अब भुक्तान गर्न बाँकी ३ वर्ष जेल बस्नुपर्ने

|
फाइल तस्वीर

पोखरा : सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर्‍याएको छ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो। उनी मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए। 

यसअघि उच्च अदालत पाटनले उनलाई दोषी ठहर्‍याएपछि उनले उच्चको फैसलाविरुद्ध सर्वोच्चमा गरेको निवेदनमा सर्वोच्चले दावी नपुग्ने ठहर गर्दै उच्चकै फैसलालाई नै सदर गरेको हो। 

उच्चले मनाङेलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। फैसलाअनुसार अब मनाङेले ३ वर्ष कारागारमा बस्नुपर्नेछ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी २ वर्ष कारागार बसिसकेका छन्। 

सर्वोच्चको फैसलापछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफूले यसबारे कानूनविद्सँग परामर्श गर्ने प्रतिक्रिया दिए। 

उनले भने‚ “यो अदालतको फैसलाको कुरा हो, कानूनले जे भन्छ, त्यही हुन्छ। कानूनबमोजिम के हुन्छ भन्ने कानूनविद्सँग सल्लाह, परामर्श गर्छु।” 

संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने प्रावधान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.