म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारीसाधन आवतजावत रोकिएको जानकारी दिए।
वर्षा नरोकिएको, रात परिसकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे।
बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मंगलवार विहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताए।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बीचबाटोमै रोकिएका छन्।
मुस्ताङतर्फ जाने सवारीसाधनहरू बेनी र म्याग्दीतर्फ आउने सवारीसाधन भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।