|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले मौलिक तथा प्राचीन महत्त्वका चित्रकलाबाट शहरको सुन्दरता बढाउने काम पुनः थालेको छ। महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिएको हो।

यसका लागि २०८० फागुन १७ गते सम्झौता भएको थियो। यसअघि भने वर्षाका कारण भित्तेचित्र लेखन कार्य रोकिएको थियो। महानगरका अनुसार पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्तामा काम सम्पन्न भएका छन्। 

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने काम भइरहेको छ। कोटेश्वरको सरस्वती पार्कको भित्तामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सजिएकी छिन्।

उनी पछिल्लो समय दशरथ रंगशालामा भएको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल-भारतबीचको खेलमा उनले भारतविरुद्ध गरेको एक गोल र गोल सेलिब्रेशनले चर्चामा छिन्। उनकै एक गोलले पेनाल्टी शुटआउटमा पुग्यो र पेनाल्टीमा नेपालले जितेपछि फाइनल खेलमा पुगेको थियो।

साम्बाको तस्वीर भित्तामा सजिएपछि यतिखेर उनीसँग फोटो र सेल्फी खिच्नेको ताँती छ। उनीसँग फोटो र सेल्फी खिचेपछि सामाजिक सञ्जालमा हाल्ने गरेका छन्। 

अब यी ठाउँका भित्तामा कोरिनेछन् चित्र

काठमाडौँ महानगरका अनुसार कोटेश्वरपछि त्रिपुरेश्वर रंगशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर‚ मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्तामा चित्र कोरिनेछन्।

चित्र कोर्नकै लागि माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तामा प्लास्टर गरिएको छ। यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरले अपेक्षा राखेको छ।

महानगरले चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिई अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न आग्रह पनि गरेको छ। 

भित्तामा को-कसका चित्र कोरिँदै छन् ? 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ठाउँ र व्यक्तिअनुसारको भित्ते चित्र बनाइनेछ।

उनले भने, ‘दशरथ रंगशाला क्षेत्रमा भए फुटबल खेलाडी र बलको चित्र कोरिनेछ, जहाँ भित्तेलेखन गरिएका नजिकै कोही वरिष्ठ गायक गायिका छन् भने उसको चित्र कोरिनेछ, स्कुल छेउछाउ परेमा विद्यार्थीहरू पढिरहेको तस्वीर कोरिनेछ। यसरी ठाउँ अनुसारको सन्देश दिने खालको भित्ते चित्र लेखन कार्य गरिनेछ।’

यसरी चित्र कोर्नुसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनका कार्यक्रम गाँसिएको उनको बुझाइ छ। उनले भने, ‘यसरी चित्र कोर्दा जस्तो फुटबल खेलाडीको चित्र कोरियो भने ए यहाँ नजिक रंगशाला रहेछ, पढिरहेको बालबालिकाहरूको तस्वीर कोर्दा नजिकै विद्यालय रहेछ भन्ने सन्देश जान्छ। यसबाट प्रेरणा पनि मिल्नेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.