालीहरूले परम्परागत रुपमा देउसीभैलो खेलेर मनाउने चलन रहेको छ। तर, पछिल्लो समय साउन्ड स्टिमले गर्दा मादल, बाँसुरी, खैजेरी लगायतका बाजाहरू हराउँदै गएका छन्। त्यसले गर्दा पनि मेरो नेतृत्वमा यसपटक परम्परागत रुपमा हामीले खेल्दै आएको भैली शुरु गरका हौँ।’ यस्तै उनले पछिल्लो समय देउसीभैलो खेल्ने र सङ्कलन भएको पैसा रमाइलोको नाममा खर्च गर्ने हुँदा आफूहरूले गाउँघरमा भएको समस्या समाधान गर्न खर्च गर्नेसमेत बताए।
उनका अनुसार पहिलो घर
घरमा भैली खेल्न जाने पनि घरबेटीहरू निकै खुशी हुने गरेका थिए। तर, अहिले डेकबाट भट्याउने, नाँच्ने सबै गर्दा घरबेटीलाई पनि असर हुने हुन्छ। जसले गर्दा पनि हाम्रो कलासंस्कृति लोप हुँदै गइरहेको उनले बताए। यस्तै शान्तिनगर ६ मा रहेको चिलहरीया आमा स्वास्थ्य समुहले पनि देउसीभैलो खेलेको छ। विगत २ वर्षदेखि गाउँघरमा देउसीभैली खेल्दै आएको समुहकी अध्यक्ष लक्ष्मी बुढाथोकीले बताइन्।
उनले पनि पछिल्लो समय सबै डेकबाट नाच्ने गइरहेको भन्दै त्यसो गर्न नहुने बताइन्। उनले भनिन्,‘देउसीभैलो खेल्दा मादल, चाप, बाँसुरी प्रयोग हुने गर्दथ्यो। अहिले त डेकबाट सबै कुरा हुने भएकाले पनि यि सबै हराउँदै गइरहेको छ। एकातिर विगतमा जसरी खेलिने तरिका पनि हराउँदै गइरहेको छ, भने अर्कोतर्फ सङ्कलन भएको रकम पनि सही ठाउँमा सदुपयोग भएको हुँदैन।’
यस्तै आफूहरूले भैली खेलेर सबै खर्च कटाएर बचत भएको पैसा समुहमा जम्मा गर्ने गरेको र समुहमा कुनै सदस्य गर्भवती भएका बिना ब्याजमा पैसा लगानी गर्ने गरेको समेत बताइन्। यस्तै उनले यस पटक गाउँघरमा कुपोषण भएका बालबालिकाहरूलाई पोषिलो खाना खुवाउनको लागि सहयोग गर्नेसमेत बताइन्।
यस्तै शान्तिनगर ७ का बुराडबरामा पनि सोरठी नाचसहितको देउसीभैलो खेलिएको छ। स्थानीय ८१ वर्षीय बेल बहादुर भण्डारीको नेतृत्वमा सोरठी नाचसहितको देउसीभैलो खेलिएको हो। केही वर्ष बन्द रहेको नाँचलाई यस पटक फेरि आफूले सक्रिय बनाएको उनको भनाइ छ।
आफूले १५ वर्षको उमेरदेखि नै यो नाच सिकेको भन्दै उनले केही वर्ष विभिन्न कारणले सक्रिय बनाउन नसकेको भएयता पनि यसपटक फेरि तिहारमा सक्रिय बनाएको समेत बताए।
उनले भने, ‘हाम्रो त्यो समयमा खेलिने भैली र अहिलेको निकै फरक रहेको छ। हामीले प्रत्येक घर घरमा गएर आशिष दिने र कात्तिके दान लिने गर्दथ्यौँ। अहिले सबै कुरा डेकबाट हुन्छ। हाम्रो कलासंस्कृति हराउँदै गएको छ। अब यसलाई बचाउन युवाहरूले ध्यान दिनु पर्छ। ’ यस्तै उनले अहिलेको प्रविधि प्रयोग नगर्ने होइन्, तर प्रविधि प्रयोग गर्दैमा हाम्रा कला संस्कृति पनि भुल्न नहुनेसमेत बताए।
यस्तै गाउँबाट लोभ हुँदै गइरहेको सोरठी नाँचको गीत तथा नाचहरू सिक्ने क्रममा रहेको शान्तिनगर ७ का खुमानन्द पौडेलले बताए। उनले पनि आफूहरू जस्ता युवाहरूले नै कला संस्कृति जोगाउन ध्यान दिनु पर्ने बताए। उनले भने, ‘नेपाल र नेपालीलाई चिनाउने कलासंस्कृत रितिरिवाजले नै हो। तर, पछिल्लो समय सबै हराउँदै गइरहेको छ। हामी भने आफ्नो ठाउँमा रहेको यो सोरठी नाचको संरक्षण गर्नुपर्छ, भनेर लाग्न थालेको छौँ।’ यस्तै उनले हराउँदै गइरहेको कलासंस्कृति संरक्षणमा राज्यले पनि ध्यान दिनु पर्ने बताए।
उनले आफूहरूले सिकेको कलासंस्कृतिबाट नै जिवन चलाउन सक्ने अवस्था भएमा युवाहरू सबै लाग्नेसमेत बताए। उनले भने,‘ कलासंस्कृति हराउँदै गएकोमा हामी युवाहरुलाई चिन्ता लाग्ने गर्दछ। तर, चिन्ता मानेरमा मात्र हुँदैन्, घरपरिवार चलाउन विदेश नगरे हुँदैन्, सिकेका युवाहरू विदेश पलायन भएपछि अनि कसरी संरक्षण हुन्छ। यदि राज्यले नै यि कलासंस्कृतिबाट स्वदेश मै बस्ने बातावरण मिलाउन सकेमा कहिले लोप हुँदैन।’
यस्तै अग्रजहरूले अहिलेसम्म जुन संस्कृतिलाई बचाएर राख्नु भएको छ, त्यसलाई बचाउन युवाहरूले साथ दिनुपर्ने शान्तिनगर गाउँपालिका ७ का वडाध्यक्ष तारा बहादुर वलीले बताए। पछिल्लो समय कलासंस्कृति हराउँदै गइरहेकोमा सबै चिन्तित भएको भन्दै उनले युवाहरुलाई यसतर्फ आकर्षण गराउनुपर्ने समेत बताए। उनले भने,‘ केही वर्षदेखि गाउँको सोरठी नाच सक्रिय थिएन्, यस पटक तिहारमा सबै मिलेर नै सक्रिय बनाएको छौँ। अब यसलाई जोगाउन हामी सबैले ध्यान दिनु पर्छ। वडाबाट हुने सहयोगमा म के गर्नुपर्छ, गर्न तयार रहेको छु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।