|

काठमाडौँ : निर्माणाधीन नेपाली कथानक फिल्म ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ लाई नेदरल्याण्डको ह्युबर्ट बाल्स फण्डमार्फत ६० हजार युरो आर्थिक सहयोग प्राप्त भएको छ।

पोष्ट–प्रोडक्सन अनुदानका लागि फिल्म चयन भएपछि उक्त पुरस्कार रकम सोही शीर्षकमा प्राप्त हुने निर्माता सामीप्यराज तिमल्सेनाले जानकारी दिए। 

“पुरस्कारले फिल्मको प्राविधिक कामका लागि ठूलो सहयोग पुग्नेछ । योसँगै फिल्मले अन्तरराष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने सम्भावना बढेको छ। हामीले गरेको मेहनतको फल विस्तारै प्राप्त गर्न लागेको आभाष भएको छ”, उनले भने। 

तिमल्सेनाले ‘एक मुठ्ठी बादल’ फिल्ममार्फत उक्त फण्डको पोष्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक साहारा शर्मा रहेको जानकारी दिए। 

विवाहको पृष्ठभूमिमा बुनिएको उक्त फिल्मले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गरेको छ। 

युवतीमाथि समाजले राखेका अनेकौँ अपेक्षा र आफूभित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्व फिल्मले उजागर गर्ने निर्देशक शर्माले बताइन्। 

“गृहिणी हुनुका साथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, सङ्घर्षलाई र निःस्वार्थ योगदानलाई फिल्मले कथानकमा समेटेको छ‚’ उनले भनिन्, ‘नारीहरूका दुःख, सुख, त्याग, तपस्या, बलिदान र क्षमतालाई विश्वस्तरमा चिनाउने मेरो सधैँ प्रयत्न रहेको छ। यो पुरस्कारले त्यहीतर्फ चालेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुशी छु।” 

फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.