काठमाडौं : नेपाली फुटबलको स्तर के हो? भन्ने प्रश्नमा फरक फरक उत्तर आउँछ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सेमि प्रोफेसनल भनिरहँदा खेलाडीहरु भने नेपाली फुटबललाई एमेच्योर मान्छन्। वास्तवमा नेपाली फुटबल नियमितता नहुँदा व्यवसायिक नै छैनन्।
घरेलु फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता शहिद स्मारक लिग नभएको ५११ दिन भयो। ए डिभिजन लिग नभएपछि अहिले घरेलु लिगको पिरामिड नै बिग्रिएको छ।
तर फुटबलमा स्थायीत्व कायम गर्न नसक्ने एन्फालाई नै एसियाली फुटबल महासंघ (एएफसी) ले मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्रदान गरेको छ। गोल्ड क्याटेगोरीअन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड एन्फाले प्राप्त गरेको हो।
फिफा र एएफसीको सिद्धान्तहरू अनुरूप आफ्नो विधान र संहिता विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकाले अवार्ड प्राप्त गरेको जनाइएको छ। तर एन्फाले फुटबलमा स्थायीत्व र नियमसंगत चलाउन नसक्दा नेपाली राष्ट्रिय टोली नै पलायन भएको छ। अहिले ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि धेरै खेलाडीहरु परिक्षणका लागि टिममा राखिएका छन्। विगत ५ बर्ष लगातार राष्ट्रिय टिमबाट खेल्दै आएका धेरै खेलाडीहरु अहिले नेपाली टिमका लागि उपलब्ध छैनन्। राष्ट्रिय टोली घोषणा हुँदै गर्दा पछिल्लो पटक विश्वकप छनोट खेल्ने टिममा रहेका फरवार्डद्वय सन्जिव विष्ट र हिसुब थपलिया विदेश लागे।
नेपाली फुटबलको उतारचढावका कारण नेपाली खेलाडीहरु गन्तव्य अष्ट्रेलिया बन्दै गएको छ। अर्को तर्फ नेपालमा रहेका खेलाडीहरु पनि गाउँघरमा हुने साना प्रतियोगितामा रमाउँदैछन्। राष्ट्रिय टोलीका पूर्व डिफेन्डर देवेन्द्र तामाङको कप्तानीमा भरखरै मात्र कागे नकाउट खुल्ला फुटबलको उपाधि जित्यो। ग्रामिण फुटबल र मोफसलमा हुने प्रतियोगिताले खेलाडीहरुमा इन्जुरीको समस्या पनि बढाउँदै लगेको छ। खेलाडीहरु आफै पनि इन्जुरीलाई बेवास्ता गर्दै आएका छन्।
राष्ट्रिय टोलीका मिडफिल्डर उत्सव राई, पूर्व डिफेन्डर देवेन्द्र तामाङ र पूर्व स्ट्राइकर आशिष चापागाईले एकै समयमा आयोजना भएको बेलबारी गोल्डकप र रोलिङ च्यालेन्ज कपमा सहभागिता जनाए। अघिल्लो दिन घरेलु टिम रोलिङबाट खेलेका उनीहरु भोली पल्ट झापा–११ बाट खेल्न बेलबारी पुग्थे। रोलिङ च्यालेन्ज् कपमा घरेलु टिमबाट सेमिफाइनल खेलेका नेपाली राष्ट्रिय टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा सहभागी हुने छैनन्। कार्तिक ७ गते रोलिङबाट खेलेका उनी २ दिन अघि (कार्तिक ५ गते) एन्फाले राष्ट्रिय टोलीका लागि बोलाएका ३६ खेलाडीको सुचीमा थिए। तर कार्तिक १६ गते घोषणा गरेका टोलीमा थिएनन्।
नेपालका अन्तरिम प्रशिक्षक नविन न्यौपानेका अनुसार अनन्त इन्जुरीका कारण नेपाली टिममा उपलब्ध नहुने भएका हुन्। एथ्लेट ट्रेनर एवम नेपाली राष्ट्रिय टिमका पूर्व फिजियो विवेक विक्रान्त अधिकारी खेलाडीहरुले विश्राम अवधिका गम्भिर नहुँदा इन्जुरीको समस्या अधिकतम देखिने बताउँछन्। ‘ अन्तर्राष्ट्रिय मापदण्डलाई हेर्ने हो भने एउटा खेलपछि ४८ देखि ७२ घन्टासम्म विश्राम लिनुपर्ने हुन्छ। तर नेपाली खेलाडीहरुमा त्यस्तो पाइदैन लगातार खेल्ने गरेका छन् जसले गर्दा मांशपेशी च्यातिने, फाट्ने गरेको छ।
कतिपय अवस्थामा खेलाडीहरु ९ महिना भन्दा लामो समयसम्म मैदान बाहिर रहनुपर्ने हुन्छ। लगातारको खेलले उनीहरुको प्रर्दशन घट्दै गएको पाइएको छ।’ अधिकारीले भने ‘घुँडा र एंकलमा समस्या, मांशपेशीहरु असन्तुलित हुने समस्याहरु देखा पर्न सक्छ। १८÷१९ बर्षमा खेलाडीहरु उमेर हुँदा लगातार खेल्न सक्छन्। तर यसले दिर्घकालिन रुपमा लामो समय खेल्न सक्ने अवधि घटाउँछ।’
