|

काठमाडौँ : डेंगुको संक्रमण बढ्दै गइरहेको चिकित्सकहरूले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आगामी वर्षहरू झनै चुनौतीपूर्ण बन्ने बताए। यो वर्ष काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर‚ चितवन जिल्ला डेंगुबाट बढी प्रभावित छन्।

न्युज एजेन्सी नेपालले डा. शेरबहादुर पुनसँग गरेको कुराकानी। 

आगामी वर्षहरू हाम्रा लागि चुनौतीपूर्ण छन् ।

विगतको तथ्यांकलाई आधार मान्ने हो भने डेंगुको संक्रमण दर वर्षेनि बढ्दो छ। वर्षेनि प्रकोप सँगसँगै यसले संक्रमितको संख्या बढाइरहेको अवस्था छ। यसले मृत्युदर पनि बढाइरहेको छ। सीमित ठाउँमा पहिला देखिने गरेको डेंगु अहिले हरेक ठाउँमा गइरहेको छ। पछिल्लो समय तनहुँमा जुन महामारी भयो, यसले पनि के संकेत गरेको छ भन्दा नेपालको कुनै पनि ठाउँमा एडिस प्रजातिको लामखुट्टेले सहज तरिकाले जीवन चक्र चलाइरहेको ठाउँ रहेछ भने आगामी वर्ष कुनै पनि समयमा त्यहाँ ठूलो महामारी निम्त्याउन सक्छ। कोभिड सकिनेबित्तिकै डेंगु झन् घातक भएर आएको छ। यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्ष हाम्रा लागी चुनौतीका वर्षहरू छन्। 

संवेदनशील मानिसहरू संक्रमणमा परेका छन्, डेंगु नियन्त्रणमा लागौँ ।

डेंगुको संक्रमण जति फैलिँदै गयो, त्यति नै कठिन हुन्छ। त्यस मानेमा संवेदनशील मानिसहरू संक्रमणमा बढी परिरहेका छन्। ज्येष्ठ नागरिक, दीर्घरोगीहरू संवेदनशील समूहमा पर्छन्। संक्रमण जति धेरै बढ्दै गयो, त्यति नै त्यसको अनुपातमा यो घातक देखिएको अवस्था छ। डेंगु आगामी दिनमा घातक महामारीको रूपमा आउने अवस्था देखिन्छ। अहिलेदेखि नै हामीले डेंगु नियन्त्रणमा लाग्नुपर्छ। क्याम्पेनहरू गर्नुपर्छ तर अहिले हामी त्यति चिन्तित भएको देखिँदैन।

डेंगुलाई सर्वसाधारणले गम्भीरताका साथ लिएनन् ।


कतै न कतैबाट प्रचारप्रसार भइरहेको छ तर सर्वसाधारणले गम्भीरताका साथ नलिएको हो कि भन्ने देखिन्छ। कति वेला लिने ? अहिले नलिए कहिले लिने ? यो प्रश्न छ। प्रचार प्रसारको अभियानलाई अझ आक्रामक रूपमा अघि बढाउनुपर्छ। जति गरे पनि भएन भन्ने नभई अहिलेको भन्दा दुई गुणा, तीन गुणा प्रचारप्रसार गर्नुपर्छ। 
आक्रामक प्रचारप्रसार गरौँ ।
 

पछिल्लो समय सर्वसाधारणले डेंगु संक्रमणलाई खासै वास्ता गरेको देखिएन। शून्य मृत्युदरको लक्ष्य हामीले राख्नुपर्छ। संक्रमण नै नहुनका लागि सम्भवतः सर्वसाधारणको तर्फबाट पनि चासो नदिएको अवस्था र सरकारबाट पनि आक्रामक प्रचारप्रसारका लागि ध्यान नदिएको अवस्था छ। यो रोग फैलाउने लामखुट्टेको लार्भालाई कसरी नष्ट गर्ने भन्नेमा सर्वसाधारणले त्यति चासो दिएका छैनन्। यस्ता रोग फैलिनुको एउटा मुख्य कारण छिटो बेवास्ता गर्नु पनि हो। 

​डेंगुबाट विश्व नै प्रभावित हुँदै छ ।

डेंगुबाट नेपाल मात्रै नभई विश्व नै प्रभावित हुनेवाला छ। नेपालले चाह्यो भने रोल मोडलको रूपमा काम गर्नसक्छ कि भन्ने मेरो एउटा सोच थियो। हामीले चाहेर मात्रै हुँदैन, यसमा सर्वसाधारणले नै चनाखो हुनुपर्छ। डेंगुबारे हेलचेक्र्याइँ छ तर तारन्तार बान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक र गिजाबाट रगत बगेको छ। थकित अवस्था छ भने अस्पताल जानुस्, घरमा नबस्नुस्। त्यो डेंगुको चेतावनी हो। 

(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.