|

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले साविक विजेता रियाल मड्रिडसँग स्पष्ट नौ अंकको दुरी बनाएको छ। गएराति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–१ गोलले पराजित गरेको हो।

गत साता एल क्लासिकोमा रियाल माथि जित हात पारेको बार्साले स्पानियोलविरुद्ध पनि आफ्नो आक्रमक खेललाई निरन्तरता दियो। खेल सुरु हुनु अघि बालुन डो को महिला तर्फको विजेता एइटाना बोनमती , बालुन डो अन्तर्गतकै कोपा ट्रफी जितेका लमिन यामल र अक्टोबर महिनाको मोस्ट भ्यालुएबल प्लेयर बनेका रोबर्ट लेवान्डास्कीले आ–आफ्नो अवार्ड समर्थक माझ सार्वजनिक गरेका थिए।

यस्तै स्पेनमा आएको बाढीबाट ज्यान गुमाएकाहरु प्रति दुवै टिमले श्रद्धाञ्जली व्यक्त गरे। 

खेलको १२ औं मिनेटमानै डानी ओल्मोले गोल गर्दै घरेलु टोली बार्सालाई अग्रता दिलाए। उनका लागि यामलले उत्कृष्ट क्रस उपलब्ध गराए। बार्साका अर्का युवा प्रतिभा मार्क कासाडाले , स्पानियोलको डिफेन्सलाई झुक्याए। उनको सहयोगमा २३ औं मिनेटमा राफिन्हाले टिमका लागि दोस्रो गोल थपेका थिए।

३१ औं मिनेटमा ओल्मोले पुनः गोल गरेपछि बार्सा पहिलो हाफमानै ३–० ले अघि रहेको थियो। ६३ औं मिनेटमा स्पानियोलका हाभी पाउडोले सान्वना गोल फर्काएका थिए।

लिग लिडर बार्सिलोनाको १२ खेलबाट ३३ अंक छ। दोस्रो स्थानमा रहेको रियालको ११ खेलबाट २४ अंक छ। स्पानियोल १२ खेलबाट १० अंक जोड्दै तालिकाको १७ औं स्थानमा छ।

गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले लास पल्मासलाई २–० ले हराउँदा सेभिल्ला रियल सोसिडाडसँग २-० ले नै पराजित भयो। यस्तै एथ्लिट क्लब र रियल बेटिसले १-१ को बराबरी खेले। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.