|

रौतहट  : छठ पर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ। रौतहटसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ। रौतहटको ग्रामीणदेखि सहरी क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम पूरा भएको हो। छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत सर्वसाधारणको घर घरमा गुञ्जिरहेका छन्।

पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ। दीपावली सकिए लगत्तै छठ पर्वको तयारी सुरु हुने गर्दछ। कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रगुनाथ झाले बताए।

यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ। हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ। गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन्।

सूर्य देवतालाई पहिलो दिनको अघ्र्य अर्पण गरिन्छ, जसलाई बज्जिका भाषामा ‘सझिया घाट’ भनिन्छ।

सूर्य देवतालाई खासगरी उक्त दिन अघ्र्य दिइने गरिन्छ, जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसैअनुरूप उदयकालमा दिइने अघ्र्यका लागि समेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ’ दिइन्छ।

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रूपमा अघ्र्य अर्पण गरिन्छ सोही प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा रहेको छ। हुन त सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ।

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.