|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ। सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताए।

यी फरम्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने कप्तान रोहितले विश्वास व्यक्त गरे।

उनले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे। आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ। उनले लिग–२ को तीन वटा श्रृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए।

कप्तान रोहितले ट्वान्टी–२० फरम्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राखे। अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उनले बताए।

रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताए। उनी क्यानडामा खेल्न केही असहज भएको बताउछन्। तर अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उनले उल्लेख गरे।

नेपाली क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले क्यानडाको कन्डिसनमा खेल्ने समस्या नै रहेको बताए। तर उनले अमेरिकामा पनि टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उल्लेख गरे। अमेरिकामा पनि खेल्न राम्रो कन्डिसन नभए पनि एउटा ब्याट्सम्यान भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उनको धाराणा थियो।

उनले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताउनु भयो। घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने बताउनु भयो। घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.