|

धरान : बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि रोजगारीका लागि विदेशिने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी यहीँ सक्रिय भए। त्यही वेलादेखि नै भुइँकटहर खेतीमा लागेका उनलाई आफूले लिएको निर्णय सही लागेको छ। 

हाल उनले एक विघामा भुइँकटहर लगाएका छन्। यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए। वार्षिक एक लाख खर्च खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ। ‘भुइँकटहरको माग राम्रो छ र बजारमा भनेको  मूल्य पनि पाइन्छ’, उनले भने, ‘गत वर्षभन्दा अझ केही बिरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ।’

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिँदैन। वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ। उनले भुइँकटहर प्रतिगोटा १०० देखि १५० सम्म बिक्री गर्दै आएका छन्। भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ। 

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए। उनका अनुसार बिरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ। उनले एउटा विरुवालाई १० देखि २० सम्ममा बिक्री गर्दै आएका छन्। उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले ७७ हजार रुपैयाँ  अनुदान उपलब्ध गराइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.