नेपालमा नियमिति फुटबल नभएपछि मंसिरबाट चैतसम्म मोफसलमा विभिन्न क्षेत्रमा गोल्डकपहरु आयोजना हुने गर्छन्। जहाँ नेपाली राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्यता हुने गर्छ। अधिकतम आयोजकहरुको रोजाईमा विभागीय टोली त्रिभुवन आर्मी, मनाङ मस्र्याङदी, मछिन्द्र, थ्रीस्टार पर्दै आएका छन्। यी टोलीहरु सहभागी गराए दर्शकहरु बढ्ने अपेक्षामा विभिन्न स्थानमा प्रतियोगिता आयोजकहरुले निम्तो दिँदै आएका छन्। तर सहभागीता जनाएको प्रतियोगितामा खेल्ने उहि खेलाडी भएकाले अपेक्षिकृत खेल हुन सक्दैन्। केही बर्ष अघि सिमरा गोल्डकप खेलेर विहानै आइपुगेको त्रिभुवन आर्मी क्लबले क्षेत्रिय रंगशालामा इटहरी गोल्डकप खेल्यो।
नतिजा आर्मीको पक्षमा भए पनि अनिँदो भएको कारण खेल स्तरीय देखिएन। नाम उल्लेख नगर्ने सर्तमा एक जना पूर्व राष्ट्रिय खेलाडीले आफूहरुले लगातार प्रतियोगिता खेल्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण लामो समयसम्म व्यवसायिक करियर अघि बढाउन नसकेको बताए। लगातारको खेलका कारण इन्जुरी देखिएपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न कठिन भएको उनले बताएका थिए।
लगातारको खेलमा सहभागी हुनु खेलाडीको रहर नभएको बाध्यता हो। जावलाखेल र न्यूरोड टिम एनआरटीबाट खेलेका विशाल ग्लान धेरै जसो भारतमा फुटबल खेल्छन्। उनले प्रति खेल १५ हजार भारतीय रुपैयासम्म पाउँछन्।
‘नेपालमा नियमित प्रतियोगिता हुँदैन् भारतमा गान्धी जयन्ती, स्वतन्त्रता दिवस, दिपावली लगायतको अवसरमा नियमित प्रतियोगिता हुन्छ। जहाँ भारतको टिमबाट खेल्ने अधिकत नेपाली राष्ट्रिय टिमका खेलाडीहरु नै हुन्’ उनले भने ‘एक खेलमा ३ हजार देखि माथि पारिश्रमिक पाइन्छ। खेल दौरान घाइते भए प्राथमिक उपचार बाहेक सबै आफ्नै जोखिममा खेल्नुपर्छ। बाँच्नका लागि जोखिम मोल्न बाध्य छौँ।’
गत बर्ष एएफसी च्यालेन्ज कप अन्र्तगत नेपालको ए डिभिजन च्याम्पियनको हैसियतमा मछिन्द्र क्लबले पारो एफसी विरुद्ध दशरथ रंगशालामा खेलेको थियो। खेलका लागि मछिन्द्रले मेसुके ओलोमोलाई अनुबन्ध गरेको थियो। तर मेसुके सिक्किममा प्रति खेल ३५ हजार लिएर स्थानीय फुटबल खेलेका थिए। एसियाली स्तरको फुटबलको अवसर छाडेर मेसुके जोखिम मोलेर स्थानीय फुटबलमा रमाउनुको कारण पारिश्रमिक नै हो।
गत वर्ष नेपालको यु–१९ राष्ट्रिय टिमबाट खेलेका इलामका आयुष तिम्सिना भारतमा टोलकप खेलको दौरान घाइते भएर करिब ९ महिना मैदान बाहिर रहे। रिह्रयावपछि फर्किएर अहिले नेपालको यु–२० टिमका स्थान बनाएका छन्। नेपालमा आयोजना हुने एकाध बाहेक ठुला गोल्डकपमा समेत खेलाडीहरूको बिमा हुँदैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न २८ बुँदे ‘मोफसल फुटबल प्रतियोगिता नियमन नियमावली-२०७६’ जारी गरेको थियो। तर कार्यान्वयन शुन्य नै छ। नियमावलीको २० नम्बर बुँदामा एउटा क्लबले महिनामा ३ वटा मात्र प्रतियोगिता खेल्न पाउने उल्लेख थियो। तर व्यस्त तालिकाका बिच ३ महिनाको अवधिमा संचालन हुने करिब २५ वटा प्रतियोगितामा एउटै क्लबले ५ वटासम्म प्रतियोगिता खेलेका छन्। २१ नम्बर बुँदामा आफू आवद्ध क्लब बाहेक अन्य २ वटा क्लबबाट मात्र खेल्न पाइने उल्लेख थियो। तर खेलाडीहरु इन्जुरीलाई बेवास्ता गर्दै दिनहु जसो गोल्डकपका लागि फरक फरक क्लबमा खेल्न पुग्थे। सुरुवाती ११ मा भए पनि कारवाहीको डरले टिम फोटो समेत खिच्न मान्थेनन्।
पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर प्रतियोगितामा सहभागीता जनाउनुपर्ने बताउँछन् ‘खेलमा सहभागी जनाउने खेलाडीले हो। उनीहरूको स्वास्थ्यलाई नै बेवास्ता गर्ने हो भने खेलमा रोमाञ्चकता कसरी आउँछ ? निरन्तरको प्रतियोगिताले मानसिक रुपमा समेत खेलाडी शिथिल हुन्छ। अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा शून्य।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।